नवलपरासी सहायता समाज बेल्जियम द्वारा फोक्सोको बिरामी लाई सहयोग

नवलपरासी सहायता समाज बेल्जियम द्वारा फोक्सोको बिरामी लाई सहयोग

विष्णु सापकोटा/बेल्जियम । नवलपरासी सहायता समाज बेल्जियम द्वारा विगत लामो समय देखि बिरामी भै हाल उपचार गराउदै आएकी बिमला बिक लाई प्राकृतिक चिकित्सालय रजहर को उद्घघाटन गर्न आएका प्रधानमन्त्री सुशील कोइराला मार्फत एक कार्यक्रमका बिच आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ ।
नवलपरासी, रजहर -८ स्थाई घर भएकी वर्ष २२ की बिक लामो समय देखि फोक्सोमा समस्या देखिदै आएको थियो । उनको आर्थिक अवस्था ज्यादै कमजोर भएका कारण उपचारमा प्रक्रिया अगाडी बढाउनमा ज्यादै समस्या आएको थियो । चिकित्सले उनको फोक्सोमाको शल्यक्रिया गर्नु पर्ने भएको बताए पनि आर्थिक रकम जुटाउन नसकेका कारण शल्यक्रिया हुन  सकेको थिएन । उनी लगाएत उनका बाबु-आमा तथा जिल्लामा रहेका अन्य सङ्घ-सस्था हरू ले सहयोग को लागी अपिल गरे बमोजिम उनको जीवन बचाउन नवलपरासी सहायता समाज बेल्जियमले बेल्जियममा रहेका नेपालीहरू द्वारा सहयोग सङ्कलन गरी आर्थिक सहयोग स्वरूप रू. पचास हजार उपलब्ध गराएको थियो ।  हाल उनको उपाचार काठमाण्डौको शिक्षण अस्पतालमा भइरहेको र शल्यक्रियाको लागी समेत प्रवन्ध मिलाईएको परिवारिक श्रोतले जनाए अनुसार संस्थाका अध्यक्ष रमेश सापकोटाले बताए । यस सस्थाले पछिल्ला समयमा जिल्लाको स्वास्थ्य क्षेत्रमा सहयोग पुर्र्याउने क्रममा डण्डा मा अवस्थित मध्य बिन्दु सामुदायिक अस्पताललाई सोलार प्यानल समेत उपलब्ध गराई सकेको छ भने गत वर्षा याममा गएको बाढी पैरो बाट भएको धनजनको क्षति प्रति आर्थिक सहयोग समेत प्रदान गरेको थियो । यसै गरी  जिल्ला मा न्यून आय भएका जटिल प्रकृतिका बिरामी हरुलाई उपचारमा समेत सहयोग गरेको थियो । जिल्ला तथा क्षेत्रले गर्ने रक्तदान जस्तो परोपकारी कार्यमा  पनि सहयोग समेत उपलब्ध गराउदै आएको बताएको छ ।
जिल्लामा विशेष गरी शिक्षा क्षेत्रमा गरिब जेन्दार तथा निमुखा परिवार का बाल बालिकालाई उचित शिक्षा प्रदान गर्न मा सहयोग योजना समेत आगाडी बढाउन लागेको जानकारी दिएको छ । सन् २०११ मा स्थापना भएको यस सस्थाको मुख्य उद्धेश्य नवलपरासी जिल्लाको विकास अन्तर्गत विशेष गरी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा यथासक्य सहयोग पुर्याउने यसको मुख्य उद्धेश्य रहेको बताइएको छ ।

नौंबुँदेमा अडिए शान्ति सम्झौता भंग – प्रचण्ड

१९ कात्तिक, बिराटनगर । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेको हालत पूर्वराजा ज्ञानेन्द्रको जस्तै हुने चेतावनी दिएका छन् । नौंबुँदे प्रस्तावले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मान्यतालाई तोडिदिएको उनले बताए । सुशील कोइराला र केपी ओलीले आफूहरुलाई ढाँटेर नौंबुँदे साझा प्रस्ताव ल्याएको भन्दै उनले प्रस्तावको मनशाय शान्ति सम्झौता भंग गर्ने भएको दावी गरे । उनले भने-‘यदि त्यसैमा कांग्रेस र एमाले अडिने हो भने शान्ति सम्झौता भंग’ हुने चेतावनी दिएका छन् ।

हतारमा कुनै निर्णय नगरौं- बाबुराम भट्टराई

संविधानका विवादित विषयमा सहमति जुटाउने जिम्मा पाएको संवाद समितिका सभापति बाबुराम भट्टराईले संविधान लेखन द्धन्द्ध व्यवस्थापनको विषय समेत रहेकोले हतारमा कुनै निर्णय गर्न नहुने बताएका छन्।

