माओवादीसँगै एमालेसहितका दलका मन्त्रीहरूले लिए शपथ, कांग्रेस सत्ताबाट बाहिर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरणमा हेरफेर गर्दै मन्त्रिपरिषद्‌ पुनर्गठन गरेपछि पहिलो चरणमा माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका तीन मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। नेताहरूले आपसी सहमतिमा केही दिनभित्रै मन्त्रिमण्डललाई पूर्णता दिइने जनाएका छन्। गएको वर्ष मङ्सिरमा भएको आम चुनावमा तेस्रो दल बनेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सुरुमा नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए।  राष्ट्रपति चुनावमा कांग्रेससँग गठबन्धन गरेपछि टुटेको एमाले माओवादी सत्ता सहयात्रा पछिल्लो सहमतिसँगै पुनः सुरु भएको हो। पुनर्गठित मन्त्रिमण्डलमा नेकपा एमालेबाट प्रमुख सचेतक रहेका पदम गिरी मन्त्री बनेका छन्। माओवादी केन्द्रबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपाध्यक्ष डीपी अर्याल मन्त्री बनेका छन्। अहिले तीनै जनालाई बिना विभागीय मन्त्री बनाइएको छ। तीनै जना यसअघि पनि मन्त्री बनिसकेका नेताहरू हुन्। एमालेका गिरी यसअघि स्वास्थ्य मन्त्री रहेका थिए भने तामाङ झलनाथ खनाल नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री थिए। अर्याल भने गएको वर्ष प्रचण्डले एमालेसँग समीकरण गर्दा रास्वपाकातर्फबाट श्रम तथा रोजगार मन्त्री बनेका थिए।

Spread the love