संसदीय दलमा बहुमत पुर्‍याउने खेल

१७ वैशाख, काठमाडौं : दुई विवादास्पद अध्यादेश प्रकरणबाट जटिल र तनावपूर्ण बनेको सत्तारुढ नेकपाको आन्तरिक विवाद अव संसदीय दलमा बहुमत पुर्‍याउने खेलमा प्रवेश गरेको छ । अध्यक्ष पद नछाडे प्रधानमन्त्रीबाट पनि हटाउने तयारी भएको भन्दै ओली पक्षले संसदीय दलमा बहुमत सांसदको समर्थन जुटाउन संघीय संसदका सदस्यहरुको हस्ताक्षर संकलन सुरु भएको छ ।

सचिवालय बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधवार पनि ओली पक्षीय सांसदहरुको भेला भएको छ । राजधानी बाहिर रहेका सांसदहरुलाई पनि काठमाडौं ल्याइँदैछ । दाहाल–नेपाल समूहले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा मागेपछि प्रधानमन्त्री ओलीले संसदीय दलमा बहुमत जुटाउने निर्णायक कोशिष थालेका हुन् । ओली समूहले सांसदहरुको हस्ताक्षरसमेत संकलन सुरु गरेको छ । प्रधानमन्त्रीले पछिल्ला तीन/चार दिनयता लगातार सांसदहरुसँग भेटेर उनीहरुका कुरा सुनिरहेका छन् । सांसदहरुसँग प्रधानमन्त्रीले कमी कमजोरी हटाउने, अबदेखि पार्टीसँग सल्लाह गरेर चल्ने, तर हटाउन खोजिए सबै परिस्थितिको सामना गर्ने बताएका छन् ।

Spread the love