‘राज्यकोषबाटै जुत्तादेखि तौलियाको बेथिति – माननीयहरु ’

११ भदौ : प्रदेश २ सरकारले आर्थिक पारदर्शिता र सुशासनको चर्को भाषण गरे पनि व्यवहारमा भने कमजोर रहेको पाइएको छ । प्रदेशमा बजेट नीति, तथा कार्यक्रम तर्जुमा तथा कार्यान्यनका क्रममा विभिन्न बेथिति देखिएको छ ।  मन्त्रालयहरुले ऐन, कानून एवं नीति तर्जुमा एवं कार्यान्वयन, कार्यक्रम बजेट तर्जुमा एवं कार्यान्वयन, मन्त्रालयबीच समन्वय, केन्द्रीय लेखा तयार गर्ने, प्रगति प्रतिवेदनको मूल्यांकन गर्ने, मातहतका कार्यालयबाट सञ्चालित कामको अनुगमन गर्ने, वित्तीय प्रतिवेदन जारी गर्ने जिम्मेवारी ऐनमा तोकिएको छ । महालेखा परीक्षकको कार्यालयले जारी गरेको ‘वार्षिक प्रतिवेदन २०७८’ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत जिम्मेवारी बाहिर गएर आर्थिक कारोबार गरेको उल्लेख गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्माण हुने स्थान समेत नखुलाई मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत १ सय ८५ सरसफाई संरचना, आठ वटा जिल्लामा सार्वजनिक ऐतिहासिक पुरातात्विक मठ, मन्दिर मस्जिद, पोखरी र २४ छात्रा शौचालय निर्माणमा एकमुष्ठ ४५ करोड २५ लाख १२ हजार बजेट सिद्धान्त विपरीत बजेट स्वीकृत गरिएको पाइएको छ ।

माननीयज्यूहरुले खरिद गरेको बिल संलग्न गरेर १६ लाख ७१ हजार विविध खर्चबाट भुक्तानी गरेको पाइएको छ । स्वीकृत कार्यक्रम बेगर व्यक्तिगत प्रयोगका सामान सिधै खरिद गरी भुक्तानी दिनुलाई महालेखाले अनियमितताको संज्ञा दिएको छ ।  समितिको बैठकले सचिवालयको कर्मचारीको लागि कार्य सम्पादनको आधारमा शुरु तलब स्केलको ८० प्रतिशतसम्म प्रोत्साहन भत्ता, प्रतिदिन खाजा खर्च ५ सय रुपैयाँ, सार्वजनिक विदाको दिन काम गरेको प्रतिदिन ७ सय र बजेट विशेष भत्ता एक महिनाको दिने निर्णय गरेको छ । प्रोत्साहन भत्ताको सूचक तयार गर्दा १० बजेदेखि ५ बजेसम्म काम गरेको ५० अंक र कार्यालय समय बाहेक अतिरिक्त समय काम गरेको ५० अंकदिई शुरु तलब स्केलको ८० प्रतिशत प्रोत्साहन भत्ता पाउने उल्लेख छ ।

अतिरिक्त समयमा काम गर्दा दोहोरो नपर्ने गरी खर्च लेख्नु पर्नेमा १० देखि ५ बजेसम्म काम गरेकोमा ५० प्रतिशत र कार्यालय समय बाहेक काम गरेको अर्को ५० प्रतिशतले हुने १ करोड ५० लाख ८१ ह्जार प्रोत्साहन भत्ताखर्च लेखिसके पछि कार्यालय समय पछि अतिरिक्त काम गरेको खाजाखाना भत्ता भनी ३८ लाख २४ हजार र सोही अवधिभित्र बजेटको समयम गरेको कामको एक महिनाको तलब ९ लाख ५५ हजार खर्च लेखिएको छ । कार्य सम्पादन सूचकअनुसार प्रोत्साहन भत्ता दिइसकेपछि दोहोरो तेहोरो सुविधा दिन नमिल्ने देखिएकोले थप व्ययभार परेको ४७ लाख ७९ हजार असुल गर्न महालेखाले सचिवालयलाई भनेको छ ।  

घरेलु तथा साना उद्योग कार्यालय धनुषाले कामै नभएको समयको समेत कर्मचारीलाई पारिश्रमिक दिएको पाइएको छ । कार्यालयले प्रदेश २ को ८ जिल्लामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालनका लागि २०७६ पुष २९ गतेदेखि २०७७ असार ३१ गतेसम्मका लागि एक प्रालि र एक युवा केन्द्रसँग सम्झौता गरेको थियो ।  विश्वव्यापी महामारीको कारणले २०७६ चैत २१ सम्म सम्पन्न कार्यक्रमको भुक्तान लिई दुवै संस्थाले कार्यक्रम गर्न नसक्ने उल्लेख गरी कार्यक्रम स्थगित गरेका थिए । तर चैत २१ देखि असार ३१ गतेसम्म कार्यालयले ती संस्थाका ९/९ जना कर्मचारीको पारिश्रमिक १४ लाख ९१ हजार भुक्तानी दिएको प्रतिवेदनमा उल्लेख छ ।

घरेलु तथा साना उद्योगको कार्यालय बाराले एक आपूर्तिकर्तासँग विभिन्न राहत सामग्री १० हजार ६ सय ७० प्याकेट प्रति प्याकेट १ हजार ६ सय १३ रुपैयाँका दरले खरिद गरी १ करोड ७२ लाख ११ हजार भुक्तानी गरेको छ । कार्यालयले पालिकाको माग फारमको आधरमा सम्बन्धित पालिका तथा वडाहरुलाई राहत बुझाएको भएपनि पालिका तथा वडाहरुले १ सय ४७ प्योकट मात्रै वितरण गरी ९ हजार ६ सय २३ प्याकेट वितरण गरेको भर्पाइ पेश गरेका छैनन् । देशिक अस्पताल जनकपुरले क्यान्टिन भवन निर्माणका लागि एउटा कन्स्ट्रक्सनलाई दोस्रो तथा अन्तिम बिलको २१ लाख ७१ हजार भुक्तानी गर्दा काम सम्पन्न गरेको भनी भुक्तानी गरेको पाइएको थियो । तर भवन निरीक्षण गर्दा पार्टेसन र ढोका राख्ने काम नगरेको पाइएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

 महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले विभिन्न बेथितिहरुलाई औंल्याएको छ । प्रतिवेदन अनुसार प्रदेश सांसदहरुले राज्यकोषबाटै जुत्ता, ट्र्याकसुट, तौलिया, गम्छा खरिद गरेको उल्लेख छ भने कर्मचारीलाई दोहोरो सुविधा दिइएको छ ।  प्रदेश २ मा विभिन्न मन्त्रालयले जिम्मेवारी बाहिर गई कार्यक्रम सञ्चालन गरेको पाइएको छ । नीति निर्माण र अनुगमनको जिम्मेवारी पाएका मन्त्रालयले मातहतका निकायबाट सञ्चलन गर्नुपर्ने कार्यक्रम समेत प्रदेश मन्त्रालय आफैंले सञ्चालन गरेको पाइएको हो ।
Spread the love