बजेटमा चीन र भारतसँग समदूरीको सम्बन्ध

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले चीनसँग रेल, सडक, पूर्वाधार विकासमा चिनियाँ लगानी भित्र्याउने गरी एक महिनाअघि ‘बेल्ट एन्ड रोड’ अवधारणामा हस्ताक्षर गरेको थियो । सरकारले दुई छिमेकी चीन र भारतसँग समदूरीको सम्बन्ध कायम गर्ने उल्लेख गर्दै दुवै छिमेकीको आर्थिक विकासबाट लाभ लिन सक्ने नीति अख्तियार गरिने जनाएको छ । वर्तमान सत्ता गठनबन्धन कायमै रहने हुँदा अब गठन हुने सरकारले परराष्ट्र सम्बन्ध सञ्चालनमा अहिलेकै सरकारले अघि बढाएको नीति लिनेमा विश्वस्त रहेको सरकारी अधिकारीले बताए । मुलुकको आर्थिक विकासका लागि यस्तो नीति बनाउन लागिएको उल्लेख छ । सरकारले विभिन्न मुलुकसँग व्यापार, लगानी, पर्यटन, श्रम, वातावरण र प्रविधि क्षेत्रमा सहयोग अभिवृद्धि गर्न देशगत रणनीति तयार गर्ने भएको छ । अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार घोषणा गरेको आव ०७४/७५ को बजेटमा छिमेक सम्बन्ध महत्वसाथ उल्लेख गरिएको छ । दुवै छिमेकीले गरेको आर्थिक विकासबाट लाभ लिने नीति सरकारले लिएको बजेटमा उल्लेख छ । अन्तर्राष्ट्रिय आर्थिक सहायता राष्ट्रिय आवश्यकता र प्राथमिकताका क्षेत्रमा परिचालन गरिने जनाउँदै मन्त्री महराले संघीयता अनुकूल हुनेगरी विकास सहायता नीति परिमार्जन गरिने  छ । स्थानीय तह र प्रदेशमा अन्तर्राष्ट्रिय आर्थिक सहायता परिचालन गर्ने विधि र प्रक्रिया तय गरी कार्यान्वयन गरिने नीति लिएको छ ।

Spread the love