कार्तिक १६ गतेदेखि निरन्तर जारी भनिएको संवाद समितिको बैठक मंगलबार तेस्रोपटक स्थगित भएको निर्णय सुनाए लगत्तै भट्टराईले सञ्चारकर्मीसँग यस्तो बताएका हुन।

सात प्रदेशको संघीय खाका सहितको साझा प्रस्ताव संवाद समितिमा बुझाएको सत्ताधारी दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले भने सहमति नभए अब प्रकृयाबाट संविधान लेखनको विषय अघि बढ्ने बताएका छन्।

सहमतिका लागि अन्तिम पटक भन्दै दिइएको समयसीमा दुई दिन अघि नै गुजारेको संवाद समितिको मंगलबारको बैठक पनि आइतबारको निरन्तरता भन्दै अनिश्चित समयका लागि स्थगित भएको छ।

स्थगित
सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले केही साना दलको समर्थन सहित सोमबार संवाद समितिमा पेश गरेको साझा प्रस्तावमाथि छलफल हुँदा हुँदै मंगलबारको बैठक स्थगित भएको घोषणा सभापति बाबुराम भट्टराईले गरेको बताइएको छ।

पार्टीगत रुपमा संविधानका विवादित विषयमा साझा प्रस्ताव संवाद समितिमा पेश गर्न नियमावली अनुसार नमिल्ने भन्दै एकिकृत माओवादी लगायत कतिपय तराइ केन्द्रित दलहरुले विरोध गरेका थिए।

बैठक स्थगित गरेर बाहिरिए लगत्तै उक्त समितिका सभापति भट्टराईले हतारमा संविधानको विषयमा कुनै निर्णय गर्न नहुने बताए। उनले भने, “संविधान बनाउने भनेको विगतको द्धन्द्ध व्यवस्थापनको विषय पनि हो, त्यसैले हतारमा निर्णय गरेर फेरी द्धन्द्धको पुनरावृत्ती गर्नुभन्दा केही समय लिएर द्धन्द्धलाई स्थायी रुपमा समाधान गर्नुपर्छ।”

अन्तिम भन्दै दिइएको समयसीमा गुजारेको संवाद समितिका सभापतिले त्यस्तो प्रतिकृया दिइरहेको बेला नेकपा एमालेका अध्यक्ष केपी ओलीले एकिकृत माओवादीले सहमति नगरे प्रकृयाबाटै संविधान जारी गर्न सकिने बताएका छन्।

प्रकृया
ओलीले भने, “तर्कको पनि एउटा आधार चाहिन्छ नि, सहमत पनि नहुने सहमति बिना पनि नहुने, हाम्रो संविधान दुई तिहाइ वा सो भन्दा बढीले आरामले जारी गर्न सकिन्छ, त्यसैको लागि संविधानसभाको निर्वाचन गरिएको हो।”

सत्तारुढ अर्को दल नेपाली कांग्रेसले भने एकिकृत माओवादीले सहमतिका लागि गम्भीरता नदेखाएर केवल आफ्नो प्रस्तावको विरोध गरिरहेको बेला अब प्रकृयाका लागि बुधबारदेखि संविधानसभाका अन्य समितिहरुसँग छलफल गरिने बताएको छ।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने, “बहुमत सदस्यहरुको समर्थन हामीलाई छ, अब बुधबार हामी सबै संवैधानिक समितिका सदस्यहरुसँग छलफल गरेर प्रकृया अगाडि बढाउने काम गर्छौं।” सत्ताधारी र प्रतिपक्षीबीच संविधानका विषयलाई लिएर बढीरहेको दुरीलाई पछिल्लो गतिरोधले थप फराकिलो बनाउने धेरैको चिन्ता छ। –  बि बि सि

सार्क शिखर सम्मेलनको तयारी

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८औं शिखर सम्मेलनमा सहभागी हुन नेपाल आउने राष्ट्र एवं सरकार प्रमुखहरूलाई विमानस्थलमा उपप्रधानमन्त्रीबाट स्वागत गराउने तयारी सरकारको छ । नेपाल आउने एक मुलुकका १८ जना ‘डेलिगेट्स’को नेपाल सरकारले खर्च बेहोर्ने छ । अन्यको हकमा भने उनीहरू स्वयंले खर्च गर्नुपर्ने छ । हरेक मुलुकका १८ डेलिगेट्सका साथै डेलिगेट्स प्रमुख र उनको स्पाउज तथा विदेशमन्त्री र उनका स्पाउजका साथ रहने दुई सुरक्षाकर्मी र सहयोगीको पनि खर्च आयोजकले बेहोर्नेछ । अन्यको हकमा उनीहरूले नै खर्च गर्नुपर्ने परराष्ट्रले तयार गरेको ‘डेलिगेट्स ह्यान्डबुक’ मा उल्लेख छ ।

