सन् २०२२ को अन्त्यसम्मै कोभिड महामारी लम्बिन सक्ने – डब्ल्यूएचओ

सन् २०२२ को अन्त्यसम्मै कोभिड महामारी लम्बिन सक्ने – डब्ल्यूएचओ

“विपन्न मुलुकहरूले आफूलाई चाहिने कोभिड खोपहरू नपाइरहेकाले” कोभिड महामारी सोचेभन्दा एक वर्ष बढी समय रहन सक्ने विश्व स्वास्थ्य सङ्गठनले चेतावनी दिएको छ। अफ्रिकाको पाँच प्रतिशतभन्दा कम जनसङ्ख्याले कोभिड खोप पाएको छ जबकि अरू अधिकांश महादेशमा ४० प्रतिशतले खोप पाइसकेका छन्। खोपको आवश्यकता रहेका देशहरूलाई यूकेले एक करोड मात्राभन्दा बढी खोप उपलब्ध गराएको छ। डब्ल्यूएचओस्थित वरिष्ठ अधिकारी डा. ब्रुस एल्वर्डले त्यसको अर्थ कोभिड सङ्कट “सन् २०२२ को अन्त्यसम्मै मजाले लम्बिने”   बताएका छन्।

परोपकारी संस्थाहरूको एउटा गठबन्धन द पिपुल्स च्यारिटिजले कोभिड खोपसम्बन्धी नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ। उसको तथ्याङ्क अनुसार उत्पादक कम्पनी र सम्पन्न राष्ट्रहरूले प्रतिबद्धता जनाएका कोभिड खोपका सातमध्ये एउटा मात्रा मात्रै अति गरीब देशहरूमा पुग्न सकेको छ।

अधिकांश कोभिड खोप उच्च अथवा मध्यम आय भएका देशहरूले पाएका छन्। विश्वभरि दिइएका खोपमध्ये अफ्रिकाले २.६ प्रतिशत मात्रै पाएको छ।

ब्याजदर घट्ने भएपछि नेप्से बढ्यो

बुधबार नेप्से परिसूचक ६०.५६ अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन २५१०.७३ विन्दुमा बन्द भएको नेप्से, यस दिन ६०.५६ अंक बढेर २५७१.६६ विन्दुमा पुगेको छ। दशैँ लगत्तै बैंकहरुले ब्याजदर बढाएको सूचना सार्वजनिक गरेसँगै नेप्सेमा उच्च गिरावट देखिएको थियो। तर, मंगलबार केन्द्रिय बैंकले ब्याजदर वृद्धिमा नियन्त्रण गर्न निर्देशिका जारी गरेको थियो। त्यस अनुसार बैंकहरुले ब्याजदर संशोधन गर्नु पर्नेछ। जसका कारण बैंकहरुको ब्याजदर घट्ने देखिन्छ। यसैको प्रभाव यस दिन बजारमा परेको जानकारहरु बताउँछन्। कारोबार रकमका आधारमा यस दिन नबिल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ९ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरी र अरुण भ्यालीको ७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

ब्याजदर घट्ने भएपछि त्यसको सकारात्मक प्रभाव बजारमा परेको हो।  कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.८१ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन जलविद्युत उपसमूहको परिसूचक ४.३१ प्रतिशत बढेको छ भने व्यापार, होटल तथा पर्यटन, विकास बैंक र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ। नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। मंगलबार साढे ३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा यस दिन २१७ कम्पनीको ३४ हजार ६४४ पटकको कारोबारमा २ अर्ब ६७ करोड ९० लाख रुपैयाँ बराबरको ६१ लाख १ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बुधबार मैलुङ्ग खोला जलविद्युत कम्पनी, आँखुखोला जलविद्युत कम्पनी र यूनिभर्सल पावर कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन सिईडिबी हाइड्रोपावर, नेशनल हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, मेरो माइक्रोफाइनान्स र अरुण भ्यालीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

