भारतको केरलामा निपा भाइरस

भारतको दक्षिणी राज्य केरलामा निपा भाइरस सङ्क्रमण भएर दुई जनाको ज्यान गएको पुष्टि भएको छ। निपा भारइस सङ्क्रमणका कारण केरला राज्यको कोजिकोडे जिल्लाका दुईजना विरामीको मृत्यु भैसकेको छ। एक जनाको मृत्यु अगस्ट ३० तारिखका दिन भएको थियो  एक जना मृतकका दुई जना नातेदारमा पनि निपा भाइरसको सङ्क्रमण देखिएपछि अस्पतालमा उनीहरूको उपचार चलिरहेको छ। सन् २०१८ यता केरलामा यो चौथो निपा भाइरस प्रकोप हो।विश्व स्वास्थ्य सङ्गठनका अनुसार निपा भाइरस सङ्क्रमण जनावर वा पशुपक्षीबाट मानिसमा सर्ने “जुनोटिक बिमारी” हो जुन सुँगुर या चमेरा प्रजातिबाट मानिसमा सर्ने गर्छ। यो प्रदूषित खानेकुरा वा सङ्क्रमित मानिससँगको संसर्गबाट पनि सर्न सक्छ। यो भाइरस सङ्क्रमण भएपछि कसैमा देखिने गरी लक्षणहरू देखा पर्दैनन् तर कसैमा भने सघन श्वास प्रश्वास समस्या देखा पर्छ। गम्भीर अवस्थामा सङ्क्रमण हुँदा ‘फीटल इन्सेफलाइटिस’ हुन्छ जुन मस्तिष्कलाई प्रभावित गर्ने एक गम्भीर स्वास्थ्य अवस्था हो। यो भाइरस सरेका विरामीहरूमा मृत्यु दर उच्च हुन्छ किनभने यो सङ्क्रमणको उपचार गर्न औषधी या खोप उपलब्ध छैन। उपचार गर्ने भनेको लक्षणहरू हेरेर त्यसलाई कम गर्ने उपाय खोज्ने या अन्य हेरचाह गर्ने मात्र हो।

भारतका स्वास्थ्यमन्त्री मनसुख मांडवियाले मङ्गलवार सङ्घीय सरकारले केरला राज्यमा निपा भाइरस प्रकोपको आकलन गर्न र प्रकोप व्यवस्थापन गर्न राज्य सरकारलाई सहयोग पुगोस् भनेर एउटा विज्ञ टोली पठाएको  छ। केरलाकी स्वास्थ्य मन्त्री वीणा जोर्जले ति मृतक दुई विरामीको सम्पर्कमा आएका १६८ जनाको पहिचान गरेर उनीहरूमा भाइरस सङ्क्रमण भएको छ कि भनेर परीक्षण भइरहेको बताइन्। राज्य सरकारले स्थिति अनुगमन गर्न कोजिकोडेमा ‘कन्ट्रोल रुम’ स्थापना गरेको र स्वास्थ्यकर्मीहरूलाई सङ्क्रमण नियन्त्रण ‘प्रोटोकल’ पालना गर्न भनिएको स्वास्थ्य मन्त्रीले बताइन्। केरलाका मुख्य मन्त्री पिनाराई विजयनले भने राज्य सरकारले विरामीको मृत्युको घटनालाई असाध्यै गम्भीर रूपमा लिएको बताए।  उनले मृतकको सम्पर्कमा आएका सबैको भाइरस सङ्क्रमणको अवस्था जाँच्न लागिएको र आत्तिनुपर्ने अवस्था नरहेको बताए।

Spread the love