एनआरएनलाई नागरिकता दिने निर्णयको एनआरएन अमेरिकाद्धारा स्वागत

न्यूयोर्क, अन्य देशको नागरिकता लिएका गैर आवासीय नेपालीहरुले पनि राजनीतिक अधिकार नभएको नागरिकता पाउने निर्णय पश्चात एनआरएन अमेरिकाका अगुवाहरुले खुशी ब्यक्त गरेका छन् । एनआरएनहरुले उठाउदै आएको नागरिकता सम्बन्धी मागलाई नयां बन्ने संबिधानमा राजनीतिक अधिकार बाहेक अरु अधिकार दिने गरी समेट्ने संबिधानसभाको संबैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिले निर्णय गरेको हो । समितिको यो निर्णय आए पश्चात ह्वाईट हिमाल टेलिभिजनसंग कुरा गर्दै एनआरएन क्षेत्रीय उपसंयोजक सोनाम लामाले यो निर्णय गर्ने दलका नेता सभासदहरुलाई धन्यबाद दिनुभएको छ । उपसंयोजक लामाका अनुसार आफुहरु अब समयमै गैर आवासीय नेपालीको माग पुरा भएको संबिधान आउनेमा बिश्वस्त भएको बताउनुभयो । त्यस्तै यो निर्णय पश्चात एनआरएन अमेरिकाका अध्यक्ष खग्रेन्द्र क्षेत्रीले पनि संबिधानसभाको संबैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति र सम्पुर्ण सभासदहरुलाई धन्यबाद ज्ञापन गर्नुभएको छ । अध्यक्ष क्षेत्रीका अनुसार यस निर्णय पश्चात नेपालमा थप लागानिको बातावरण बन्ने बिश्वास ब्यक्त गर्नुभयो । आफुहरु देशमा गएर राजननीति गर्ने भन्दा पनि आर्थिक उन्नती र लगानिको वातावरण चाहेको र यो माग पुरा हुने वातावरण बनेको अध्यक्ष क्षेत्रीले बताउनुभयो । यस अघी एनआरएनएका अध्यक्ष शेष घलेले पनि दोहोरो नागरिकता भन्दा पनि राजनीतिक अधिकार बाहेकको नागरिकता भएमा एनआरएनहरुको माग पुरा हुने बताउदै आउनुभएको थियो । नेपाल सरकारले सार्क मुलुक बाहिर दुईवर्षभन्दा धेरै बसेका नेपालीहरुलाई गैर आवासीय नेपालीका रुपमा परिभाषित गरेको छ । बेलायतमा रहेका भूपू गोर्खा सैनिकहरुले पनि यस्तो प्रकारको विशेष नागरिकता पाउने भएका छन् । नेपालको अन्तरिम संविधान २०६३ ले वंशज , अंगिकृत र मानार्थ नागरिकताको व्यवस्था गरेकोमा अब बन्ने संविधानमा विशेष नागरिकताको व्यवस्था गरिने भएको हो । विशेष नारिकता प्राप्त गरेका व्यक्तिलाई नेपाली नागरिक सरह अन्य सबै अधिकार रहने भएपनि भोट खसाल्न पाउने, उम्मेदबार बन्न पाउने जस्ता राजनीतिक अधिकार पनि प्राप्त हुने छैन । विदेशको नागरिकता प्राप्त गरिसकेका नेपालीले नेपालमा फर्किएर ५ वर्ष बसेमा भने राजनीतिक अधिकार सहितको पुरानो नागरिकता समेत प्राप्त गर्न सक्ने भएका छन् । राष्ट्रपति, प्रधानमन्त्री लगायतका नेपालको संवैधानिक अंगको प्रमुख बन्न वंशजकै आधारमा नागरिकता प्राप्त गरेको हुनुपर्ने प्रावधान नयाँ संविधानमा राखिने भएकाले विदेशको नागरिकता प्राप्त गरेका नेपालीहरु पनि पुन ५ वर्षसम्म नेपालमा बसेमा पुरानो वंशजको आधारको नागरिकता प्राप्त गरेर यी पदहरुमा पुग्न सक्नेछन् । वंशजको आधारमा नेपाली नागरिकता पाउनका लागि बाबुआमा दुबै नेपाली हुनुपर्ने छ भने बाबु वा आमामध्ये एकजना नेपाली नागरिक भएका सन्तानले नेपाली नागरिकता पाएपनि त्यो वंशजको आधारमा हुनेछैन ।

Spread the love