राष्ट्र बैंकबाट ऋण लिँदै – राष्ट्र बैंकले ३ महिनामा पठायो ९ खर्ब 

काठमाडौं : अधिकांश बैंक अहिले ऋण दिने अवस्थामा छैनन्। बरु राष्ट्र बैंकबाट सापटी लिएर गर्जो टारिरहेका छन्। एक बैंकले अर्कोलाई महँगोमा पनि सापटी दिन सकिरहेका छैनन्। तरलता (लगानीयोग्य पुँजी) बढाउन हम्मेहम्मे परिरहेको छ। थप स्रोत जोहो गर्न अधिकांशले ब्याजदर १ देखि साढे १ प्रतिशतसम्म बढाएर दोहोरो अंकसम्म पुर्‍याए। त्यसबाट पनि लगानी क्षमता बढेन।

मेगा बैंकका चिफ क्रेडिट अफिसर अमिर श्रेष्ठ केन्द्रीय बैंकले कर्जा–निक्षेप अनुपात (सीडी रेसियो)को सीमा तोक्नुअघि नै सोभन्दा बढी भएकाले घटाउनतर्फ लागेको बताउँछन्। ‘अहिले हाम्रो तरलता टाइट छ। पहिलाकै कर्जा हो। अहिले माग धेरै आएको छ। तर, दिन सकेका छैनौं’, श्रेष्ठ भन्छन्, ‘हामी सीमासम्म झार्नमा केन्द्रित छौं।’ मेगाको कर्जा–निक्षेप अनुपात ९२.१० प्रतिशतसम्म पुगेको छ।

केन्द्रीय बैंकले मौद्रिक नीति र त्यसपछिका सर्कुलरमार्फत बैंक तथा वित्तीय संस्थाको अधिकतम सीमा ९० प्रतिशतसम्म कर्जा–निक्षेप अनुपात (सीडी रेसियो)को व्यवस्था गर्न निर्देशन दिएको थियो। यो भनेको बैंकले १ सय निक्षेप छ भने त्यसबाट ९० रुपैयाँसम्म लगानी गर्न पाउँछन्।

गत आर्थिक वर्ष ८५ प्रतिशतको कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) थियो। त्यसलाई खारेज गर्‍यो। हालको व्यवस्थाभन्दा बढी भए क्रमिक रूपमा घटाई २०७९ असारभित्र त्यसलाई सीमासम्म कायम गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ। उक्त अवधिभित्र सीमा कायम नगरे कारबाहीको भागिदार हुनुपर्नेछ।

राष्ट्र बैंकको असोज १४ गतेसम्मको तथ्यांकअनुसार आठ वाणिज्य बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत माथि छ। समग्रमा भने औसत ८८.६९ प्रतिशत छ। नेपाल इन्भेस्टमेन्टको सबैभन्दा बढी ९५.३५, त्यसपछि नेपाल एसबीआईको ९३.०७, कुमारीको ९२.५५, लक्ष्मीको ९२.२३, बैंक अफ काठमाडौंको ९२.१३, मेगाको ९२.१०, एनएमबीको ९१.८१ र प्राइमको ९०.५६ प्रतिशत छ। नेपाल क्रेडिट एन्ड कमर्स, कृषि विकास, ग्लोबल आईएमई, हिमालयन, सिभिल, सेञ्चुरी, नबिलको ८९ प्रतिशत हाराहारी छ। यी बैंकले पनि अधिकतम सीमा भेट्न लागेकाले दबाब देखिएको छ। यसबाहेकका बैंकको ८९ प्रतिशतभन्दा कम  ८१.६८ प्रतिशतसम्म छ।

