कविता : “आमाको लाज बेचेर खानेहरु…”

mother thepowernews

निको लाग्दैन किन होला
आजभोलि तिनका साथ
आमाको लाज बेचेर नै
गरीखानेहरू को माझ…

उठबस गर्न मन लाग्दैन
रक्त पिपासुहरूसंग
दु:खीका आँसुले नै
महल ठड्याउनेहरूको माझ…

मन लाग्दैन सामिप्यता बढाउन
आफ्नो अतृप्त रहर मेट्न
देशको ईज्जत बेचेर
खोक्रो शान देखाउनेहरूको माझ…..

पुग्यो चाहिन्न कुनै चिनारी
साक्षर दुनियाँ बीच रहेर नि
जानेबुझेको जस्तो भएपनि
अक्षर नचिन्नेहरूको माझ…..

सुन्न मन छैन वाहियात भाषण
भो अब झूठा लूच्चा धेरै भए
निमुखाको नाउँमा मागीखाने
दुर्जन मनुवा हरूको माझ…..

हो यसै कारण मलाई
निको लाग्दैन आजभोली
आमाको लाज बेचेर
खानेहरुको माझ…!

सुनिता शर्मा ‘बसुधा’, न्यूयोर्क ।
(उहां एनआरएनए आईसिसी मेम्बर अमेरिका हुनुहुन्छ।

Spread the love