मानव बेचबिखनका अभियुक्तलाई १० वर्ष कैद

hinsa-pidit-mahila
चितवन- मानव बेचबिखनको आरोपमा पक्राउ परी मुद्दा चलाइएका दुई महिलालाई चितवन जिल्ला अदालतको फैसलाले १० वर्ष कैद र जनही ५० हजार जरिबाना तोकेको छ । न्यायाधीश बासुदेव पौडेलको इजलासले यस्तो फैसला गरेको हो ।
  घटनाका पीडितहरुले जनही १५ हजार रुपैयाँ पनि क्षतिपूर्ति पाउने गरी फैसला भएको छ । इटहरीकी २४ वर्षीया टीकामाया राई, सिन्धुपाल्चोककी २० वर्षीय माया तामाङ, सोही ठाउँकी २४ वर्षकी ल्याङल्यामु तामाङ, सिन्धुपाल्चोक जिल्ला गुम्बा गाविसकी २६ वर्षीय डोल्मा लामा, सोही ठाउँकी १८ वर्षीय फूर्साङ लामालाई काठमाडौंबाट नारायणगढ हुँदै महेन्द्रनगरतर्फ जाने क्रममा प्रहरीले उद्धार गरेको थियो । विदेश जान भन्दै हिँडेका पाँच महिलालाई वडा प्रहरी कार्यालय नारायणगढले पुस ५ गते पुल्चोकबाट उद्धार गरेको थियो । आरोपितहरु सिन्धुपाल्चोक जिल्ला फुलिङकी २१ वर्षकी मुना सिलवाल र १९ वर्षकी नमिता भण्डारीलाई महिला बेच्न लगेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । नयाँ दिल्लीबाट श्रीलंका हुँदै अन्य देश लैजाने योजनामा उनीहरुलाई नारायणगढको बाटो भएर भारत लैजान महेन्द्रनगरको गाडीको टिकट लिने क्रममा उनीहरु पक्राउ परेका थिए ।
Spread the love