बजारमा ५७ अर्ब मात्र तरलता
राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण पोखरेल बजारमा ५७ अर्ब रुपैयाँको अधिक तरलता कायम रहेकोे दाबी गर्छन्।  संशोधित बजेट संसद्बाट पारित नहुँदा असोज पहिलो साता सरकारी ढुकुटी ठप्प भएको थियो। त्यस बेला सरकारी खर्च रोकिएको थियो। ‘सरकारको पैसा अड्किएकाले पनि असर गर्‍यो’, नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल भन्छन्, ‘बजेट स्वीकृत भएपछि खर्च बढेर बैंकिङ प्रणालीमा आएको छ।’  राष्ट्र बैंकले तरलता सहज गर्न चालू आर्थिक वर्षको तीन महिनामा पटक–पटक गरी ९ खर्ब ७ अर्ब ८९ करोड ३२ लाख रुपैयाँ बजारमा पठाएको छ। यो मौद्रिक उपकरण र स्थायी तरलता सुविधा (एसएलएफ)मार्फत हो। उसले १ हप्तेदेखि २ हप्ते अवधिसम्मका उपकरण १८ पटक जारी गर्‍यो। यसबाट बजारमा २ खर्ब ३२ अर्ब ६५ करोड ३२ लाख गएको छ। एसएलएफमार्फत् ४४ पटकमा ६ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ गएको छ। यसमा बैंकले ३ सय ३४ पटकसम्म कारोबार गरेका छन्। यस्तो कारोबार ५ प्रतिशत ब्याजदरमा भएको छ। खर्बौं रुपैयाँ सापटी लिएपछि ऋण दिन केही राहत पुगेको बैंकरहरू बताउँछन्।

दसैंमा रेमिट्यान्स बढ्ने अपेक्षा गरिएको अध्यक्ष दाहाल बताउँछन्। केही बैंकमा तरलता संकट देखिए पनि अहिले अर्थतन्त्र संकटमा नपरेको उनको तर्क छ। बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप संकलन असोज दोस्रो सातासम्म ४७ खर्ब ६० अर्ब र कर्जा ४४ खर्ब २७ अर्ब रुपैयाँ रह्यो। मासिक ५०–६० अर्ब रुपैयाँको कर्जा प्रवाह हुनु स्वाभाविक रहेको विज्ञ अनलराज भट्टराई बताउँछन्। करिब ५० प्रतिशत छोटा अवधिका आवधिक (टीआर, डिमान्डजस्ता ओभरड्राफ्ट) कर्जा जाने गरेको उनको अनुमान छ। नयाँ कर्जा नगए पनि साधारणतः अन्य पुराना कर्जा गइरहन्छन्।

दशैंको टीका – उत्तम साइत १० बजेर २ मिनेटमा

२९ असोज, काठमाडौं : मान्यजनबाट टीका र जमरा लगाइ आज विजयादशमी पर्व मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीका लगाउने उत्तम साइत भनेर १० बजेर २ मिनेटलाई तोकिदिएको छ । बिहान ८ बजेर १९ मिनेटमा देबी विसर्जन गरेपछि जुनसुकै समयमा मान्यजनबाट टीका–जमरा लगाएर आशिर्वाद लिन सकिन्छ

‘साइतमा मिल्छ भने १० बजेर २ मिनेटको साइतमै लगाउने, मिल्दैन भने आफ्नो अनुकूल जुन बेला मिल्छ, त्यहीबेला लगाउन सकिन्छ ।

कतैकतै पूर्णिमासम्म दशैंको टीका लगाउने चलन छ ।  मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा प्रयोग गरिन्छ । घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने परम्परा छ । केही जाति र सम्प्रदाय विशेषले भने आज सेतो अक्षताको टीका लगाएर पनि विजयादशमी पर्व मनाउँछन् । असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा बडादशैं पर्व मनाउने परम्परा छ ।

महानवमी पर्व नवदुर्गा भगवतीको विशेष पूजा आराधना

काठमाडौँ, असोज २८ गते : आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।
नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्छ । पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दशैँ घरमा आज नवदुर्गा मध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिन्छ । तलेजु भवानी मन्दिर आजमात्र खुल्ने

