आमाको हत्या, बाबु जेलमा- केटाकेटीको बिचल्ली

बेलनपुर (बाँके): असार २६ गते राति कोहलपुर नगरपालिका ४ बेलनपुरका मोहम्मद अस्ताव बेडुवाले आफ्नी जेठी श्रीमती गुल्सन बेडुवाको हत्या गरेपछि अहिले तीन महिने छोरीसहित उनका सातजना केटाकेटीको बिचल्ली भएको छ। सामान्य खेती किसानी गरेर परिवारको गुजारा गरिरहेका वृद्ध सौकतअली बेडुवालाई अब चिन्ता थपिएका छ, ‘ती ६ जना नातिनातिनीलाई कसरी हुर्काउने ?’ बेडुवा भन्छन्, ‘खेति किसानी गर्छु, हस्पिटलमा गार्डको काम पनि गर्दै परिवार पालिरहेको छु। श्रीमतीको हत्या गरी बेडुवाले श्रीमतीको टाउकोसहित प्रहरीचौकीमा आत्मसमर्पण गरेका थिए। सबै छोराछोरीलाई अहिले माइती पक्षले नै हेरिरहेको छ। घटनापछि सौकतको परिवार राम्रोसँग निदाउन पाएको छैन।  गुल्सनले जन्माएका ६ जना बच्चा अहिले मामाघरका हजुरबुबा हजुरआमाको संरक्षणमा छन्। आमाको हत्यापछि तीनजना बच्चाबच्चीको पढाइसमेत छुटिसकेको छ। बाँकी तीनजना भने स्कुल जाने उमेरका भइसकेका छैनन्। सबैभन्दा जेठो छोरा १२ वर्षका छन्। ६ जना छोराछोरीमध्ये सबैजना डेढ–दुई वर्षको फरकमा जन्मिएका हुन्।  १३ वर्ष पहिले गुल्सन र मोहम्मद अस्ताबबीच मागी विवाह भएको थियो। दुई वर्षअघि मोहम्मदले कान्छी श्रीमती भित्र्याए। त्यसपछि जेठी श्रीमतीसँग झगडा सुरु भएको हो। त्यही रिसमा घर नपुग्दै मोहम्मदले श्रीमती गुल्सनको हत्या गरी टाउको बोकेर प्रहरीचौकीमा आफैं पुगेका थिए। अहिले प्रहरीले उनलाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ।

Spread the love