मूर्ति पूजाका विरोधी गौतम बुद्ध

 विनोद मन्जन : निबन्ध:  बुद्धज्यू  :  तपाईंंको २५६० औँ जन्म जयन्तीका अवसरमा नेपालमा अन्तर राष्ट्रिय सम्मेलन सम्पन्न भयो । तपाईंंको जन्मका विषयमा भारतले दावी पेस गरेकाले केही विवाद जस्तो भएको छ । विश्व शान्तिको कुरा गर्नेले यहाँ जन्मेको र उहाँ जन्मेको कुरामा भन्दा तपाईंंको आदर्शलाई पछ्याएर कति राम्रो हुन्थ्यो । एक छाक खाए शरीरलाई पुग्छ भनेर तपाईंंले आफ्नै अनुभवबाट दिइएको शिक्षा खोइ कतिले पालना गर्छन् भन्न सकिन्न । बरु दिनको पाँच चोटि खानेको कमी छैन । तपाईंंको फेरि जन्म होस् भनेर कामना गर्नेहरुको कमी छैन । तपाईंंको फेरि जन्म होस् भनेर कामना गर्नेहरुको कमी छैन । भाषणमा बुद्धका आदर्श पछ्याउनु पर्छ भन्नेको कमी छैन । मलाई त लाग्छ तपाईंंले दिनु भएको शिक्षालाई पालना गरे पुग्छ ।
तपाईंंले जति बेला आफ्नो फरक दृष्टिकोण प्रस्तुत गर्नु भएको थियो त्यति बेला तपाईंंले मूर्ति पूजा अनावश्यक भन्नु भएको थियो । अफशोच् आजका मितिसम्म आइ पुग्दा विश्वभरि सबैभन्दा ठुला र धेरै मूर्ति तपाईंंकै छन् भन्ने गरिन्छ । तपाईंंलाई केन्द्र बनाएर बुद्ध धर्मको विकास भएको छ । फेरि थुप्रै बुद्धको कुरा पनि चल्छ । कतिले चार जना बुद्धको नेपालमा जन्म भएको उल्लेख गर्छन् । जे होस् तपाईंंको चर्चा आज पर्यन्त पनि खुब चलेको छ । कसैले किटान साथ बुद्ध जापानमा जन्मिएका थिए भन्छन् । ऐतिहासिक तथ्य केलाउँदा एउटा बुद्धको जन्म जापानमा पनि भएको रहेछ ।
तपाईंंले त्यति बेलै मूर्ति पूजाको विपक्षमा उभिनुमा विशेष कारण छ । हो तपाईंं मान्छे श्रमबाट टाढा नहुन र सधैँ पूजाको नाममा समय बर्बाद नगरुन् भन्ने हुनु पर्छ भन्ने तपाईंंका योगदानलाई दर्शनका रूपमा स्वीकार गर्ने र धर्मका रूमा स्वीकार गर्नेहरुको कमी छैन । कुन पक्षमा सङ्ख्या कति छ भन्ने भन्दा पनि कुन कुरा वैज्ञानिक हो भन्ने चाहिँ महत्त्वपूर्ण हुन्छ । मूर्ति पूजा गर्नु हुन्न भन्ने कुरा दर्शनकै पाटो हो । जब मूर्ति पूजा गर्नु हुन्न भनिन्छ तब त्यहाँ परम्पराको विरोध छ । परिवर्तनको सङ्केत छ । अब कसै कसैले त बुद्धका हजारौँ उपदेशका अगाडि एउटा कुरालाई समाएर हिँड्नु ठिक होइन पनि भन्छन् । बुद्धको मूल कुरो नै फरक ढङ्गले बुझेपछि त सक्कि गो नि ¤
मेरो विचारमा नेपालमा जन्मिएका सिद्धार्थ गौतम बुद्धले आफैले अनुभव गरेर धेरै कुराको निष्कर्ष निकाल्नु हुन्थ्यो । जीवनमा अनुभव गर्न नसकिने कुराको पछि लाग्नु हुँदैन भनेर नै बुद्धले मूर्ति पूजाको विरोध गरेका हुन् । देख्न पनि नसकिने, महसुस गर्न नसकिने, सशरीर स्पर्श गर्न पनि नसकिने कसैले भेट्न पनि नसकेको, न आकृतिमा एक रूपता, न त मूर्तिमा समानता चित्रकारको कल्पनामा आधारित चित्र, मूर्तिकारको कलामा आधारित मूर्तिका पछाडि लाग्नु विवेकी मानवका लागि सुहाउने कुरै होइन । आजसम्म पूजापाठका बारेमा चलेका विधिहरु छन् ती सबै खर्चालु छन् । सबैभन्दा महत्त्वपूर्ण कुरा त समय खर्च हुन्छ । जसको क्षतिपूर्ति केहीबाट पनि हुँदैन । अन्नका कुरा गरौँ, कपासको कुरा गरौँ, तेल, घिउको सन्दर्भ निकालौँ । फुल, कपडाको चर्चा गरौँ, मठ, मन्दिर, मस्जिद, चैत्य, गुम्बा, चर्च निर्माणमा हुने खर्चको कुरा गरौँ जहाँ पूजा हुन्छ त्यहाँ खर्च हुन्छ ।
