अबदेखि कक्षा १० मा पनि विद्यार्थी भर्ना हुन पाउने

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संशोधन प्रस्ताव गरेअनुसार शिक्षा (नवौं संशोधन) नियमावली, २०७७ राजपत्रमा प्रकाशित भएसँगै अबदेखि कक्षा १० मा विद्यार्थी भर्ना हुन पाउने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड एसईई परीक्षा नियन्त्रकले नियमावली संशोधन भएसँगै कक्षा १० मा विद्यार्थी भर्ना हुन वा स्थानान्तरण हुन सक्ने बताएको छ ।

हालसम्म कक्षा १० मा विद्यार्थी भर्ना प्रावधान थिएन । ऐन तथा नियमावलीअनुसार कक्षा ९ मा भर्ना भएर रजिस्ट्रेसन फाराम भरेपछि सम्बन्धित विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन पाउने प्रावधान राखिएको छ ।‘यसअघिको विद्यार्थीको अभिभावक कर्मचारी भएमा र निजको सो समयमा सरुवा भएमा, वैवाहिक सम्बन्धको कारणले महिला विद्यार्थी अन्यत्र स्थानान्तरण हुनु परेमा वा अभिभावक बसाई सराई भएमा मात्र कक्षा १० मा स्थानान्तरण प्रमाणपत्र दिने व्यवस्था थियो ।

शिक्षा नियमावली, २०५९ को नियम ८० मा स्थानान्तरण प्रमाणपत्र सम्बन्धी व्यवस्था रहेको छ । उपनियम (२) मा ‘उपनियम (१)मा जुनसुकै कुरा लेखिएको भए तापनि कक्षा दशमा अध्ययन गर्ने विद्यार्थीलाई स्थानान्तरण प्रमाणपत्र दिइने छैन’ उल्लेख थियो । सोही नियमलाई संशोधन गरिएको छ ।

 

 

Spread the love