हिउँ नपर्दै केरुङबाट ३३ प्रतिशत तेल नेपाल भित्र्याउने

China-petrol

१० कात्तिक, काठमाडौं । नेपालका सरकारी अधिकारीहरुको योजना अनुसार काम हुने हो भने अबको दुई साताभित्र चीनबाट नेपालमा नियमित रुपमा इन्धन आउन थाल्नेछ । चीनबाट तेल ल्याउने प्रक्रियामा प्रधानमन्त्री केपी ओली, एमाओवादी अध्यक्ष प्रचण्ड, एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, आपूर्तिमन्त्री गणेशमान पुन र चीनका लागि नेपाली राजदूत महेश मास्केले निर्णायक भूमिका खेलेका छन् ।

भारतले अघोषित नाकाबन्दी गरेको लामो समयसम्म चीनलाई औपचारिक आग्रह समेत गर्न नसकेको सरकार दसैंमा एकाएक जुर्मुराएको छ । चीनले १० हजार मेटि्रक्टन अर्थात १३ लाख लिटर पेट्रोल अनुदानका रुपमा दिने बताइसकेको छ । थप सम्झौताका लागि नेपाली टोली बेइजिङ पुगिसकेको छ । अहिले इन्धन आयातमा नेपाल पूर्णरुपमा भारतमा निर्भर छ । जसका कारण उसले नाकाबन्दी गर्दा देश ठप्पजस्तै भएको छ । तर, भारतले गरेको नाकाबन्दीलाई अवसरका रुपमा लिँदै चीनतर्फको विकल्प खुला गर्न लागिएको यो प्रक्रियामा संलग्नहरु बताउँछन् । चीनबाट तेल ल्याउने प्रक्रियामा सहभागी नेताहरुका अनुसार अबको दुई सातामा नै चीनबाट तेल आउने सम्भावना छ । अब चिसो मौसम सुरु भएपछि चीनतर्फबाट बाटो हिउँका कारण अवरुद्ध हुन्छ । जसले नेपालतर्फ तेल आउन रोकिने छ । नेपाली अधिकारीहरुले नेपालमा तेल ल्याउन बढीमा एक डेढ महिना मात्र सकिने भएकाले त्यसअघि नै भण्डारणलगायतको बन्दोबस्ती मिलाउन आग्रह समेत गरेको छ ।

Spread the love