सबै विशिष्ट व्यक्तित्वसँग सम्मिलित एक मुलुकको १८ जना सदस्यलाई होटल सोल्टीमा राख्नेछ । अन्यलाई भने याक एन्ड यती, रेडिसन, एभरेस्ट अन्नपूर्णमा व्यवस्था मिलाएको छ । कार्यक्रम पनि सबै होटलमा बाँडिएको छ । सार्क बैठक मंसिर ६ गतेदेखि सुरु हुनेछ । मंंसिर ६ मा ४९ औं सहसचिवस्तरको बैठक बस्नेछ । ७ र ८ गते परराष्ट्र सचिवस्तरको ४१ औं बैठक बस्नेछ , ९ गते ३६ औं परराष्ट्रमन्त्रीस्तरको बैठक र १० तथा ११ मा १८ औं शिखर सम्मेलन हुनेछ । उद्घाटनका दिनमा रिटि्रटका लागि भ्रमण दलका प्रमुखहरूलाई घुलिखेल लैजाने तयारी छ ।

साहुसँगको झगडामा ड्राईभरले बस ठोक्काए ।

हेटौंडा : साहुसँग झगडा गरेपछि रिसको आवेगमा चालकले तीब्र गतिमा गाडी चलाउँदा मकवानपुरको बसामाढीमा बस दुर्घटना हुँदा १० जना निर्दोष यात्रुको ज्यान गएको छ ।

प्रत्यक्षदर्शी यात्रु तथा प्रहरीले दिएको जानकारी अनुसार बिराटनगरका लागि हिँडेको ना ४ ख ५४४८ नम्बरको शुभश्री यातायातका ड्राईभर र साहु काठमाडौंबाटै भनाभन गर्दै गएका थिए । चितवनको रामनगरमा यात्रुलाई खाना खान ओरालेपछि मदिरा पिएका चालक र साहुबीचको झगडाले उग्ररुप लिएपछि ड्राईभरले इलामबाट काठमाडौं आइरहेको मेट्रो डिलक्स बससँग ठोक्काएर दुर्घटना गराएको पीडित यात्रुहरुले जानकारी दिएका छन् ।

रामनगरबाट साहु, ड्राईभर र कन्डक्टरबीचको झगडाले उग्ररुप लिएपछि यात्रुहरुले पटक पटक नबाझ्न आग्रह गरेका थिए । साहुसँग बाझेपछि तीब्र गतिमा गुडाइएको बसको गति कम गर्न यात्रुले गरेको आग्रहलाई बेवास्ता गर्दै ड्राईभरले जानाजान अर्को बससँग ठोक्काएको घटनामा बाँचेका यात्रुहरुले बताएका छन् ।

मकवानपुर प्रहरीले पनि दुर्घटनाको प्राराम्भिक अनुसन्धानपछि शुभश्री यातायातका ड्राईभरले रिसको आवेगमा आएर बस दुर्घटना गराएको निष्कर्ष निकालेको छ । राति साढे २ बजे मकवानपुरको बसामाढी–२ बस्तीपुरमा बासमढीमा पुगेपछि इलामबाट आइरहेको बसमा शुभश्रीको बस ठोक्किएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएस्पी दीपक थापाले शुभश्री बसका चालकको लापरबाहीका कारण दुर्घटना भएको जानकारी दिए ।

इलामबाट आइरहेको इलामबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४८४१ नम्बरको बसको चालकको साइडमा शुभश्री बस ठोक्किएको थियो । दुर्घटनामा ज्यान गुमाउने अधिकांश यात्रु इलामबाट आएको बसका रहेका छन् ।

दुर्घटनामा मेट्रो डिलक्समा सवार इलामका प्रविन आचार्य, रक्षा श्रेष्ठ, मिलन अधिकारी, सुजाता काफ्ले, रोशन भट्टराई, प्रिजन दाहाल, इशा कार्की र इलाम बरबोटेकी आस्थाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यसैगरी रसियन नागरिक डारिया मल्सकोभाले पनि दुर्घटनामा ज्यान गुमाएको डिएस्पी थापाले बताए। त्यसैगरी शुभश्री बसकी यात्रु सुनसरीको इटहरी निवासी शान्ता लुइँटेलको पनि ज्यान गएको छ ।

दुर्घटनापछि शुभश्री बसका चालक, साहु र कन्डक्टर तीनै जना फरार छन् । मेट्रो डिलक्सका चालक अरविन्द तामाङको खुट्टा भाँचिएपछि चितवनमा उपचार भइरहेको छ ।

दुर्घटनाका घाइतेहरुको चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचार भईरहेको छ । घटनामा घाइते हुनेमा २५ जना पुरुष, पाँच महिला र दुई बालबालिका रहेको प्रहरीले जानकारी दिएको छ । साभार: अन्नपूर्णपोस्ट –