सुनको बजारलाई बैंकको कोटाले धानेन

काठमाडौं: पुसमा अति सामान्य रहेको सुनको कारोबार माघ महिना लागेपछि भने बढेको छ। नेपालमा अहिले १६ वटा वाणिज्य बैंकहरुले मात्र सुन आयात गरेर बिक्री गर्ने अनुमति पाएका छन्। बैंकबाट पनि व्यवसायीले दैनिक किन्न पाउने सुनको कोटा तोकिएको छ। पहिले ३० केजीसम्म रहेको दैनिक कोटा घटाउँदै अहिले १० केजीमा झारिएको छ।  अन्तर्राष्ट्रिय बजारमा जस्तो लगानीका लागि सुन किन्ने प्रवृत्ति न्यून भएको नेपालमा खासगरी विशेष चाड र बिहेको सिजनले सुनको किनबेच प्रभावित हुने गर्छ। यसकारण पनि पुसमा यसको माग नै ठप्पजस्तै रहेको सुनचाँदी व्यवसायीहरु बताउँछन्। सुनको कारोबार माघ लागेपछि दैनिक २० केजीसम्म बिक्री भइरहेको छ। पुसमा यसको आधाउधी मात्र बजार माग तथा खपत रहेको सुनचाँदी व्यवसायी महासंघको भनाइ छ।

त्यससँगै अमेरिकी अर्थतन्त्रमा सुधार आउने अनुमानमा डलर बलियो हुँदै जाँदा सुनको मूल्य घट्ने आकलन अन्तर्राष्ट्रिय लगानीकर्ताहरुको छ। यसको प्रभावस्वरुप विश्व बजारमा सुनको मूल्य एउटै दिशामा नगएर उतारचढाव भइरहेको छ। नेपालमा पनि यसको असरस्वरुप सुनको बजार थोरै हदसम्म प्रभावित भएको व्यवसायीहरु बताउँछन्। मूल्य घट्ने अपेक्षामा सिजनमै पनि सुनको कारोबार कामचलाउका लागि मात्र भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यको भनाइ छ।

कोटा बढाउन माग

नेपाल राष्ट्र बैंकले गत वर्ष १९ चैतयता दिनको १० केजी मात्र सुन आयात तथा बिक्रीको कोटा वाणिज्य बैंकहरुलाई तोकिदिएको छ। यो कोटा २० केजीसम्म थियो। यसबाट पूर्ति हुनेबाहेक व्यवसायीसँग मौज्दातमा रहेको र रिसाइकल हुने सुनबाट दैनिक २५ देखि ३० किलोसम्मको बजार माग धानिँदै आएको सुनचाँदी व्यवसायी बताउँछन्। व्यवसायीहरुका अनुसार, कोभिड-१९ प्रभाव र लकडाउनअघि नेपालमा दैनिक कम्तिमा २५ देखि ३० किलो रहेको सुनको माग कुनै बेला ५० देखि ६० किलोसम्म पनि पुगेको थियो। तर वैधानिक रूपमा व्यवसायीले ३० किलोभन्दा बढी नपाउँदा तस्करीको सुनले बजार माग धान्दै आएको छ। वैदेशिक रोजगारीबाट फर्किनेहरु पनि थाहै नपाइ तस्करको भरियाका रूपमा प्रयोग हुँदै आएका छन्।

व्यापारीहरुले पनि माग बमोजिम आपूर्ति नभएकाले बाध्य भएर तस्करीको सुन प्रयोग गर्न बाध्य भएको पनि बताउने गरेका छन्। अहिले कोटा पहिलेको भन्दा पनि एक तिहाईमा झारिएकाले सुनको माग कोभिड अघिकै अवस्थामा फर्किए र राष्ट्र बैंकहरुलाई आयात तथा बिक्रीको दैनिक कोटा नबढाए तस्करी झन् मौलाउने आशंका गरिएको छ।   दैनिक १० केजी कोटाको सुनले नपुग्ने भएकाले सुनचाँदी व्यवसायीहरु र तिनका छाता संगठनलेराष्ट्र बैंक र वाणिज्य बैंकसँग आपूर्तिको कोटा बढाउनका लागि माग गरिरहेको नेपा सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसकारण पनि सुनको कारोबारसँगै आयात पनि बढेको हो।  हाल सुन प्रतिकेजी ८० लाखभन्दा माथि पुगेको छ। देशभर गरेर करिब २२ हजारभन्दा बढी व्यवसायीहरु यस पेशामा आबद्ध छन्। तर सीमित सुनचाँदी व्यवसायीहरुको मात्र बैंकबाट सुन खरिदमा पहुँच पुग्ने गरेको छ। पहुँच नहुने बाँकी सबै व्यवसायीहरुलाई सुन दिन नसकेको महासंघले जनाएको छ।

सुनको कारोबार एउटै सिस्टममा नहुँदा विभिन्न समस्या हुने गरेको महासंघको भनाइ छ। यसैले महासंघले बैंकसँग सुनको वितरण व्यवस्था राम्रो बनाउन पनि माग समेत गरेका छन्। बजारको मागअनुसार सुन आयात गरेर सातै प्रदेशमा यसको बिक्री वितरणको व्यवस्था गर्नुपर्ने उनीहरुको भनाइ छ। राष्ट्र बैंकले वितरण संयन्त्र तथा प्रणाली नबनाउँदा माग र आपूर्तिबीच असन्तुलन रहेको व्यवसायीहरु बताउँछन्। बैंकले एउटा प्रणाली नै बनाएर देशभरको कुल बजार माग कति छ।

Spread the love