नेपालमा बाढी र पहिरोमा ८८ जनाको मृत्यु – ३० जना अझै बेपत्ता

गृह मन्त्रालयले देशका विभिन्न स्थानमा बाढी र पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ८८ पुगेको जनाएको छ। बेपत्ता भनिएका धेरैजसो पहिरोमा पुरिएका मान्छेहरू छन् । बाढीपहिरोका घटनामा हराइरहेका मानिसहरू जीवितै भेटिने सम्भावना कम भएकाले मृतकको सङ्ख्यामा अझै वृद्धि हुनसक्ने बताईएको छ । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार बाढी र पहिरोमा परेर नेपालभरि कम्तीमा ३० जना हराइरहेका छन्। वर्षाका कारण प्रभावित जिल्लाहरूमा अवरुद्ध भएका राजमार्ग र भित्री सडकहरू सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। वर्षाका कारण अवरूद्ध विद्युत् र सञ्चार सेवा अधिकांश स्थानमा फेरि सञ्चालनमा आएका छन्।

सरकारको तथ्याङ्कअनुसार बाढीपहिरोका कारण बिहीवार अपराह्णसम्म १४ जिल्लामा कम्तीमा ८८ जनाको मृत्यु भइसकेको छ। देशभरि घाइते हुनेको सङ्ख्या २२ जना भएको अधिकारीहरूले जनाएका छन्। सुदूरपश्चिम प्रदेशको बझाङमा मात्रै गत मङ्गलवार बिहान गएको पहिरोमा पुरिएर २३ जना बेपत्ता भएका थिए।   नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले बाढीपहिरोमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार जारी राखेको गृह मन्त्रालयले जनाएको छ।  हुम्लाको तुम्लिङमा अलपत्र परेका केही विदेशी नागरिकलाई पनि हेलिकप्टरबाट उद्धार गरिएको छ।

Spread the love