क्रिप्टोकरेन्सीले डुवाएको डरलाक्लो बास्तबिकता

विभिन्न ठगीको अभियोग लागेका “किङ अफ क्रिप्टो” भनेर चिनिने साम ब्याङ्कम्यान-फ्रीडविरुद्ध मुद्दा सुनुवाइ हुन लागेको छ। एक ब्रिटिश लगानीकर्ताले ब्याङ्कम्यान-फ्रीडको कम्पनी डुब्दा आफ्नो सम्पत्ति कसरी गुम्यो र आफूसहित विश्वभरि रहेका पीडितको पैसा कसरी फिर्ता हुन सक्छ भन्नेबारे बताएका छन्। साम ब्याङ्कम्यान-फ्रीडको कम्पनी पूरै नडुब्दासम्म सुनील कावुरीलाई ब्याङ्कम्यान-फ्रीडले परिस्थिति उल्ट्याउन सक्छन् कि भन्ने आशा थियो। ‘किङ अफ क्रिप्टो’ को साम्राज्य कमजोर बन्दै जाँदा अरू मानिस आत्तिएका थिए तर सुनील भने शान्त नै थिए। ब्याङ्कहरूसँगको कारोबार र क्रिप्टोमा लगानी गरेका कारण उनी बजारमा हुने उतारचढाव झेल्न अभ्यस्त भइसकेका थिए।

फटीएक्स कुनै बेला क्रिप्टोकरेन्सी सटही गर्ने विश्वकै दोस्रो ठूलो कम्पनी थियो। तर त्यो टाट पल्टियो। वर्षौँदेखि उनले तनाव लिएर भए पनि सफलतापूर्वक गर्दै आएको व्यापार डुब्यो। उनले २१ लाख डलर गुमाए। “म कम्प्युटरको स्क्रीन रिफ्रेश गर्दै २४ घण्टा बसेँ। एफटीएक्सलाई मेरो पैसा पठाइदिन भन्दै इमेल गर्न खोजेँ। मलाई दिक्क लाग्यो। मलाई लाग्यो – हे भगवान्, सबै सकियो। मैले सबै गुमाएँ,” उनले भने। यूकेको डार्बिशरमा बस्ने कावुरी त्यतिबेला छोराको उच्च शिक्षा र नयाँ घर किन्नका लागि पैसा जोहो गरिरहेका थिए। तर त्यसको झन्डै एक वर्षपछि अहिले उनीसँग कानुनी सङ्घर्षका लागि कुनै बेला आफूसँग जे जति थियो त्यसको केवल कागज मात्रै छ।

एफटीएक्स धराशायी बनेपछि सबैभन्दा ठूलो मारमा परेका व्यक्ति सुनील भएको ठानिएको छ। उनी ब्रिटिश नागरिक हुन्। तर उनीजस्ता पीडितहरू विश्वभरि छन् र उनी आफूजस्ता मानिसलाई पैसा फिर्ता पाउनका लागि लड्न र कानुनी कारबाहीमा आउनका लागि सघाउन आफू “एफटीएक्स क्रेडिटर च्याम्पिअन” अर्थात् अगुवा बनेको बताउँछन्। “टर्कीका एक व्यक्तिको ब्याङ्क खातामा जम्मा ६०० डलर मात्रै बाँकी रह्यो र कोरियामा त आत्तिएका एक जना बिरामी परेपछि अस्पताल भर्ना भए,” उनी भन्छन्।

सुनीलले अमेरिका, क्यानडा, आर्जेन्टिना, दुबई, टर्की, हङ्‌कङ, चीन र सिङ्गापुरका मानिसलाई सहयोग गरिरहेका छन्। धेरै जनाले केही सय डलर मात्र गुमाएका छन् भने केहीले हजारौँ र एक जनाले उनीले जस्तै लाखौँ डलर गुमाएका छन्। अर्को साता हुने सुनुवाइमा सबै पीडितको ध्यान जाने छ।

अमेरिकी अभियोजनकर्ताहरूले साम ब्याङ्कम्यान-फ्रीडलाई ठगी, जालझेल र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित सातवटा अभियोग लगाएका छन्। एफटीएक्स एलामेडा रिसर्च नामक एउटा क्रिप्टो हेज फन्डका संस्थापक ३१ वर्षीय ब्याङ्कम्यान-फ्रीडले आफू निर्दोष रहेको दाबी गरेका छन्। उनी आफूविरुद्ध लागेका मुद्दा खेप्न हिरासतबाट न्यूयोर्कस्थित अदालतमा उपस्थित हुने छन्। उनको कम्पनीका  अन्य कार्यकारीले यसअघि नै दोष स्वीकार गरिसकेका छन्। उनीहरूले कुनै बेला ४० अर्ब डलरको साम्राज्य कसरी डुब्यो भन्ने विषयमा प्रमाण उपलब्ध गराउन ठानिएको छ। क्रिप्टो कारोबार गर्न चाहने सबैका लागि सहटीको सुविधा दिने एफटीएक्स सुरक्षित रहेको भन्दै उक्त कम्पनीको प्रचारप्रसार गरिएको थियो। बिटकोइनजस्ता क्रिप्टो कोइन किन्न पैसा तिर्न खोज्ने र आफ्नो सम्पत्ति सुरक्षित राख्न खोज्ने मानिसका लागि एफटीएक्स एउटा अनौपचारिक ब्याङ्कजस्तो बनेको थियो। एफटीएक्सका ९० लाख ग्राहक विभिन्न १०० देशमा छरिएका थिए। एफटीएक्स डुबेपछि १० लाखभन्दा बढी प्रयोगकर्ताको खल्ती रित्तियो। उनीहरूले आफ्नो पैसा झिक्न पनि पाएनन्।

Spread the love