मुगुमा बस दुर्घटना – ३२ मृतक मध्ये २४ जनाको सनाखत

२७ असोज, काठमाडौं :  गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बसमा मृत्यु भएका ३२ जनामध्ये २४ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । मुगुमा बस दुर्घटना  ३२ मृतक मध्ये २४ जनाको सनाखत भएको छ ।  छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो । यो घटनाबाट मुगु शोकमा डुबेको छ । दुर्घटनामा छायाँनाथ रारा नगरपालिका–७ की १९ वर्षीया लग्न सेजुवाल, उनका २ वर्षका छोरा, २१ वर्षीया अमृता शाही राणा, ५ वर्षीय आयुष राणा, २२ वर्षीय महेन्द्र शाही र २० वर्षीया मनदेवी बमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । यस्तै, छायानाथ रारा नगरपालिका १० की १८ वर्षीया पूजा बुढा, वडा नम्बर ८ की ३३ वर्षीया प्यारी विक (कामी), ३५ वर्षीय दानबहादुर रावल र २२ वर्षीय सन्तोष बिकालुको मृत्यु भएको छ । वडा नम्बर १० कै २० वर्षीया सरिता खड्का, १८ वर्षीय अमर साउद र २२ वर्षीय सुनबहादुर विकको पनि मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाएका अन्यको भने सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

दशैं अघिको अन्तिम नेप्से २३ अंक घट्यो

दशैं अघिको अन्तिम कारोबार दिन नेप्से परिसूचक २३.१९ अंक घटेर २६३९.३७ विन्दुमा झरेको छ।  नेप्सेले सोही गतिलाई निरन्तरता दिएको हो। यस दिन सेन्सेटिभ इण्डेक्स ५.५६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६२ अंक घटेको छ। यस दिन २१९ कम्पनीको ४४ हजार ४६२ पटकको कारोबारमा ३ अर्ब ६३ करोड ९४ लाख ६८ हजार रुपैयाँ बराबरको ९३ लाख १४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।  साताको अन्तिम दुई कारोबार दिनमा १०० अंकभन्दा बढी बढेको बजार आइतबारदेखि प्रोफिट बुकिङ्गका कारण नेप्से घट्न पुगेको थियो। दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.३८ प्रतिशत र लगानी उपसमूहको परिसूचक १.०७ प्रतिशत बढेको छ। घटेको ११ उपसमूहमध्ये यस दिन व्यापार र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ। त्यसैगरी, विकास बैंक, जलविद्युत, वित्त र लघुवित्तको १.२६ प्रतिशत घटेको छ।

दिन नेप्से घटेपनि ग्लोबल आइएमई समुन्नत स्किम १ को इकाईमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। योजनाले १०० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु सोतर्फ आकर्षित भएका हुन्। त्यसैगरी, यस दिन सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य ७.८८ प्रतिशत बढेको छ। यस दिन महालक्ष्मी विकास बैंक र रैराङ पावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी घटेको छ। कारोबार रकमका आधारमा यस दिन नबिल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन १७ करोड १३ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।  दिन हिमालयन डिष्टिलरीको करिब १७ करोडको शेयर खरिदबिक्री भएको छ।

 

शान्ता अधिकारी सुवेदीको नयाँ भजन सार्वजनिक

भक्तपुर लोकन्थली निवासी शान्ता अधिकारी सुवेदीको नयाँ भजन सार्वजनिक भएको छ । गायन विद्यामा निकै सक्रिय शान्ता विषेश गरि भजन गायन विद्यामा सक्रिय छिन् । हालै उनले सार्वजनिक गरेको पाथिभारा माता बोलको भजन (https://bit.ly/3iIt0LY) पाथिभरा माताको महिमाको विषयमा केन्द्रित छ ।नेपालको पूर्वी भाग तापलेजुङ् अवस्थित पाथिभरा माताको दर्शन गर्नाले आफुले चिताएको मनोकामना पुरा हुँने धार्मिक विश्वास छ । यसैबीच भजन गायिका शान्ता पनि तापलेजुङ्  अवस्थित पाथिभरा माताको दर्शन गरेपछि उक्त ठाउँको बर्णन गरि आन्तरिक पर्यटन बढाउनका लागि भजन गाएको बताउँछिन् । शान्ता भन्छिन्, ‘पाथिभरा माताप्रति विश्वास लागेर नै भजन गाएकी हुँ।‘ उनी थप्छिन्, ‘मलाई अध्यात्मतर्फ मन लाग्छ। भौतिक कुराले भन्दा पनि मलाई अध्यात्मले खुशी मिल्ने हुँदा भजन गाउन शुरु गरेकी हुँ।

