चीनले गर्‍यो सहरव्यापी लकडाउन घोषणा

चीनमा कोरोनाभाइरसका नयाँ सङ्क्रमित पुष्टि हुने सङ्ख्या निरन्तर रूपमा पछिल्ला दिनमा बढ्दै गएको छ।  सबैभन्दा ठूलो सहर सांघाईमा पनि सङ्क्रमितको सङ्ख्या वृद्धि भएसँगै त्यहाँ लकडाउन घोषणा गरिएको छ। दुई वर्षभन्दा अगाडि कोरोनाभाइरसको महामारीयता घोषणा गरिएको यो सबैभन्दा ठूलो लकडाउन हो। नौ दिनको समयावधिमा दुई चरणमा लकडाउन गरिनेछ। सहरको पूर्वी आधा भागमा बस्ने आधा मानिसहरूलाई पाँच दिनसम्म अर्थात् एप्रिल १ सम्म घरभित्रै बस्न भनिएको छ। अत्यावश्यकीय सेवामा कार्यरतलाई मात्रै काम गर्न छुट दिइएको छ र सार्वजनिक यातायातका सेवाहरूमाथि रोक लगाइएको छ।

उद्योग तथा कम्पनीहरूले पनि आफ्नो काम स्थगित गर्नुपर्नेछ अथवा कार्यालयबाहिरैबाट काम गर्नुपर्नेछ। सांघाईको पश्चिमी आधा भागमा शुक्रवारबाट लकडाउन गरिनेछ। चीनको एकदमै महत्त्वपूर्ण व्यापारिक केन्द्रले झण्डै एक महिनादेखि कोरोनाभाइरस सङ्क्रमणको नयाँ लहरको सामना गरिरहेको छ। यद्यपि त्यहाँ देखिएको सङ्क्रमितको सङ्ख्या केही अन्तर्राष्ट्रिय मापदण्डले तोकेभन्दा धेरै होइन। अढाई करोड जनसङ्ख्या रहेको सहरमा अधिकारीहरूले अर्थतन्त्रमा असर पर्न नदिन धेरै कोसिस गरेका थिए।

Spread the love