नेटो बैठकमा जेलेन्स्कीको भावुक सम्बोधन

नेटो बैठकमा जेलेन्स्कीको भावुक सम्बोधन

नेटो शिखर सम्मेलनमा आफ्नो भिडियो लिङ्कमार्फत जेलेन्स्कीले भावुक सम्बोधन गरेको छ। उनले युक्रेन गठबन्धनको हिस्सा नभएपनि यसले साझा मूल्यहरूको रक्षा गरिरहेको बताए । जेलेन्स्कीले युक्रेन बहादुरीका साथ उभिएको तर यसले यसको लागि ठूलो मूल्य चुकाएको पनि जानकारी दिएको छ । उनले हजारौं मानिसहरू मरे, शहरहरू ध्वस्त भए र करिब एक करोड मानिसहरू विस्थापित भएको जनाए । जेलेन्स्कीले आफूहरुले आफ्नो आकाशको रक्षा गर्नका लागि एयरस्पेस सहायता मागिरहेको बताए । युक्रेनसँग कुनै शक्तिशाली एन्टि–एयरक्राफ्ट प्रतिरक्षा नभएको उनको भनाइ छ। उनले रुसले सामूहिक नरसंहारका हतियार प्रयोग गरिरहेको र त्यसको नतिजा पनि प्रष्ट देखिएको दाबी गरेको छ ।

उनले आफूले नेटोलाई दोषी नठहराएको जनाएको छ । नेटोले अहिले पनि मद्धत गर्न सक्ने उनको भनाई छ। ‘युक्रेनले विमान पनि फेला पारेको छैन। हामीलाई हतियार दिनुहोस् नत्र बेच्नुहोस् । तर हामीले यस सम्बन्धमा नेटोबाट कुनै स्पष्ट जवाफ पाएका छैनौं।’उनले भने, ‘यो जीवन र मृत्युको प्रश्न हो ।’ आफ्नो सम्बोधनका क्रममा जेलेन्स्कीले रुसले फस्फोरस बम प्रयोग गरेको आरोप पनि लगाए । यद्यपी उनले ती बमहरू कहाँ प्रयोग गरियो भन्ने भने खुलाएनन् ।

जेलेन्स्कीका अनुसार ‘हामी एक महिनादेखि असमान युद्ध लडिरहेका छौं। युक्रेनका जनता र शहरहरूलाई बचाउनको लागि सैन्य सहयोगको लागि आह्वान गर्दछु।’ उनले रुसले आफ्ना सबै हतियार बिना सीमा प्रयोग गरिरहेको बताएको छ । उसले आवासीय सहर, अस्पताल र पुलहरूलाई लक्षित गरेको बताए ।जेलेन्स्कीले भने, ‘युक्रेन वर्षौंसम्म युद्ध लड्न चाहँदैन । हामी जिउँदो रहन चाहन्छौं र  नागरिकलाई  बचाउन चाहन्छौं ।’

 

 

 

चीनद्वार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हस्तान्तरण

चीन सरकारद्वारा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल  नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । चीन सरकारको अनुदान र सहुलियत ऋणमा निर्माण भइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनले नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको साँचो परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई उपलब्ध गराएका हुन् ।  उक्त समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी थिए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुखका अनुसार अहिलेसम्म विमानस्थलको ९३ प्रतिशत काम सकिएको छ ।

चिनियाँ परराष्ट्रमन्त्री वाङको भ्रमणमा एमसीसीप्रति अभिव्यक्त

केही समय पहिले अमेरिकी अनुदान सम्झौता एमसीसीलाई लिएर बेइजिङबाट प्रकट भएका असन्तुष्टिहरूलाई चिनियाँ विदेशमन्त्रीको भ्रमणका क्रममा सम्बोधन गरिनुपर्ने परराष्ट्र मामिलाका विज्ञहरू बताउँछन्। तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रवार काठमाण्ठू आइपुगेका चिनियाँ स्टेट काउन्सिलर विदेशमन्त्री वाङ यीसँग सत्तापक्षीय र विपक्षमा रहेका नेपाली शीर्ष नेताहरूले एकमतले आफ्नो सार्वभौम निर्णयको पैरवी गर्नुपर्ने एक विज्ञले बताए। अर्का चिनियाँ विज्ञले चीनको वैधानिक भूरणनीतिक स्वार्थ सम्बोधन गर्दै नेपालले स्वतन्त्र रूपमा देशको विदेश नीति सञ्चालन गरेसम्म बेइजिङ नेपालबाट आश्वस्त भइरहने प्रतिक्रिया दिएका छन्।

