द्वन्द्वकालीन मुद्दामा दोषी माओवादी – देउवा

Sher-Bahadur-Deuba

२१ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्वकालमा भएका मानवअधिकार उल्लंघनका घटनामा सुरक्षाकर्मीलाई दोषी बनाउन नहुने बताएका छन् । नेपाली सेना, जनपद् प्रहरी र सशस्त्र प्रहरी कुनै एउटा पार्टी विशेषको नभएर राज्यका सुरक्षाकर्मी भएको भन्दै उनले सरकारको निर्णयअनुसार परिचालित सुरक्षाकर्मीलाई मानवअधिकार उल्लंघन गरेको अभियोगमा जेल हाल्नुपर्ने मानवअधिकारकर्मीहरुका अभिव्यक्ति आपत्तिजनक भएको बताए । दश वर्षे द्वन्द्व नेपालको आन्तरिक समस्या भएको भन्दै उनले मेलमिलापको बाटोमा जानुपर्ने बताए ।
नेपाल मानव अधिकार संगठनले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा देउवाले सरकारको निर्णयअनुसार परिचालन भएका सुरक्षाकर्मीलाई द्वन्द्वकालका घटनामा दोषी देखाउन नमिल्ने तर्क गरे । उनले ब्यारेकमा बसिरहेको सेनालाई माओवादीले आक्रमण गरेर बाहिर निस्किन बाध्य बनाएकाले समस्याको दोषि माओवादी नै भएको जिकीर गरे । ‘बाबुरामजीको नेतृत्वमा वार्ता भइरहेको थियो तर वार्ता छोडेर सेनाविरुद्धको आक्रमणमा उत्रिनुभयो,’ देउवाले भने, ‘सेरेमोनियल सेनालाई सक्रिय बनाइदिएको त उहाँले हो ।’ कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले द्वन्द्वकालका सबै मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगको मातहत ल्याइनुपर्ने अन्यथा आयोग गठन गरेको औचित्य पुष्टि नहुने बताए ।

Spread the love