आज घर-घरमा फूलपाती भित्र्याइँदै

११ असोज, काठमाडौं :  घटस्थापनादेखि नै नवरात्रि आरम्भ हुन्छ । आश्विन शुक्लपक्षको सप्तमी तिथिलाई जनबोलीमा फूलपातीका रुपमा चिनिन्छ ।   बडादशैंका नवरात्रिको सातौं दिन आज देशभर घर-घरमा फूलपाती भित्र्याइँदै छ ।  फूलपातिदेखि विजयादशमीसम्मलाई विशेष रुपमा मनाउने गरिन्छ । देवी कालरात्रिले चण्ड, मुण्ड र रक्तविज नामक राक्षसहरुको वध गरेको दिनका रुपमा महासप्तमी मनाउने गरिन्छ । आजको दिन कालरात्रि देवीको पूजा, आराधना गर्ने गरिन्छ । आजकै दिन नवदूर्गा पूजास्थलमा केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक, जयन्तीलगायत फूलपाती भित्र्याइने भएकाले सोही नाम जनबोलीमा रहेको हो ।काठमाडौंका नेवार समुदायका घर-घरमा विश्वकर्मा तथा विद्याकी देवी महासरस्वतीको पूजा हुन्छ । गोरखा दरवारस्थित कालिका मन्दिरबाट फूलपाती लिएर आएको गुरुजुको पल्टनले त्यसलाई हनुमानढोकास्थित दशैंघरमा भित्र्याउने  नेपाली सेनाले फूलपाती बढाईं गर्छ । उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्रीहरु लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहन्छ ।

Spread the love