हालै संयुक्त अमेरिकाले मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी)मार्फत् नेपाललाई दिएको ६० अर्ब रुपैयाँ अनुदानलाई लिएर अमेरिका र चीनबीच आरोप प्रत्यारोप चलेको थियो। उक्त सम्झौतालाई नेपालको संसद्ले अनुमोदन गरेपछि बेइजिङले त्यसलाई जानकारीमा लिएको जनाएको थियो। कोभिड महामारी देखिएयता पहिलो पटक भएको चिनियाँ विदेशमन्त्रीको भ्रमण पछिल्लो समयमा नेपाल चीन सम्बन्धमा देखिएका संशय चिर्न उपयोगी हुनसक्ने कतिपयको विश्वास पाइन्छ। सन् २०१७ मा नेपाल र अमेरिकाले एमसीसी सम्झौतामा हस्ताक्षर गरेका थिए। उक्त सम्झौताअन्तर्गत भारतीय सीमासम्म जोड्ने विद्युत् प्रसारण लाइनको निर्माण र सडकहरूको स्तरोन्नतिका लागि नेपाललाई अमेरिकाले ६० अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउनेछ।

सन् २०१९ को छेकोमा कतिपय अमेरिकी अधिकारीहरूले एमसीसी इन्डो-प्यासिफिक रणनीतिको हिस्सा भएको धारणा राखेपछि उक्त सम्झौताप्रति चीनले आफ्नो चासो राख्न थालेका विवरण आएका थिए। सुरुमा अन्तर्राष्ट्रिय सहकार्य अन्तर्गतको आर्थिक सहयोगको पक्षमा आफू रहेको बताएको चीन संसद्ले एमसीसी अनुमोदन हुने बेलासम्म आइपुग्दा आक्रामक रूपमा प्रस्तुत भएको थियो। अमेरिकाले बाह्य प्रभाव र भ्रष्टाचारले एमसीसीबारे नेपालले गर्ने निर्णयलाई प्रभावित तुल्याए त्यसको परिणाम गम्भीर हुने चेतावनी दिएपछि चीनले ‘जबरजस्तीपूर्ण कूटनीति’को विरोध गर्ने बताएको थियो।

विश्व बैंकले नेपालको लागि १८ अर्ब ३० करोड ऋण स्वीकृत

काठमाडौं : विश्व बैंकले नेपालको लागि १८ अर्ब ३० करोड (१ सय ५० मिलियन अमेरिकी डलर) रुपैयाँ सहुलियत ऋण स्वीकृत गरेको छ।

यो रकमले नेपालको अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने बैंकले विश्वास विश्व बैंकले गरेको छ।  निजी क्षेत्र र दिगो विकासका आयोजना अघि बढाउन समेत मद्दत पुग्नेछ।स्वास्थ्य शिक्षा पुर्वाधार लगायत क्षेत्रमा लगानी गर्न पाउने गरी ऋण स्वीकृत भएको हो।

कोभिड-१९ को प्रकोपपछि नेपालमा तरलताको धेरै समस्या देखिइरहेका छ। यसलाई पनि केहि हदसम्म सहज पुग्ने बैंकको भनाई छ।

यो ऋण महिलाहरुलाई वित्तिय साक्षरता जगाउन समेत प्रयोग हुनेछ।

स्वास्थ्य शिक्षा पुर्वाधार लगायत क्षेत्रमा लगानी गर्न पाउने गरी ऋण स्वीकृत भएको हो।

चीनका विदेशमन्त्री आज आउनुहुँदै

चैत ११ ,काठमाडौँ : चीनका विदेशमन्त्री वाङ यी तीनदिने औपचारिक भ्रमणका क्रममा शुक्रबार नेपाल आउँदै हुनुहुन्छ ।  विदेशमन्त्री वाङको भ्रमणका लागि उच्चस्तरीय सुरक्षा व्यवस्था गरिएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा हुन लागेको भ्रमणको सबै तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालमा चिनियाँ रेल निर्माणको सम्बन्धमा थप छलफल हुने जनाइएको छ ।

