हङ्कङमा पहिलो पटक नेपाल ट्रेड फेयर-२०१७ आयोजना गरिने ।

शिरोमणि दवाडी काठमाडौं । हङकङ र नेपालको सम्बन्धको लामो इतिहास पछि हङकङमा पहिलोपटक नेपाली हस्तकला प्रवर्द्धन गर्ने उद्देश्यले “हङ्कङ नेपाल ट्रेड फेयर-२०१७” आयोजना गर्न लागिएको छ।साथै यसै मौकामा नेपाली प्राविधिक अन्वेषक महाबीर पुनको अभियानलाई टेवा पुर्याउन “च्यारिटी डिनर” को पनि आयोजना गरिने तयारी गरिएको आयोजक हङकङ नेपाली व्यापार संघका अध्यक्ष प्रकाश पुनले जानकारी दिनुभएको छ।उहाँका अनुसार नेपाली महाबाणिज्य दूतावास हङकङ,हङकङ नेपाली व्यापार संघ तथा हस्तकला महासंघ नेपालको आयोजना तथा नेपाल एयरलाइन्स,ब्यापार तथा निकासी प्रवर्द्धन केन्द्र,नेपाल र ट्रेड डेभलपमेन्ट काउन्सिल,हङ्कङको सहयोगमा आगामी जुनको २४ र २५ तारीखका दिन “ट्रेड फेयर “र त्यसको लगत्तै भोलिपल्ट जुन २६ तारिखका दिन “च्यारिटी डिनर ” कार्यक्रम हुन लागेको हो।नेपालमा उत्पादन हुने हस्तकलाका सामग्रीहरूलाई प्रदर्शनीमा राखिने र खरिदको अवसर समेत प्रदान गरिने हुँदा यस फेयरले बिश्वकै ब्यवसायिक केन्द्रको रुपमा रहेको हङकङमा नेपाली उत्पादनलाई चिनाउने,अन्तर्राष्ट्रिय जगतबाट नेपाललाई रेमिटेन्सको माध्यमबाट प्राप्त भएको आयसंगै बिश्व बजारमा अत्यन्त राम्रो संभावना बोकेको नेपाली हस्तकलाका उत्पादन निकास गरि त्यसबाट पनि नेपाली अर्थतन्त्रमा थप टेवा पुर्याउने आयोजकले बिश्वास लिएको संयुक्तरूपमा जारी बिज्ञप्तिमा उल्लेख छ। “नेपाली जडिबुटीहरूमा ज्यादै माग भएको यार्शागुम्बा,हस्तकलाका उत्पादनहरूमा ढाकाका कपडा,कार्पेट तथा पस्मिना एवम अन्य थुप्रै उत्पादनहरूलाई हङकङ जस्तो बिश्वका हरेक देशबाट आउने ब्यवसायी र पर्यटक बिच चिनाउन सकेमा नेपाली उत्पादनले पनि राम्रो बजार लिन सक्ने सम्भावनालाई अध्ययन गरी ट्रेड फेयरको आवश्यकता महसुस गरिएको अवगत गराउंछौ।”-बिज्ञप्तिमा भनिएको छ। हङकङको ब्यस्ततालाई बिचार गर्दै शनिबार र आइतबारको बिदा लक्ष्यित गरि प्रदर्शनी गर्न लागिएकोले अधिकतम उपस्तिथि हुने बिश्वास आयोजकले लिएका छन ।हालसम्म आयोजकका बिच भएको पूर्वतयारी छलफलका आधारमा जम्मा १८ वटा स्टलहरू मध्ये १५ वटामा नेपालबाट आउने हस्तकला तथा जडिबुटीका उत्पादन रहने र अन्य ३ वटा स्टलहरूमा हङकङकै नेपाली उत्पादनलाई प्राथमिकता दिइने सहमति भएको छ भने यो ट्रेड फेयर सम्पन्न गर्न अनुमानित २ (दुई )लाख हङकङ डलर खर्च हुन सक्ने लेखाजोखा गरिएको छ। नेपालबाट आउने व्यावसायीहरूको यातायात तथा सामग्री ढुवानीमा लाग्ने खर्च नेपाली हस्तकला महासंघले ब्यहोर्ने र हङकङमा हुने ट्रेड फेयरका लागि नेपालबाट आउने सहभागी ब्यबसायी र अन्य आगन्तुकको हङकङमा हुनुपर्ने आतिथ्यता एवम अन्य ब्यबस्थापकिय कुरा हङ्कङस्थित आयोजकले ब्यबस्थापन मिलाउने सहमति रहेको समेत ब्यवसायी प्रकाश पुनःले जानकारी गराउनुभएको छ।यस कार्यक्रमलाई एउटा अवसर मान्दै आगामी दिनमा यसबाट नेपाली उत्पादनलाई हङकङमा बजार बिस्तार गर्न मद्दत मिलोस र नीति निर्माणका तहमा पनि यसले बिशेष महत्व राखोस भन्ने हेतुले यस ट्रेड फेयरमा प्रमुख अतिथिका लागि सम्बन्धि मन्त्रालयबाट बाणिज्य मन्त्रीज्यू तथा सचिबज्यूको पनि आतिथ्यता रहने गरी आयोजकका तर्फबाट औपचारिक निमन्त्रणा गर्न लागिएको उहाँले जानकारी दिनुभयो। यस बर्षको पहिलो अनुभवका आधारमा भविष्यमा पनि यस किसिमका ट्रेड फेयरको ढोका खुल्ने आयोजकले बिश्वास लिएको छ।यस अवसरमा नेपाली उत्पादनलाई हङकङमा बिक्री गर्न इच्छुक ब्यबसायी र नेपाली उत्पादनकर्ता बिच प्रत्यक्ष सम्झौता र सहमति हुने आशा गरिएको नेपाली हस्तकला महासंघका अध्यक्ष धर्म राज शक्यले जानकारी दिनुभयो। उहाले यस “हङकङ नेपाल ट्रेड फेयर -२०१७”को सफलता संगै आम नेपाली हस्तकला तथा जडिबुटी उत्पादनको पनि सफलता जोडिएको हुँदा हङकङ तथा नेपालका नेपाली ब्यवसायी, संचारकर्मी एवम् आम दर्शकबाट सहयोगको अपेक्षा राखिएको बताउनुभयो। ” यो फेयरले हस्तकलाको व्यापार तथा पर्यटनको बिकासमा पनि टेवा पुग्ने बिश्वास लिएका छौँ ।”-उहाँले बताउनुभयो। महाबीर पुनको अभियानलाई पनि सहयोग जुटाइने ।

