‘अदृश्य दृश्यहरु’ – विज्ञता कार्की

काठमाडौं । बाल साहित्यकार विज्ञता कार्कीको ‘अदृश्य दृश्यहरु’ निबन्ध संग्रह सार्वजनिक भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यही २६ साउनमा प्रज्ञा प्रतिष्ठानमा आयोजित भव्य समारोहबीच पुस्तक सार्वजनिक गर्नुभएको हो । साहित्यिक परिवार नेपालकी संस्थापक अध्यक्षसमेत रहनुभएकी कार्कीको यसअघि चित्रभित्र लुकेका शब्द (२०६९), यात्री सिंह (यात्रा उपन्यास २०७०), विज्ञताज् स्टोरिज् (२०७४) कृति एवं दुई दर्जन बढी पुस्तकमा आवरण चित्र प्रकाशित छन् । एम्बिसन एकेडेमी पुरानो बानेश्वरमा कक्षा ११ मा अध्ययनरत कार्कीले १७ वर्षकै उमेरमा निबन्ध संग्रह सार्वजनिक गर्नुभएको हो । साहित्कार अच्युत प्याकुरेलले छोरी विज्ञताको कृति हेरेपछि अब उनलाई बाल साहित्यकार भन्न नमिल्ने उनी प्रौढ साहित्यकार बनिसकेको धारणा व्यक्त गर्नुभयो । पन्ध्र वर्षकी हुँदा पन्ध्र विधाका पन्ध्र थान पुस्तक सिर्जना गर्ने विज्ञताका बुवाआमालाई धन्यवाद छ,’ प्याकुरेलले भन्नुभयो । रत्नराज्य क्याम्पस प्रदर्शनी मार्गकका सहायक क्याम्पस प्रमुख हरिप्रसाद सिलवालले विज्ञताले कम उमेरमै आफ्नो विज्ञता प्रस्तुत गर्दै बाल कलाकारबाट क्रमशः प्रौढ साहित्यकारको रुपमा आफूलाई स्थापित गर्दै लगेकी बताउनुभयो । समाजमा केही दृश्यहरु समाजले देखेर पनि नदेखे जस्तो गर्ने गरेकाले त्यसैले पुस्तकको नाम नै  ‘अदृश्य दृश्यहरु’ राखिएको विज्ञताले बताउनुभयो । ‘मैले बाल कथा, बालकविता लेखेपनि आजसम्मको सबै अनुभव समेटेर निबन्ध संग्रह ल्याएको छु,’ उहाँले भन्नुभयो, ‘समाजले देखेर पनि नदेखे जस्तो गरेका निम्न वर्गका समस्या र आँशु संग्रहमा समेटिएका छन् ।’

Spread the love