नेपालसँग रेल्वे परियोजनालगायतका १४ वटा विषयमा आपसी सहकार्य गर्ने सम्झौता यसअघि नै भएको थियो । नौवटा सम्झौता भने नेपालको निजी तथा सार्वजनिक संस्था र कम्पनीसँग चिनियाँ संस्था र कम्पनीको सम्झौता रहेको मन्त्रालयले जनाएको छ । विदेशमन्त्री वाङको बासस्थानदेखि उहाँ सवार सडक, चोक तथा औपचारिक र अनौपचारिक कार्यक्रम स्थलहरूमा विशेष निगरानीसहितको सुरक्षा सतर्कता बढाउने तयारी गरिएको छ । बौद्ध, स्वयम्भू र हात्तीसारलगायतका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

बाटुली लामिछानेको १२०औं जन्मदिन

नुवाकोट : संसारकै सबैभन्दा बढी उमेर दाबी गरिएकी नुवाकोटको ककनी निवासी वृद्धाले १२०औं जन्म जयन्ती मनाएकी छन्।  बाटुली लामिछानेको १२०औं जन्मदिनजन्मदिनमा बिहीबार सरकारी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरु उनको घरमै पुगेर शुभकामना दिएका थिए।

विश्वकै सबैभन्दा जेष्ठ नागरिक रहेको भन्दै विश्व रेकर्डमा नाम लेखाउन सक्रियतासमेत बढाइएको छ। उनलाई सरकारीस्तरबाट विभिन्न सम्मान तथा पुरस्कारसमेत प्रदान गरिएको छ। लामिछानिका ८१ वर्षीय छोरा नेत्रप्रसाद लामिछाने रातिको समयमा आमालाई दिशापिसाब आउँदा उठेर सामान्य हिँड्न पनि सक्ने र त्यसक्रममा लड्नसक्ने भएकाले एक जनाले नियमित रेखदेख गर्ने गरेका छन्।   छोरा नेत्रप्रसाद जन्मेपछि धन कमाउन परदेशिएका बाटुलीका पति हालसम्म घर फर्किएका छैनन्। हालसम्म विश्वमा ११८ वर्षीय जापानी नागरिक काने तानाकाको नाममा उक्त रेकर्ड देखिएको छ।

सदरमुकाम विदुरदेखि ५० किलोमिटर पूर्वमा रहेको ककनी गाउँपालिका-८ थानसिङ छापथोककी १२० वर्षीया बाटुली लामिछानेलाई विश्वकै ज्येष्ठ नागरिक भएको दाबी गरिएको छ। विसं १९५९ चैत १० गते सिन्धुपाल्चोकको साविक बाँसबारी गाविस-१ गिरानचौरमा माता देवीकुमारी र पिता जयनारायण तिवारीको कोखबाट जन्मिएकी वृद्धा बाटुली नुवाकोटको पूर्वी भेगमा रहेको ककनी गापा-८ छापथोकमा छविलाल लामिछानेसँग विवाह गरेर आएको अभिलेखमा उल्लेख छ।

हालः उनका एक छोरा, चार नातिनी, पाँच पनाती, पाँच पनातिनी र एक जनातीसँगै रहेकी छन्। उनलाई ‘जीवित देवी’को उपमा समेत दिइएको छ। उनको स्वास्थ्य सामान्य र उचित रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन्। उनी बिहान-बेलुका दुधसँग मासिनो गरी पिसेको भात र अन्य समयमा हर्लिक्स, बिस्कुट र झोल पिएर आफ्नो दैनिकी बिताउने गरेकी छन्।

 

पल शाहलाई १२ दिन थुनामा राख्न आदेश

१० चैत, काठमाडौं : अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन बिहीबार जिल्ला अदालत, तनहुँले आदेश दिएको छ । शाहविरुद्ध १६ वर्षकी किशोरीलाई प्रलोभनमा पारेर जबर्जस्ती करणी गरेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय तनहुँले अदालतमा अभियोग पत्र दर्ता गरेको थियो । जाहेरी परेपछि केही दिन फरार भएका शाहले १५ फागुनमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । पलविरुद्धको जबर्जस्ती करणी मुद्दामा केही समयअघि सञ्चारमाध्यममा सार्वजनिक भएका अडियो रेकर्डलाई अदालतमा प्रमाणका रुपमा पेश गरिएको थियो । पीडितको स्वास्थ्य परीक्षणले पनि उनको संवेदनशील अंगमा चोट रहेको देखाएको थियो । पल शाहले तनहुँ र नवलपुरमा प्रहरीसमक्ष दिएको बयानमा दुईबीच विवाद बढेपछि ‘उमेर पुगेपछि विवाह गर्ने मौखिक सहमति’ भएको स्वीकारेका छन् । तर जबरजस्ती करणी चाहिं अस्वीकार गरेका थिए ।