अब खर्च त जहाँ पनि हुन्छ भन्ने कुतर्क गर्नेहरुको पनि कमी छैन । जीवनको अति आवश्यकता पूर्तिका लागि हुने खर्च धर्मका नाममा हुने खर्चको तुलनै हुँदैन । त्यसै गरी केही पाउनलाई केही गुमाउनु पर्छ भन्ने तर्क गर्नेहरुको पनि कमी छैन । नदेखिने प्राप्तिका लागि लाग्नेहरुले मानसिक सन्तुष्टिको कुरा गरेको पनि सुनिन्छ । जसले जे भने पनि सिङ्गो मानव जीवनमा मूर्ति पूजाले ठुलो घाटा पारेका छ । फेरि धर्ममा नाफा घाटाको कुरा गर्नु हुन्न भन्ने उपबुज्रुकहरुको पनि कहाँ कमी छ र ? भ्रष्टाचार गरेको केही रकम धर्मका नाममा खर्च गरेर चोखिएको ठान्नेहरुको पनि सङ्ख्या थुप्रै छ । यी यस्तै अनेक कुराहरुको ज्ञान तपाईंंलाई थियो र मूर्ति पूजाको विरोध गर्नु भएको हुनु पर्छ ।
मानसिक रूपमा धर्मले कमजोर बनाउँछ भने भौतिक रूपमा पूजाले अलग राख्छ । मानसिक रूपमा शक्तिशाली हुन विवेकले चल्न सक्नु पर्छ, शारीरिक श्रमका लागि पूजाबाट अलग हुनै पर्छ । बुद्धका अनुयायीहरुले यो कुरा आत्मसात् गर्न नसक्नु ज्यादै ठुलो कमजोरी हो ।
गौतम बुद्धलाई तत्कालीन समयमा परिवर्तनका पक्षमा रहेको र परम्पराका विरुद्ध दार्शनिक रूपमा सबैले स्वीकार गर्न सक्छन् भने धर्मका रूपमा निश्चित समुदायले त्यो पनि भ्रमपूर्वक मात्रै बुद्धलाई चिन्छन् ।
सिङ्गो मानव जीवनलाई अस्तित्व प्रदान गर्नका लागि धर्मले होइन, दर्शनले सहयोग पु¥याउँछ । दर्शनलाई धर्म बनाउने भुल गर्नेहरुले बुद्धको सम्मान होइन, अपमान गरेका छन् भन्ने मेरो ठम्याइ छ । धर्मलाई चाहिँ दर्शनको आँखाले हेर्नु पर्छ । न कि दर्शनको हुर्मत लिएर धर्मका रूपमा ग्रहण गर्नु विडम्बना हो ।
शान्तिको झन्डा फहराउने अनि हात हतियारको निर्माणमा होडबाजी गर्ने प्रवृत्तिले मानिसलाई कहाँ पु¥याउँछ । बुद्धको महिमा गाउने र विश्वलाई शान्तिको सन्देश दिने हो भने हतियारबाट मुक्त राख्न सक्नु पर्छ । अहिंसाको प्रवचन दिएर नथाक्ने अनि मानव मस्तिष्कको निर्माणमै अनेक खालका अझ भनौँ हिंस्रक बनाउने खानेकुरा खाने कुराले बुद्धको सम्मान होइन, अपमान हुन्छ । आफैले हिंसा नगर्नु भन्दैमा बिहान उठेदेखि बेलुका नसुतेसम्म मासु मात्रै खानु भनेको त होइन नि ? सबै प्राणीको हितका लागि अहिंसाको कुरा गरिएको यथार्थलाई भुलेर अर्काले मारेको त हो नि भनेर चौबिसै घन्टा मासुमा मस्ती मान्नेहरुको के कुरा गर्नु र ¤
गौतम बुद्धले त सबै प्राणीलाई समान दृष्टिले हेर्नु भएको र ज्ञान दिनु भएको हो । अहिलेको विश्व प्राणीको रक्षाको कुरा त परै जाओस् सर्वश्रेष्ठ प्राणी भनिएको मानव जीवन कल्पनै गर्न नसकिने प्राप्तिका रूपमा व्याख्या गरिएको मानवकै हत्याका लागि उद्धत छ । कसैले विश्व शान्तिको ठेक्का आफ्नै ठान्छ र हतियार उत्पादन र बिक्री गरेर आर्थिक समृद्धि प्राप्त गर्छ । उसलाई कुनै पनि कानुनले छुँदैन, किनकि हतियार बिक्रीबाट थुप्रो रकमको सानो अंश अनुदान दिइएर आफूलाई सुरक्षित राख्न सफल छन् । राष्ट्रिय, अन्तर राष्ट्रिय कानुन कुनै पनि कानुनले त्यस्तालाई छुँदैन । अनि शान्तिको प्रवचन पनि तिनैले दिन्छन् । न त तिनीहरुलाई बुद्धको शान्ति र अहिंसाका वाक्यले हुन्छन् । न त बुद्धको दर्शनले दच्काउँछ । न त बुद्ध धर्मैले पनि शान्तिका लागि प्रेरित गर्छ ।
