पुरानो व्यापारिक साझेदार गुमाउन चाहँदैनौं : आईओसी प्रमुख

indian oil
 चीनबाट पनि इन्धन ल्याउन समझदारी (एमओयू) भएको भोलिपल्टै भारतीय आयल कर्पोरेसन्स (आईओसी)ले भारत गएका अधिकांश ट्यांकरमा पेट्रोलियम पदार्थ भरिदिएको छ । नेपाल आयल निगमका अनुसार बिहीबार इन्धन ल्याउन भारत गएका १ सय ८ मध्ये ८३ ट्यांकरमा आईओसीले इन्धन भरिदिएको हो । ‘केही दिनअघिको तुलनामा आपूर्ति बढाएको छ,’  ती ट्यांकर सिलगढी, बेतालपुर, बरौनी र गोन्डामा लोड भएका हुन् । एक महिनायता आईओसीले आवश्यकताको १० प्रतिशतमात्रै इन्धन दिँदै आएको थियो ।  भारतीय अनलाइन पत्रिका बिजनेस स्ट्यान्डर्डका अनुसार आईओसी नेपाल जस्तो लामो समयको व्यापारिक साझेदारलाई गुमाउन चाहँदैन । तेल उद्योगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा पत्रकारहरूसँग छुट्ट्रै बोल्दै आईओसीका अध्यक्ष एवं प्रबन्ध निर्देशक बी अशोकले आपूर्ति बढाउने जानकारी समेत दिएको अनलाइनमा उल्लेख छ । ‘चीनसँगको सम्झैतापश्चात् एकाधिकार तोडिएको छ । जसले गर्दा आईओसी केही नरम भएको जस्तो देखिन्छ,’ निगमका एक अधिकारीले भने, ‘त्यसैले लोड बढाएको हुन सक्छ ।’ ती अधिकारीका अनुसार इन्धनको लोड बढाएको भन्नेबारे औपचारिक जानकारी गराएको छैन । उनले भने, ‘तर, विगतको तुलनमा धेरै ट्यांकरले लोड पाएका छन् ।’ निगमका अनुसार सबैभन्दा बढी रक्सौल नाकाबाट इन्धन भित्रिन्छ । ती नाकाबाट ७० प्रतिशत आयात हुन्छ । तर, रक्सौल नाकाबाट महिनायता इन्धन आयात भएको छैन । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा भारतबाट सवा खर्ब रुपैयाँको इन्धन आयात भएको थियो । यहाँ एकाधिकार जमाउँदै आएको आइओसीका लागि नेपाल मुख्य बजार हो । निगमका अनुसार इन्धन खपत प्रत्येक वर्ष १२ देखि १५ प्रतिशतले बढदै गएको छ । इन्धनको माग बर्सेनि बढ्न थालेपछि आईओसीले मागअनुसार पूर्ति गर्न सकिरहेको थिएन ।
Spread the love