जारी रहँदा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, नवलपुरमा पनि सोही विषयमा जाहेरी परेको थियो । पललाई नवलपुर पुर्‍याएर बयान लिएको प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत ३ चैतमा मुद्दा दर्ता भएको थियो । तनहुँमा चाहिँ मंगलबार शाहविरुद्ध मुद्दा दर्ता भएको छ । २०७८ सालको जेठ अन्तिमतिर पीडित किशोरीले फोन गरेर ‘तपाईं र मेरो सम्बन्ध अरुले थाहा पाए, महिनावारी रोकियो‘’ भन्दै म्यासेज गरेकी थिइन् । त्यसपछि पीडितकी आमा, गायन क्षेत्रका दुर्गेश थापा, सरोज ओली, योगेश काजी, म्यानेजर कृष्ण जोशी र आफू बसेर छलफल गरेको भन्दै उनले बयानमा भनेका छन्, ‘मैले पीडितको उमेर पुगेपछि विवाह गरौंला, अहिले केटीको उमर पुगेको छैन भनेको थिएँ ।’

पलले भने तनहुँमा घटना भएको भनिएका बेला पीडितलाई ‘बियर खान दिएर फेसवास लिएर आफ्नो कोठामा गएको’ जिकिर गरेका थिए। नवलपुरको गैंडाकोट रिसोर्टमा भने पीडितको कोठामा ‘हिजो डर लागेकाले राम्रोसँग सुत’ भन्नलाई मात्र गएको दाबी गरेको वयान दिएका थिए ।

७७ हजार नेपाली कोरियामा श्रमिकको रुपमा लाभान्वित

दक्षिण कोरिया सरकारले यहाँ श्रम गरिरहेकामध्ये सन् २०२२ अप्रिल १३ देखि डिसेम्बर अन्तिमसम्ममा प्रवेशाज्ञा सकिन लागेका नेपालीसहित सम्पूर्ण प्रवासी श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप गरेको हो। इपीएसमार्फत दक्षिण कोरिया आई श्रम गरिरहेका नेपालीसहित प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप हुने भएको छ। निर्णयअनुसार इपीएस प्रक्रियामार्फत दक्षिण कोरिया आई ई–९ प्रवेशाज्ञामा श्रम गरी प्रवेशाज्ञा सकिन लागेकाले एक वर्ष थप प्रवेशाज्ञा पाउने छन्। इपीएस नियमानुसार पहिलो कार्यकालमा तीन वर्ष प्रवेशाज्ञा पाउँछन्। तीन वर्षे अवधि समाप्त भएपश्चात् कम्पनी र श्रमिकको सहमतिमा थप एक वर्ष १० महिनासहित चार वर्ष १० महिना बस्न पाउँछन्। पहिलो कार्यकाल सकेर अनिवार्य आफ्नो देश फर्किनुपर्छ। पुनः प्रतिबद्ध श्रमिकका रूपमा दोस्रो कार्यकालका लागि कोरिया आएका श्रमिकको समयावधि पनि पहिलो कार्यकालको झैँ हुनेछ। हाल एक वर्ष प्रवेशाज्ञा थपिनेमा पहिलो वा दोस्रो जुनसुकै कार्यकालको भए पनि यही अप्रिल १३ देखि डिसेम्बर अन्तिमसम्ममा तीन वर्षे अवधि वा चार वर्ष १० महिना अवधि सकिन लागेका पर्छन्।

कोरोना महामारीका कारण कोरियामा प्रवासी श्रमिक भित्र्याउने रोकिएको प्रक्रिया पुनः सुचारु भए पनि विभिन्न कारण सहज नभएपछि यही काम गरिरहेका मजदुरको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको हो।  पहिल्यै एक वर्ष अवधि थपिनेबाट अप्रिलदेखि जुन अन्तिमसम्म थप अवधिसमेत सकिनेका लागिसमेत ५० दिन थप प्रवेशाज्ञा दिने निर्णय भएको छ। यो निर्णयले दक्षिण कोरियामा रहेका प्रवासी मजदुरमध्ये ७७ हजार ९४ को एक वर्ष अवधि थपिएको छ। त्यस्तै एक वर्ष थपिएर पनि सकिन लागेकाको हकमा थपिने ५० दिनको अवधि थप पाउनेमा पाँच हजार ६४४ रहेका छन्।

