राष्ट्रियसभा सांसदको पदावधी ६ वर्ष हुने – पदावधीका लागि गोलाप्रथा

राष्ट्रियसभा सांसदको पदावधी ६ वर्ष हुने – पदावधीका लागि गोलाप्रथा

काठमाडौं : राष्ट्रियसभा सांसदको पदावधी ६ वर्ष हुने भए पनि पहिलो पटक एक तिहाइ सदस्यको पदावधी प्रत्येक दुई वर्षमा सकिन्छ। राष्ट्रियसभामा जुन सदस्य जुन क्लस्टरबाट आएको हो त्यही क्लस्टरका सदस्यबीच गोला हालेर पदावधी निर्धारण गरिने भएको छ।  ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको २ वर्ष, एक तिहाइको ४ वर्ष र एक तिहाइको कार्यकाल ६ वर्षको हुनेछ। पदावधी निर्धारण भने गोला प्रथाद्वारा हुनेछ।  दलितबाट ७ र अल्पसंख्यक÷सिमान्तकृतबाट आएका ७ जना गरी १४ जनाको क्लस्टर बनाइएको छ। १४ जनामध्ये ४ जनाको २ वर्ष, ४ जनाको ४ वर्ष र ४ जनाको ६ वर्षको कार्यकाल हुनेछ। बाँकी २ जनामध्ये एक जनाको ४ र अर्कोको ६ वर्ष कार्यकाल हुने गरी कार्यविधिमा व्यवस्था गरिएको छ। मनोनीत कोटामा आएका तीन जनाबीच गोला हालिनेछ। एक जनाको २, अर्कोको ४ र अर्को एकजनाको ६ वर्षको कार्यकाल हुनेछ। राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षको कार्यकाल पनि गोलाप्रथाद्वारा तय हुनेछ। प्रत्येक प्रदेशबाट खुलामा आएका तीन जना सांसदबीच गोला हालिनेछ। त्यसरी गोला हाल्दा प्रत्येक प्रदेशमा एक जनाको २ वर्ष, एक जनाको ४ वर्ष र एक जनाको ६ वर्षको कार्यकाल निर्धारण हुनेछ।   संसद् सचिवालयले तयार पारेको राष्ट्रियसभा सदस्यको पदावधीसम्बन्धी कार्यविधिमा चार क्लस्टर बनाएर सदस्यहरूबीच गोला हाल्ने उल्लेख छ। दलित र अल्पसंख्यक÷सिमान्तकृत कोटाबाट आएका सांसदको भने देशभरिकै एउटा क्लस्टर बनेको छ। यो कोटामा प्रत्येक प्रदेशबाट एक÷एक जनाका दरले दलित र अल्पसंख्यक वा सिमान्तकृत कोटामा सांसद निर्वाचित भएका थिए।