पत्रकार दुर्घटना बीमा सुरु, पहिलो दिन नै ५५४ को बीमा

press insurance

११ मंसिर, काठमाडौं । नेपाल सरकार र नेपाल पत्रकार महासंघको सहकार्यमा बिहीवारदेखि पत्रकार दुर्घटना बीमा सुरु भएको छ । पत्रकार दुर्घटना बीमा (व्यवस्थापन) निर्देशिका, २०७० अनुसार श्रमजीवी पत्रकारका लागि गरिएको यो दुर्घटना बीमा अन्तर्गत चोटपटकको कारणबाट ४५ प्रतिशतभन्दा बढी अशक्तता भएकोलाई पाँच लाख रुपैयाँसम्म र दुर्घटनबाट भएको उपचारवापत लाग्ने खर्चको हकमा बिलबमोजिम बढीमा दुई लाख रुपैयाँसम्मको खर्च व्यहोरिने भएको छ । बिमा योजनाअन्तर्गत प्रत्येक बिमित पत्रकारको बीमा शुल्कको ७५ प्रतिशत सरकारी कोषबाट र २५ प्रतिशत नेपाल पत्रकार महासंघमार्फत सम्बन्धित व्यक्तिबाट व्यहोरिएको छ । यसअन्तर्गत प्रति व्यक्ति वाषिर्क प्रिमियम तीन सय ३९ रुपैयाँ मध्ये सरकारी कोषबाट दुई सय ५४ रुपैयाँ ७५ पैसा र महासंघबाट ८४ रुपैयाँ ७५ पैसा व्यहोरिने छ ।

बिमित व्यक्तिको मृत्यु भएमा, स्थायीरूपले पूर्ण वा आंशिकरूपमा अशक्त भएमा, दुर्घटनाको कारण उपचार गराउनुपर्ने भएमा बिमितले लाभ प्राप्त गर्ने निर्देशिकामा उल्लेख छ । पहिलो चरणमा बिहीवार महासंघमा विवरण प्राप्त भई नेपाल सरकार सूचना विभागबाट प्रक्रिया पूरा गरी स्वीकृत गरिएका पाँच सय ५४ जना श्रमजीवी पत्रकारको बीमा गरिएको छ ।

Spread the love