कोरोनाका कारण थपिएको एक वर्षे प्रवेशाज्ञा पाउनेले अघिल्लो पटकको नियमझैँ यसपटक पनि कम्पनी चित्त नबुझेमा एक पटक कार्यस्थल परिवर्तन गर्न सक्नेछ।  यो निर्णयले कोरिया अझै बसेर श्रम गर्दै कमाउँछु भन्नेका लागि अवसर बन्न पुगेको छ भने नेपाललगायत अन्य देशमा रहेर सम्पूर्ण प्रक्रिया पूरा गरी कोरिया जान पर्खिरहेकामा कोरिया प्रक्रिया विस्तारै हुनेसक्ने अनुमान गरिएको छ।

संसारभरिका मानिसलाई सडकमा उत्रन जेलेन्स्कीको अपिल

रुसले आफ्नो देशमा अतिक्रमण गरेको एक महिना पुगेको दिनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संसारभरिका मानिसहरूलाई अपिल गर्दै सडकमा उत्रिएर उनको देशप्रति समर्थन जनाउन भनेका छन्। आफ्नो दैनिक सम्बोधनका क्रममा केही बेर अङ्ग्रेजीमा बोल्दै उनले मानिसहरूलाई युक्रेनी प्रतीक लिएर आउन भनेका छन्।

निरन्तरको रुसी बमबारी झेलिरहेको युक्रेनका राष्ट्रपति जेलेन्स्कीले सम्बोधनमा संसारभरिका मानिसलाई बिहीवार सडकमा उत्रिएर युक्रेनप्रति समर्थन जनाउन अपिल गरेका हुन्। उनले भने, “तपाइँहरू आफ्ना सहरका चोक तथा सडकमा आउनुस्। देखिनुस् र सुनिनुस्। मानिसको जीवनको महत्त्व छ, स्वतन्त्रताको महत्त्व छ, शान्तिको महत्त्व छ अनि युक्रेनको महत्त्व छ भनेर बोल्नुस्।”  “मार्च २४ मा युद्ध रोक्न चाहने सबैजना एकत्रित हुनुस्।”

चीनको विमान दुर्घटनाको ब्ल्याक बक्स भेट्टाए

दक्षिण चीनको पहाडी भेगमा सोमवार चाइना ईस्टर्नको १३२ मानिस सवार एमयू५७३५ विमान दुर्घटनामा परेको थियो।  चीनको  दुर्घटनामा परेको चाइना ईस्टर्न विमानको ब्ल्याक बक्स खोजीकर्ताहरूले भेट्टाएको चिनियाँ सरकारी सञ्चार माध्यमले जनाएको छ।

चिनियाँ उड्डयन अधिकारीहरूले दुई दिनको खोजी पश्चात् ब्ल्याक बक्स भेटिएको बुधवार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ।अधिकारीहरूले मृतकको सङ्ख्या अझै यकिन गरिसकेका छैनन् तर विमानमा सवार १३२ जनाको जीवितै उद्धार हुने सम्भावना कम रहेको आशङ्का गरिएको छ।अनुसन्धानकर्ताहरूले उक्त विमान किन अकस्मात् आकाशबाट खस्यो भन्ने पत्ता लगाउन सकेका छैनन्।उद्धारकर्मीले अहिलेसम्म कसैलाई पनि जीवित फेला पार्न सकेका छैनन्। चीनमा दुई दिनअघि दुर्घटनामा परेको यात्रुवाहक विमानको भग्नावशेष फेला परेको क्षेत्रमा ठूलो वर्षा भएपछि पहिरो जाने जोखिमका कारण खोजी तथा उद्धार अभियान अवरुद्ध भएको छ।

विमानमा सवार १२३ यात्रु र चालकदलका नौ सदस्यका परिवारजन र इष्टमित्रहरू वुझाऊ र ग्वाङ्जाऊ विमानस्थलमा भेला भएका छन् भने केही मानिसहरू युन्नान प्रान्तस्थित चाइना ईस्टर्नका कार्यालयमा पनि गएका छन्। केही यात्रुका आफन्तहरू दुर्घटनास्थलनजिकै अवस्थित लू गाउँ पुगेका छन्।