कुकुरको कब्जामा सडक – रेबिजले लिँदै छ ज्यान

आज विश्व रेबिज दिवस  संसारभरि यस पालि नारा बनाइएको छ  ‘रेबिज: फ्याक्ट्स, नट फियर’। अर्थात्, रेबिज: सत्य हो, डर होइन। यसको अर्थ हो रेबिज डराउने विषय मात्रै होइन, भोग्ने बाध्यता हो। त्यसैले यसमा खेलाँची नगरौं। ‘कुकुरले टोकेपछि हेलचेक्र्याइँ गर्छन्। रेबिजविरुद्धको खोप लगाउँदैनन्’, ‘यदि गइहाल्यो भने पनि क्लिनिकमा पुग्छन्। टिटानसको सुई लगाएर त्यसै पठाइदिन्छन्। पछि रेबिज लागेर प्राण त्याग्छन्।’   ‘कुकुरलाई जिस्क्याउनु हँुदैन। घरकैले टोकेको हो भनेर आफैं निर्णायक नबनौं। तुरुन्तै अस्पताल गएर रेबिजविरुद्धको खोप लगाऔं’,

नेपालमा कुकुरले टोकेर २०७६/७७ मा ५२ हजार ६ सय १० जना रेबिजविरुद्ध खोप लगाउन अस्पताल पुगेका छन्। यो संख्या एक दशककै बढी हो। यीमध्ये कतिको मृत्यु भयो ? यो तथ्यांक भने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग छैन। २०७५/७६ मा ३२ हजार ८ सय ८२ जनालाई टोक्दा १८ को मृत्यु भएको थियो। २०७४/७५ मा टोकिनेको संख्या ३३ हजार २ सय ४ थियो। मृतक ३२ जना थिए। ६ वर्षमा ८७ जनाको निधन भएको महाशाखाको तथ्यांक छ। धेरै व्यक्ति अस्पताल नआउने भएकाले घाइते र मृतकको संख्या अझै बढी हुन सक्ने विज्ञ बताउँछन्।  उपत्यकाका तीन जिल्लाबाट उपचारार्थ दैनिक १ सय ५० जना टेकु अस्पताल पुग्छन्। यो संख्या कहिलेकाहीँ २ सयसम्म पुग्छ। साउनदेखि भदौ २३ गतेसम्म ३ हजार २ सय ४ जना पुगे। अस्पतालका सूचना अधिकारी नवराज गौतम गत आर्थिक वर्ष २० हजार २ सय ४९ जना आएको सुनाउँछन्।

साँझ र बिहान सहरका गल्लीमा चहलपहल कम हुन्छ। त्यो बेला छाडा कुकुरको डर हुन्छ। राति त कब्जा नै जमाउँछन्। पेटीमा झुन्ड बनाएर बसेका हुन्छन्। मान्छेदेखि सहँदैनन्। भुक्न थालिहाल्छन्। बटुवालाई घेराबन्दी गर्छन्। लखेट्छन्। टोकेर घाइते बनाउँछन्।

भाले कुकुर पोथी खोज्दै अर्को ठाउँ पुग्छन्। यही कारण काठमाडौंमा बन्ध्याकरण प्रभावकारी देखिएको छैन। यहाँ २२ हजार भुस्याहा (सामुदायिक) र झन्डै ५० हजार घरपालुवा छन्।    ९९ प्रतिशत रेबिज कुकुरको टोकाइबाटै लाग्ने गरेको विश्व पशु स्वास्थ्य संगठनको अनुसन्धानले देखाएको छ। यो रोगबाट प्रत्येक ९ मिनेटमा संसारमा एक जनाको ज्यान जान्छ। प्रत्येक वर्ष ६० हजारको मृत्यु हुन्छ। १० मृतकमध्ये  ४ बालबालिका छन्।

रेबिज कुकुरलगायत बौलाहा जनावरको टोकाइबाट मानिसमा सर्ने प्राणघातक रोग हो। शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुनका अनुसार सुरुमा रेबिज भाइरस रोक्न सकिन्छ। लक्षण देखिएपछि मृत्यु अनिवार्यजस्तै हुन्छ। कुकुरले टोकेपछि जतिसक्दो चाँडो खोप लगाउनुपर्छ। यो रोग कुकुरबाट कुकुरमै पनिसर्छ। त्यस्ता कुकुरले मान्छे वा कुनै पशुलाई टोक्दा खोप लगाइएन भने मृत्यु हुन्छ।

Spread the love