दोस्रो बजारमा कम्पनी बढ्दाको लाभ नेप्सेलाई

काठमाडौं : दोस्रो बजारमा सेयर कारोबार हुने कम्पनीको संख्या बढ्दा त्यसको लाभ नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई पुगेको छ। नेप्सेले सूचीकरण तथा नवीकरण शुल्कबापत पछिल्लो ७ वर्षमा करिब ६२ करोड रुपैयाँ उठाएको छ।

नेप्सेमा सूचीकृत कम्पनी २४० वटा नेप्सेमा अहिले २४० वटा कम्पनी सूचीकृत छन्। पराजुलीका अनुसार  ती सबै कम्पनीको सेयर दोस्रो बजारमा कारोबार गर्न मिल्छ। नेप्सेमा सूचीकृत कम्पनीमध्ये १९ वटा वाणिज्य बैंक हुन्। यस्तै उत्पादन तथा प्रशोधन र लगानी क्षेत्रका ७/७, होटल एण्ड टुरिज्म क्षेत्रका ६, अन्य क्षेत्रका ३, जलविद्युत क्षेत्रका ८७, बजार क्षेत्रका २, निर्जीवन बीमा क्षेत्रका १२ तथा जीवन बिमा क्षेत्रका ११ कम्पनी नेप्सेमा सूचीकृत छन्।  यसैगरी १६ वटा विकास बैंक, १५  वटा फाइनान्स र ५५ वटा माइक्रोफाइनान्स कम्पनी सूचीकृत छन्। आर्थिक वर्ष २०७५/०७६ सम्म नेप्सेमा सूचीकृत कम्पनीको संख्या १९६ थियो।

नेप्सेले आर्थिक वर्ष २०७३/०७४ देखि २०७९/८० सम्म सूचीकरण तथा नवीकरण शुल्कबापत ६१ करोड ८९ लाख ९७ हजार रुपैयाँ संकलन गरेको हो। नेप्सेले आर्थिक वर्ष २०७३/०७४ मा सूचीकरण तथा नवीकरण शीर्षकमा ७ करोड ३४ लाख ३५ हजार रुपैयाँ आर्जन गरेको थियो। नेप्सेले उक्त रकम बोनस सेयर, ऋणपत्र, आईपीओ, म्युचुअल फन्ड, हकप्रद सेयर तथा सूचीकृत भएका कम्पनीको नवीकरणबापत आर्जन गरेको हो। यस्तै २०७४/०७५ मा सूचीकरण तथा नवीकरण शुल्कबापत ७ करोड ७५ लाख ३१ हजार रुपैयाँ संकलन गरेको तथ्यांक छ।   आर्थिक वर्ष २०७५/०७६ मा नेप्सेको यो आम्दानी घट्यो। त्यो वर्ष उसले ६ करोड ९२ लाख २७ हजार रुपैयाँ संकलन गरेको थियो। २०७६/०७७ मा नेप्सेले ७ करोड ४४ लाख ५ हजार रुपैयाँ संकलन गरेकामा त्यसयताका वर्ष भने उसको आम्दानी बढेको छ। बजारमा आईपीओ, हकप्रद सेयर  र एफपीओको आपूर्ति बढ्दा त्यसबापत नेप्सेको कमाइ पनि बढ्न पुगेको हो। नेप्सेले सूचीकरण तथा नवीकरण शीर्षकमा आर्थिक वर्ष २०७७/०७८ मा ९ करोड ९७ लाख ८९ हजार, २०७८/०७९ मा ९ करोड ९९ लाख ७९ हजार र २०७९/०८० मा १२ करोड ६४ लाख ३७ हजार रुपैयाँ उठाएको तथ्यांक छ। ‘सेयर बजारमा पछिल्लो केही वर्षयता धेरै कम्पनी थपिएका छन्। त्यसैले सूचीकरण तथा नवीकरण शुल्कबाट हुने नेप्सेको आम्दानी बढेको हो,’ नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले भने, ‘त्यसका साथै भएकै कम्पनीले हकप्रद सेयर, बोनस सेयर, एफपीओ तथा ऋणपत्र निष्कासन गर्नु जस्ता कारणले पनि आम्दानी बढेको देखिन्छ।’

Spread the love