यसैबीच सूचना प्रवीधी अभियन्ता महाबीर पुनःको परिकल्पना र अगुवाइमा सुरु भएको “राष्ट्रिय आविस्कार केन्द्र” को सहयोगार्थ जुन २६ तारिखका दिन आयोजना गर्न लागिएको “च्यारिटी डिनर” मा हङकङमा कृयाशील नेपाली संघ संस्था तथा सहयोगी ब्यक्तित्वहरूको व्यापक उपस्थिति जुटाउने तयारी भइरहेको हङकङ स्थितआयोजक हङ्कङ नेपाली व्यापार संघले जानकारी गराएको छ ।”बिश्व परिवेशमा विकास भएको सूचना प्रविधि र त्यसले ल्याएको बिकास र परिवर्तनको अनुभवका आधारमा पुनले सुरु गर्नु भएको ग्रामीण इन्टरनेट प्रविधि र आविष्कार केन्द्रलाई यस कार्यक्रमबाट प्राप्त सहयोगले मूर्त रूप दिनेछ भन्ने हामीले बिश्वास लिएका छौँ ।”संघको बिज्ञप्तिमा भनिएको छ – “पुन जस्ता अन्तर्राष्ट्रिय स्तरबाटै पुरस्कृत कर्मशील र राष्ट्रप्रेमी ब्यक्तित्वको परिकल्पना साकार हुन सके यस्तै रचनात्मक कार्यमा अन्य युवापुस्ताको पनि ध्यानाकर्षण हुनेछ भन्ने हाम्रो ठहर हो।यस कार्यक्रमलाई पुन जस्ता सिर्जनशील तथा प्राविधिक अन्वेषकको सम्मान तथा प्रोत्साहनका रूपमा पनि लिइएको यहाँहरूलाई जानकारी गराउछौं।” समरण रहोस – राष्ट्रिय आविष्कार केन्द्रका परिकल्पनाकार तथा ग्रामिण सूचना प्रविधिका अभियन्ता पुन आर्थिक अभावमा आफ्नो योजना पूरा हुन नसकेको भन्दै अहिले आफूले प्राप्त गरेका पुरस्कार लिलाम बिक्री गरी सहयोग जुटाउने अभियानमा छन् ।

Spread the love