दशकौँसम्म चीनको जीवन देशमै विकास गरिएको पुँजीवाद विरोधी व्यवस्थाको वरपर घुमिरहेको थियो। वर्षौँसम्म चीन कट्टर समाजवादी थिएन तर कम्युनिस्ट पार्टीले त्यो अवस्था बदल्न खोज्दैछ। प्राविधिक रूपमा ‘कम्युनिस्ट’ देश भएपनि सरकारले केही व्यक्तिलाई एकदमै धनी बन्न दिने प्रणालीले पुरै समाजलाई लाभ दिने र अध्यक्ष माओको सांस्कृतिक क्रान्तिका कारण उत्पन्न अप्ठेरो अवस्थाबाट चाँडो भन्दा चाँडो माथि उठाउने निष्कर्ष निकालेको थियो। केही हदसम्म त्यसले काम गर्यो। एउटा ठूलो मध्यम वर्ग जन्मियो र त्यसको परिणाम स्वरूप लगभग समाजका हरेक वर्गको जीवनस्तर अहिले माथि उठेको छ। अहिलेसम्म सडकमा टाँगिने प्रचार पोस्टरहरूमा त्यो आइसकेको छैन तर त्यसो हुन अब लामो समय लाग्ने छैन। अहिले यो चिनियाँ नेताको कामको आधार स्तम्भ हो। कम्युनिस्ट प्रणाली भएपनि धनी र गरिबबीच ठूलो खाडल छ । अहिलेको नयाँ नारा ‘साझा समृद्धि’ हो।
सन् १९७० को दशकको दिशाहीन चीन त्यहाँबाट माथि उठेर अहिले विश्वमा आर्थिक रूपमा वर्चस्व कायम गर्न अमेरिकालाई चुनौती दिइरहेको छ। उसभित्रै आम्दानीलाई लिएर ठूलो खाडल रहेको छ। उपयुक्त समयमा पदमा पुगेका व्यक्तिका सन्तानमा त्यो देखिन्छ।
सन् १९८० को दशकमा उद्योगहरूमा स्वामित्व कायम गर्न सफल अभिभावकहरूले मनग्गे नाफा कमाए जसले उनीहरूका सन्तानहरूलाई चमक धमक भएका शहरमा महँगा स्पोर्ट्स कार चलाउन र भविष्यमा घर किन्न सक्छौँ कि सक्दैनौँ भनेर अन्योलपूर्ण जीवन बिताइरहेका निर्माण कामदारको छेउबाट अघि बढ्न दिइरहेको छ।