अख्तियारले भन्सारका हाकिमलाई भगायो

काठमाडौं, ११ मंसिरः भारतीय सुन तस्करहरुसँग घुस लिदै अभियुक्त छाडेर करोडौं कमाएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट) भन्सारका हाकिम सुदीपचन्द्र शाहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै मिलेमतोमा भगाइएको छ । अनुसन्धानको क्रममा शाहकै नेतृत्वमा अवैध सुनसहित पक्राउ परेका तस्करहरुलाई छुटाउने काम भएको खुलेपनि उनलाई पनि थुन्नैपर्ने अवस्था आएको थियो । तर चलखेलका कारण अख्तियारले नै उनलाई भगाएको स्रोतको भनाई छ ।
स्रोतका अनुसार सुन तस्करीको सेटिङ मिलाउँदै आएका व्यापारी दीपक मल्होत्राको आग्रहमा अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीेको निर्देशनमा उपसचिव शाहलाई पक्राउ नगरिएको हो । मल्होत्राको कार्कीसँग निकट सम्बन्ध छ । कार्कीका ज्वाई पूर्वडिएसपी सुरेन्द्र सिंह मल्होत्राकै कार्यालयमा काम गर्छन् । उपसचिव शाह पनि मल्होत्राका साथी हुन् । मल्होत्राकै सेटिङमा शाह एयरपोर्ट भन्सारको हाकिम भएका थिए । एयरपोर्ट भन्सारमा सहसचिव हाकिम हुनेमा मल्होत्राको सेटिङअनुसार सहसचिव किशोरजंग र्काीलाई हटाएर उपसचिव शाहलाई कामु प्रमुख बनाइएको थियो । एक लाख लिएपछि पक्राउ परेका सरकारलाई आइतबार भन्सार कार्यालयमा उपस्थित गराउन शुक्रबार कारागार कार्यालयमा पत्राचार भइसकेको थियो । पत्र कारागारमा पुगेपछि सुब्बा हरिजंग कार्की थप पैसा लिन गएका बेला पक्राउ परेका थिए । अनुसन्धानका क्रममा घरबाट बरामद भएको ५० लाख पक्राउ परेका भारतीय व्यक्तिहरुबाट लिइएको कार्कीले बताएका छन् । त्यसरी लिइएकोमध्ये ठुलो हिस्सा भने एयरपोर्ट भन्सारका कामु प्रमुख उपसचिव सुदीपचन्द्र शाहले लिएको बयान कार्कीले दिइसकेका छन् । यस्तो मुद्दामा बिदेशी नागरिकहरुलाई कैद सजाय हुने भएपनि शाह हाकिमभएपछि जरिवानाको मात्र सजाय तोकिएको थियो ।
उपसचिव शाहलाई बचाउन अहिले मल्होत्रा नै लागिपरेका छन् । नायब सुब्बा कार्कीलाई बयान फेर्न लगाएर उनलाई उन्मुक्ति दिने खेल भइरहेको स्रोत बताउँछ । पत्रकार सम्मेलनमा नै नायब सुब्बा कार्कीले उपसचिव शाहलाई पोलेकाले मात्र अख्तियारले शाहलाई निलम्बन गरेको हो । पक्राउ गर्न जाँदै बीचमै टोली फर्कर्नु, उनलाई थुनामा नराख्नु र पछिल्लो समय बयान फेर्ने भएकाले यो केसमा अख्तियारमा ठुलै चलखेल भएको प्रष्ट छ ।
यूनाईटेड पोष्ट साप्ताहिकबाट

Spread the love