साझको समयमा बिजुली अफ – ट्रान्सफर्मरले लोड लिन सकेनन्

kalimpong-town-hall-power-Load-shedding-Large

काठमाडौं – भारतीय नाकाबन्दीका कारण खाना पकाउने ग्यासको चरम अभाव भएकाले सर्वसाधारण विद्युतीय चुलो बाल्न बाध्य भएपछि बिजुलीमा भार (लोड) बढेर धमाधम ट्रान्सफर्मर पड्कन र तार जल्न थालेका छन्। प्राधिकरणका कार्यकारीनिर्देशक मुकेशराज काफ्लेले एक सातायता नदीमा जलस्तर घट्न गई विद्युत् उत्पादनमा समेत कमी हुन थालेका बेला सर्वसाधारणले हिटर, इन्डक्सन चुलोजस्ता विद्युतीय उपकरणमा भात पकाउन थालेपछि प्राधिकरणलाई प्रणाली व्यवस्थापन गर्न कठिन परिरहेको बताए। अघिल्लो साता प्राधिकरणका आफ्ना विद्युत्गृहबाट तीन सय ८० मेगावाट विद्युत् उत्पादन भइरहेकोमा बिहीबार तीन सय ४४ मेगावाटमात्र उत्पादन भएको छ।

विशेष गरेर बेलुका ६ देखि ८ बजेसम्म खाना पकाउने समयमा जुनसुकै फिडरमा पनि तार बल्ने र ट्रान्सफर्मर पड्कने गरेको छ । यसले गर्दा नेपाल विद्युत् प्राधिकरणलाई भार व्यवस्थापन गर्न हम्मे परेको छ। प्राधिकरणका विभिन्न वितरण केन्द्र र क्षेत्रीय कार्यालयबाट विद्युतीय लोड बढेका कारण तार र ट्रान्सफर्मर जल्ने गरेको जानकारी आउन थालेको प्राधिकरणका वितरण तथा ग्राहक सेवाका उपकार्यकारीनिर्देशक रामचन्द्र पाण्डेयले बताए। उपत्यकासहित देशका विभिन्न भागमा ट्रान्सफर्मर, एमसीसीसीभी (ट्रान्सफर्मर कन्ट्रोलर), वितरण तार (केबल) बल्ने गरेकाले तत्काल अर्को मर्मत गर्न पनि ट्रान्सफर्मर र पेट्रोलियम अभावले उत्तिकै समस्या भएको पाण्डेले बताए। भक्तपुरका कालीघाट, व्यासी, सूर्यविनायकचोक, खौमा, नागपोखरी, कमलविनायक, सुन्दरबस्ती, सिर्जनानगर, कटुञ्जेलगायत क्षेत्रमा ट्रान्सफर्मरमाथि अत्यधिक लोड परेको अमात्यले बताए। ‘अहिले विद्युत् प्रणालीमा दैवीविपत्ति परेजस्तो भइरहेको छ’, उनले भने, ‘प्रणालीले धेरै दिन यस्तो भार थेग्न सक्दैन।’

देशभर खाना पकाउने समयमा सबैभन्दा बढी बिजुलीको लोड भक्तपुरमा परेको छ। भक्तपुर वितरण केन्द्रका प्रमुख विक्रम अमात्यका अनुसार यो साता भक्तपुरमा पाँचवटा ट्रान्सफर्मर जलिसकेका छन्। सय केभीएको ट्रान्सफर्मरले दुई सय घरमा बिजुली बाल्न पुग्ने ठाउँमा सबैले हिटर बालेका कारण ३० परिवारलाईसमेत विद्युत् पुगेको छैन।

Spread the love