छठ पर्वको आज मूख्य दिन

चितवन १२ कात्र्तिक ।  छठ पर्वको आज मूख्य दिन छठ पूजा गरिँदैछ । आज साँझ व्रतालुहरुले नजिकैको नदी, तलाउ, पोखरीमा गएर अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिने गर्दछन् । आज साँझ छठी मातालाई गहुँ र चामलको पिठोबाट बनेको विभिन्न परिकार चढाउने गरिन्छ । आज रातभरि नदी, तलाउ तथा पोखरीको डिलमा जाग्राम बसेर भोलि बिहान पुनः उदाउँदो सूर्यलाई ती सबै खाद्य वस्तुले अर्घ दिँदै छठ पर्वको समापन गर्ने गरिन्छ । दिनभर उपवास बसेका ब्रतालुहरुले हिजो साँझ पख स्नान गरेपछि कुलदेवता रहेको कोठामा नयाँ चुल्हो बनाएर प्रसाद तयार पारेका छन् । यसअघि हिजो ब्रतालुहरुले दिनभरि उपवास बसेर राति खीर, पुरी लगायतका वस्तुहरु गृह देवता र सूर्य देवतालाई चढाई अरबा अरबाइन अर्थात बिना नुनको खानेकुराहरु खाएका थिए । Chat parbaछठमा गहँुको पीठोबाट बनाइएको ठेकुवा, पुडी, लड्डु, कसार, पञ्चमेर, पञ्चफल, विभिन्न किसिमका गेडागुडी, जटा नरिवल, कागती, अदुवा, सुथनी, उखु, केरालगायतका सामग्रीहरु प्रसादका रुपमा अर्पण गर्ने चलन रहेको छ । दशैं र तिहार जस्तै तराईवासीका लागि छठ पर्वले विशेष महत्व राखेको छ । केही वर्षयता नेपाली भाषी तथा कतिपय मुश्लिम समुदायका नेपालीले पनि छठ पर्व मनाउन शुरु गरेपछि यस पर्वको आकर्षण झनै बढ्दै गएको छ । सत्य, अहिंसा, आरोग्य र समृद्धिको रुपमा मनाइने चार दिने छठ पर्व मिथिलाञ्चलसहित नेपालका विभिन्न भागमा धामिर्क विधिपूर्वक मनाइने गरिन्छ । छठ पर्वको पहिलो दिन ब्रतालुहरुले नुहाएर खाने विधि पूरा गरी छठ पर्वको शुभारम्भ गर्ने गर्दछन् । राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना  राष्ट्रपति डा रामवरण यादवले छठी माताले संविधान निर्माणमा अग्रसर हुन दलका नेताहरुलाई शक्ति प्रदान गर्ने विश्वास गर्नु भएको छ । छठपर्वको अवसरमा शुभकामना दिँदै राष्ट्रपति यादवले तोकिएको समयमा नयाँ संविधान निर्माण भई देशको सार्वभौमिकता र अक्षुणता कायम रहोस भन्ने कामना रहेको बताउनु भएको छ । त्यस्तै उपराष्ट्रपति परमानन्द झाले पनि छठपर्वको अवसरमा शुभकामना दिँदै तोकिएकै समयमा संविधान जारी गर्नेगरी दलहरुलाई एकजुट हुन यस पर्वले प्रेरणा दिने विश्वास व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री सुशील कोइरालाले छठ पर्वका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नु भएको छ । शुभकामना मन्तव्य व्यक्त गर्दै कोइरालाले छुट्टै मूल्यमान्यता र विश्वाससहितको मौलिक संस्कृति बोकेको यस पर्वले सम्पूर्ण नेपालीको बीचमा बन्धुत्व, सद्भाव र हार्दिकता अभिवृद्धि गरी राष्ट्रिय एकतालाई मजबुत बनाउने विश्वास व्यक्त गर्नु भएको छ । नेपाली जनताले छ दशकभन्दा लामो समयदेखि प्रजातन्त्रको स्थापना, पुनःस्थापना र विकासका लागि गरेका आन्दोलनको उपलब्धिका रूपमा प्राप्त संघीयता, लोकतन्त्र, गणतन्त्र र समावेशितालाई संस्थागत गर्न संविधान निर्माणमा हरेक नेपालीले साथ दिनुपर्ने औँल्याउँदै आपसी सहमति, सहकार्य, एकता र मेलमिलापको माध्यमबाट नै ऐतिहासिक जिम्मेवारी पूरा गर्न सकिने बताउनुभयो ।

Spread the love