पृथ्वीबाहिर जीवन रहेको हुन सक्ने जस्तो रोचक सङ्केत

अमेरिकी अन्तरिक्ष निकाय नासाको जेम्स वेब स्पेस टेलिस्कोपले सुदूर अन्तरिक्षमा अवस्थित एउटा ग्रहमा ‘जीवनको सम्भावित सङ्केत’ फेला पारेको हुन सक्ने जस्तो देखिएको छ। उक्त शक्तिशाली टेलिस्कोपले त्यहाँ डाइमिथाइल सल्फाइड (डीएमएस) नामक यौगिकको सङ्केत फेला पारेको हुनसक्ने नासाको अनुमान छ। कम्तीमा पनि पृथ्वीमा डीएमएसको अणु जीवबाट मात्र उत्पन्न हुन्छ। पृथ्वीबाट १२० प्रकाशवर्ष टाढा रहेको उक्त ग्रहलाई के२-१८बी (K2-18b) नाम दिइएको छ। अन्वेषकहरूले त्यति टाढा रहेको ग्रहमा जीवन रहेको पुष्टि गर्न उक्त अणु रहेको हुनसक्ने भनी प्राप्त सङ्केत “बलियो प्रमाण” भने नभएको बताएका छन्। त्यसका लागि थप तथ्याङ्क र विवरण आवश्यक हुन्छन्। वैज्ञानिकहरूले उक्त ग्रहको वायुमण्डलमा मीथेन र कार्बन डाइअक्साइड रहेको हुनसक्ने सङ्केत पनि पाएका छन्। ती ग्यासको उपस्थितिले उक्त स्थानमा पानीको महासागर रहेको सङ्केत गर्छन्। यसबारे अनुसन्धानको नेतृत्व गर्ने यूनिभर्सिटी अफ केम्ब्रिजका प्राध्यापक निक्कु मधुसुदनले बीबीसी न्यूजलाई आफ्नो टोली अनुसन्धानको परिणाम देखेर ‘छक्क’ परेको बताए। प्रा मधुसुदनले डीएमएस भेटिनुलाई “मोटामोटी” को सङ्ज्ञा दिँदै उक्त पदार्थ त्यहाँ भएको पुष्टि गर्न थप डेटा चाहिने  छन्। थप परिणाम एक वर्षमा आउने वैज्ञानिकहरूको अपेक्षा छ।

“पुष्टि भयो भने यो निकै ठूलो उपलब्धि हुने छ। खगोलशास्त्रीहरूले अन्तरिक्षमा निकै टाढा रहेको एउटा तारालाई परिक्रमा गर्ने कुनै ग्रहमा डीएमएस भएको सम्भावना यसरी पहिलो पटक औँल्याएका हुन्। तर उनीहरू अहिलेको नतिजालाई निकै सावधानीपूर्वक हेरिरहेका छन्। सन् २०२० मा शुक्र ग्रहको बादलमा ‘फोस्फिन’ नामक यौगिक फेला परेको दाबी एक वर्षमै विवादित बनेको थियो। जीवित प्राणीको शरीरमा पनि उक्त यौगिक बन्न सक्छ।

Spread the love