कोरोनाले १८ पत्रकारको मृत्यु : ९ सयबढी संक्रमित

काठमाडौं : नेपाल पत्रकार महासंघका अनुसार  कोरोना भाइरस (कोभिड-१९) को महामारीले १८ जना पत्रकारको मृत्यु भएको छ।  कोरोनाले मृत्यु हुने पत्रकारको संख्या १८ पुगेको हो। महासंघका महासचिव रोशन पुरीका अनुसार संक्रमित पत्रकारको संख्या भने ९ सय नाघेको छ।    ‘कोरोनाकै कारण हालसम्म १८ जना पत्रकारको निधन भएको छ भने ९ सयभन्दा बढी पत्रकार संक्रमित भएका छन् ।  महासचिव पुरीले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोरोना संक्रमणको चुनौतीपूर्ण अवस्थामा महासंघ सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपील गर्दछ।’

महासंघले नेपाल पत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको निधनप्रति शोक व्यक्त गरेको छ। शनिबार भण्डारीको निधन भएकोप्रति महासंघले शोक विज्ञप्ति सार्वजनिक गर्दै दुःख व्यक्त गरेको हो। ‘नेपाल पत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको ५२ वर्षको उमेरमा भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ ।

वैशाख ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि झापाको बिर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचाररत भण्डारीको स्वास्थ्यमा थप समस्या आएपछि भेन्टिलेटरमा राखी उपचार भइराखेको थियो।  डेढ दशकदेखि विभिन्न पत्रपत्रिकामा स्वतन्त्र पत्रकारिता गर्दै आएका भण्डारीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र अनुभवी पत्रकार गुमाएको महासंघले जनाएको छ।  ‘महासंघले स्वर्गीय पत्रकार भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ’, महासंघको विज्ञप्तिमा भनिएको छ, ‘साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ।’ स्रोत ः annapurnapost.com

Spread the love