भ्रष्टाचार भएको भन्दै गणेश थापामाथि ५८ करोडको छानबिन

दि पावर न्यूज संवाद दाता, काठमाडौ। आश्विन १३ – संसद्को सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल संघ (एन्फा) मा ५८ करोड १७ लाख रुपैयाँ भ्रष्टाचार भएको भन्दै त्यसबारे थप छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग, युवा तथा खेलकुद मन्त्रालय र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई आइतबार निर्देशन दिएको छ । त्यस अवधिभर एन्फा अध्यक्ष गणेश थापालाई ‘पदीय अधिकार प्रयोगमा स्थगन’ को निर्णय पनि गरेको छ ।

एएफसी उपाध्यक्षसमेत रहेका थापा एन्फा अध्यक्ष भएयता खेलको टिकट बिक्रीबाट संकलित २१ करोड रुपैयाँ लेखापरीक्षणमा नदेखिएको र आयमा संलग्न नगरेको समितिले जनाएको छ ।एएफसीका विवादास्पद पूर्वाध्यक्ष मोहम्मद बिन हमामबाट थापा आफैंले १ लाख १५ हजार डलर लिएको बयान दिएका थिए । उनका छोरा गौरवले हमामबाट तीन वर्षअघि लिएको १ लाख डलरले अन्तर्राष्ट्रिय रूपमै नेपालको बदनाम भएको थियो । बिनानिर्णय एन्फाले बन्दना राणाको संस्था साथीलाई ६ वर्षयता १ लाख ५० हजार डलर दिएको छ । प्रशिक्षकको तलबबापत एएफसीले ‘एडीआई २७’ बाट १० वर्षयता आएको १२ लाख ६० हजार डलर र गोल प्रोजेक्टको १८ लाख डलर तथा त्यसमा ललितपुर, धरान र बुटवल नगरपालिकाको २० प्रतिशत लगानी पनि लेखापरीक्षणमा छैन । 

एन्फाले भवन निर्माणलगायत सार्वजनिक खरिदसम्बन्धी कानुन पालना नगरेको, उत्कृष्ट खेलाडीलाई सरकारले दिएको पुरस्कारको हिसाब नराखेको, विदेशी प्रशिक्ष्ाकको तलबमा अगि्रम कर कट्टी नगरेको, नेपाली प्रशिक्ष्ाकको तलबमा राजस्व नतिरेको, भ्याट र प्यान बिलबिना सामान खरिद गरेको पनि लेखाको ठहर छ । भुक्तानी नगरेकोलगायत अन्य कार्य नियम र प्रक्रियागत नभएको निर्णय गर्दै लेखाले थप अध्ययन गरेर दुई महिनाभित्र आवश्यक कारबाही गर्न अख्तियार, सम्पत्ती शुद्धीकरण र मन्त्रालयलाई १६ बुँदे निर्देशन दिएको हो ।

Spread the love