हालै सार्वजनिक भएको पाथिभरा माता बोलको भजनमा शब्द/संगीत/स्वर स्यंम गायिका शान्ताको हो। भजनका निर्माता नवराज सुबेदी हुन् भने संगीत संयोजन शीला बहादुर मोक्तानको रहेको छ । रेकर्डिङ्/मिक्सिङ् प्रकाश खरेलको रहेको छ भने  म्यूजिक नेपालमा उक्त भजन रेकर्ड गरिएको हो ।छायांकन मुकेश हुमागाईको रहेको छ। भजनमा कलाकारहरु कमला अधिकारी, स्नेहा सुबेदी,   विना घिमिरे,  कमला आचार्य, ईन्दिरा रेग्मी, देवी प्रसाद संग्रौला, उषा आचार्य,  लगायतको सहभागीता रहेको छ।

शान्ताको हालसम्म श्रीगणेश भजन, सिद्धकाली भजन, परोपकार भजन र पाथिभरा माता भजन गरि ४वटा भजन सार्वजनिक भएको छ । शान्ता भन्छिन्,  ‘भगवान एउटै हुनुहुन्छ तर नाम मात्रै फरक हो।‘ भजनमा विशेष केहि भगवानको नाम भए पनि शान्तालाई सबै भगवानप्रति आस्था रहेको बताउँछिन्। उनको  सबै भजनहरु यसै (https://www.youtube.com/channel/UCV7wRL3gUgrLrLwqiww63AA) YouTube  च्यानलमा सार्वजनिक गरिएको छ ।

 

 

गीतकार भगवती न्यौपानेको ‘एप्पल जुसैमा’ सार्बजनिक(भिडियो)

काठमाडौं।गीतकार भगवती न्यौपानेको एप्पल जुसैमाको म्युजिक भिडियो सार्वजनिक भएको छ । भगवती न्यौपानेको आफ्नै युट्वुब च्यानल मार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन । भगवती न्योपानेको शब्दमा निर्मित उक्त गीतमा संगीत चर्चित लोकप्रिय संगीतकार राजेश थापाको रहेको छ ।

स्वर सि डी बिजय अधिकारी / समिक्षा अधिकारीको रहेको छ । जुन गीतमा एरेन्ज मिक्सिङ राजु कार्कि ,रेकर्डीग सुरेश राई रेकर्डिस्ट रहेको उक्त गीत किङ्ग्स स्टुडियोमा रेकर्डिङ भएको हो ।

यस्तै ऊक्त गीतमा भिडीयो निर्देशन मुनाल शिसिर कोईरालाले गर्नु भएको छ । भने अभिनय सुधिर श्रेष्ठ / पुजन धिमिरेको रहेको छ । कोरियोग्राफिमा सुरेन्द्र बसेल रहेका छन भने छायाॅकनमा ऊत्सब दाहाल रहेका छन । गीतको भिडियो निर्देशन शिलन लम्सालले गरेका हुन ।
•गीतको म्यूजिक भिडियो हेर्नुस :

 

प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुलाई दशैं भत्ता नदिने

काठमाडौं : संघीय संसद सचिवालयका अनुसार मंगलबार सांसदहरुको बैंक खातामा असोज महिनाको मात्र तलब/भत्ता पठाएको छ । यस बर्ष कोभिड्का कारण सम्पूर्ण अर्थतन्त्र अस्तव्यस्त भएकोले यस्तो निर्णय गरिएको हो | दशैं भत्ता पठाइएको छैन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा को नेत्रित्वमा बनेको गठबन्दन सरकारले यसबर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुलाई दशैं भत्ता नदिने भएको छ । बैठक भत्ता र यातायात खर्चबाहेक संघीय सांसदहरूले मासिक ६६ हजार ७० रुपैयाँ पाउँछन् । २७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ जना सांसद छन भने राष्ट्रिय सभामा ५९ जना छन् । मन्त्रिपरिषदले सांसदहरुलाई दशैं भत्ता दिने वा नदिने भनी कुनै निर्णय नगरेकाले दशैंभत्ता नदिएको संसद सचिवालयका प्रमुख लेखा अधिकृत बसन्त सिग्देलले जानकारी दिए ।