विश्वमा ठुलो सङ्ख्या धर्म नमान्नेको छ तिनीहरुलाई दर्शनले आकर्षित गर्छ । त्यो कुनै पनि धर्म नमान्नेको सङ्ख्या दिन प्रतिदिन बढ्दै छ । धर्मको अन्ध विश्वासका आडमा जीवनयापन गर्नेहरुले अद्भुत प्रगति गर्न सक्दैनन् । भ्रमको अवस्था सधैँ टिक्दैन । त्यसैले पनि बुद्धको आयाम फराकिलो बनाउने, विश्वलाई मानव हिंसा बुद्ध धर्म मान्नेले नै हतियार बनाउँछ भने त्यो बुद्धको अपमान हो । अझ त्यस्ता खतरनाक हतियारहरुको प्रयोग गरेर मानवको ज्यान लिनु त कति भयावह कुरा हो हो । शान्ति कायम गर्नु अघि युद्ध अनिवार्य छ भन्ने दर्शन पनि विश्वमा नभएका होइनन् तर ती मानवका पक्षमा छैनन् भन्ने कुरा सबैले बुझ्नु जरुरी छ ।
बुद्ध तपाईंंको नाम लिइएर नथाक्नेहरु थुप्रै छन् । स्वघोषित विभिन्न तहका अनुयायी बनेर क्रियाशील पनि थुप्रै छन् । तपाईंंले छोडेर गएका ज्ञानका कुरामा कम ध्यान दिने र कुनै पनि मानेमा ज्यान बनाउने अनि तपशीलका केही कुरा गरेर मूल चुरो कुरोलाई व्यवहारमा नउतार्नेहरुले बुद्धको नाम मात्रै लिइएर केही हुँदैन । मत्स्य न्यायको नामले चिनिने ठुलाले सानालाई खाने परम्पराको अन्त्य गर्नका लागि र बुद्धले भन्नु भएको विश्व शान्तिका लागि हतियार उत्पादन बन्द गर्नै पर्छ । कसैले दादागिरी देखाउन हतियार बनाइ रहेछन् । कसैले शान्ति कायम गर्ने जिम्मेवारी बहन गरेको भनेर पनि हतियार बनाइ रहेछन् । कसैले व्यापारका लागि भनेर हतियार बनाइ रहेछन् । कसैले धर्म रक्षाका लागि यस्तो कुरा गर्दै छन् । कसैले धर्म रक्षाका लागि यस्तो कुरा गर्दै छन् । कसैले संस्कृतिको हवाला पनि दिइएका छन् । जबसम्म ज्ञान, बुद्धिले आफ्नो हैसियत देखाउने परम्पराको विकास हुन्न तबसम्म अहिंसाको सार्थक प्रयोग हुँदैन । युद्ध नै शान्तिको आधार मान्ने र शक्ति त्यो पनि हतियारबाट प्रयोग गर्ने हो भने बुद्धले सोचेको र देखेको अहिंसा मुक्त विश्वको व्यावहारिक प्राप्ति सम्भव छैन ।
चाहे ज्ञानकै व्यापारका सम्बन्धमा किन नहोस्, व्यापारले नाफा नोक्सानको कुरा गर्छ । धर्ममा त्यसो हुँदैन भन्नेहरुले बुद्धलाई विश्वव्यापी बनाउने होइन, सीमित मात्रै बनाउने छन् ।
बुद्धले दिनु भएको आधारभूत ज्ञान मूर्ति पूजा नगर, हिंसा नगर र शान्ति कायम गर भन्ने कुरालाई व्यवहारमा नउतार्ने होइन, उल्टो गर्नेहरुले कसरी बुद्धलाई सम्मान गर्न सक्छन् ? भन्ने मेरो मत छ । बुद्धज्यू तपाईंं पनि यति बेला पृथ्वीमा हुनु भएको भए तपाईंंका अनुयायीहरुको व्यवहार देखेर दिक्क हुनु हुन्थ्यो होला । अझ धर्मका नाममा अनेक व्याख्या र सम्प्रदायतिरको सङ्कीर्णतातिर म प्रवेशै गर्दिनँ । किनकि तपाईंंले धर्म होइन, मानवलाई दर्शन दिनु भएको हो । दर्शनले सही बाटो देखाउँछ भने धर्मले गलत । तपाईंं (बुद्ध) का दर्शनलाई आत्मसात् गर्ने प्रतिबद्धता सहित कलम बन्द गर्छु ।
तपाईंंकै दर्शनको शिष्य
विनोद मन्जन

Spread the love