चालू आर्थिक वर्षको अन्त्यसम्म २१४ मेगावाट विद्युत्

चालू आर्थिक वर्षको अन्त्यसम्म २१४ मेगावाट विद्युत्

काठमाडौं : चालु आवमा पूरा भएका र हुने आयोजना सूचीमध्ये चमेलिया सबैभन्दा ठूलो हो।  चालू आर्थिक वर्षको अन्त्यसम्ममा निजी र सार्वजनिक गरी कुल २१४.२८ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडिने भएको छ। हाल सञ्चालनमा रहेका जलविद्युत् आयोजनामा नेपाल विद्युत् प्राधिकरणका विभिन्न १८ वटा आयोजनाको क्षमता ५००.३६२ मेगावाट, निजी क्षेत्रबाट सञ्चालित ५४ वटा आयोजनाको कुल क्षमता ४७१.४६५ मेगावाट गरी ९७१.८२७ मेगावाट पुगेको छ। निर्माणको अन्तिम चरणमा आइपुगेका कुल २२ वटा आयोजनामध्ये हालसम्म ९२.५३ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा आबद्ध भइसकेको छ। विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंहका अनुसार बाँकी ११२.२५ मेगावाट बराबरका नौवटा आयोजना यही आर्थिक वर्षको अन्त्यसम्ममा पूरा हुनेछन्।

झन्डै १० वर्षको अवधि लगाएर ३० मेगावाटको चमेलिया पछिल्लोपटक गत फागुनमा ग्रिडमा जोडिएको थियो।  विद्युत् प्राधिकरणले निर्माण गरेको चमेलियाको प्रतिमेगावाट लागत ५५ करोड रुपैयाँ छ। आगामी वर्ष भने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको माथिल्लो तामाकोसी (४५६ मेगावाट) सहित ६०२ मेगावाट बिजुली प्रणालीमा आउने भएको छ।  निर्माणको अन्तिम चरणमा पुगेको माथिल्लो तामाकोसी (४५६ मेगावाट) को स्थलगत निरीक्षण गर्न प्रधानमन्त्री केपी ओली र ऊर्जा मन्त्री वर्षमान पुन बुधबार आयोजनास्थल दोलखा जाने कार्यक्रम भएको छ।