टीपीएस नविकरण नहुँदा ९ हजार नै नेपाली डिपोर्ट नहुने

टीपीएसको अवधि नथपिदा वास्तविक रुपमा देशनिकालाको सामना गर्ने नेपालीहरु झण्डै १५ सयको हाराहारीमा मात्र रहेका छन् । सन् २०१९ को जुन २४ पछि उनीहरुले देशनिकालाको सामना गर्नेछन् । नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा बस्दै आएका नेपालीहरुलाई अमेरिकी सरकारले दिदै आएको टीपीएस सुविधा सन् २०१९ को जुन २४ मा सकिने भएपछि त्यसलगत्तै झण्डै ९ हजार नेपालीहरु देशनिकाला हुने समाचारहरु आएपनि त्यो सत्य होइन । टीपीएसको अवधि नथपिदैमा टीपीएसप्राप्त सबै नेपालीहरु देशनिकालामा पर्ने होइनन् ।  देशनिकालाको आदेश पाइसकेका उनीहरुबाहेक विभिन्न भिसामा अमेरिकामा आएर कुनै अध्यागमन सुविधाका लागि आवेदन नदिएकाहरुसमेत ठूलो संख्यामा रहेका छन् । यद्यपी उनीहरुले अमेरिकामा अध्यागमन सुविधाका लागि आवेदन दिनसक्ने कैयन विकल्पहरु समेत रहेका छन् ।  हाल अमेरिकामा टीपीएएसमा रहेका नेपालीहरुको संख्या झण्डै ९ हजार रहेपनि ती मध्ये कैयन पुरानै स्टेटसमा फर्कनेछन् भने कैयनका इमिग्रेशन केसहरु पेन्डिङ अवस्थामा रहेका छन् । टीपीएस सुविधा लिएका कैयन विद्यार्थीहरु पनि पुरानो विद्यार्थी भिसामा नै फर्कनेछन् ।   झण्डै १५ सय नेपालीहरु भने देशनिकालाका लागि वास्तविक रुपमा योग्य हुनेछन् ।  उनीहरु यस अगाडि नै अमेरिकाबाट देशनिकालाको आदेश पाइसकेका तर टीपीएसबाट संरक्षितहरु हुन् ।

तीमध्ये कैयन टीपीएस सुविधा लिएर बसे । टीपीएस सकिएपछि उनीहरु आइसको निशानामा हुनेछन् । विगत १८ बर्षको रेकर्ड हेर्दा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको निशानामा रहेका नेपालीहरुको संख्या १५२० रहेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी, एक्ज्युकेटिभ अफिस फर इमिग्र्रेशन रिभ्यु, इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइस र युएससीआईएसबाट प्राप्त तथ्यांकले देखाएको छ । उनीहरुमध्ये अधिकांशले टीपीएस लिएका छन् । ती १५२० जना नेपालीहरु इमिग्रेशन अदालतबाट डिपोर्टको आदेश पाइसकेका तर विभिन्न कारणले अमेरिकाभित्रै बसेकाले टीपीएस सकिएपछि उनीहरु आइसको पहिलो निशानामा पर्नेछन् । उनीहरुमध्ये अधिकांशको ठेगाना इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइससँग भएकाले टीपीएस सकिनासाथ उनीहरुका घरमा कुनैपनि बेला आइसका एजेण्टहरु छापामार्न आउन सक्छन् । उनीहरुले अदालतबाट देशनिकालाको आदेश पाइसकेपछि कुनै अध्यागमन सुविधाका लागि आवेदन नदिई त्यत्तिकै अमेरिकामा बसिरहेको सन्दर्भमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले नियन्त्रणमा लिएको खण्डमा विना कुनै अवरोध डिपोर्ट हुनसक्ने जोखिममा छन् ।

Spread the love