सगरमाथाको बाटो खुल्न दुई साता लाग्ने – दर्जनभन्दा बढी आरोहणदल सगरमाथा चढ्ने पर्खाइमा

१३ चैत, काठमाडौं : हिमाल आरोहणको मौसम सुरु भएसँगै दर्जनभन्दा बढी आरोहणदल सगरमाथा चढ्ने पर्खाइमा छन् । फागुन २१ देखि आठजना आइसफल डाक्टरले बाटो निर्माण सुरु गरे पनि अप्ठ्यारो भएकाले समय लाग्ने भएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का कार्यकारी निर्देशकले बताए । यसपटकको वसन्त ऋतुमा सगरमाथा शिखर आरोहण गर्ने पर्वतारोहीका लागि आरोहणको याम सुरु भइसके पनि सगरमाथा शिखरतर्फको बाटो खुल्न अझै दुई साता लाग्ने भएको छ ।  आइसफल डाक्टरले बाटो मर्मत गरिनसकुन्जेल जोखिम हुने भएकाले आरोहणदल सगरमाथा आरोहणमा जाँदैनन् । भूकम्प र हिमपहिरोपछि बाटो व्यवस्थित र नयाँ बाटो निर्माण गर्न लागिएकाले सहज भए मात्र दुई साता लाग्ने र असहज भए अझै बढी समय लाग्नसक्ने आइसफल डाक्टरका संयोजक आङकामी शेर्पाले बताए । सन् २०१४ मा लोलाबाट हिमपहिरो आएपछि २०१५ देखि बाटो परिवर्तन गरी नुप्त्से लोला हुँदै नयाँ बाटो प्रयोग गर्न थालिएको जानकारी शेर्पाले दिए । सपीसीसीका अनुसार आधारशिविर (५,३३४ मिटर) देखि निर्माण सुरु गरिए पनि २१ दिनमा आधारशिविर र क्याम्प एकसम्म मात्र बाटो निर्माण भएको छ ।  स्रोत:  अन्नपूर्ण पोस्ट् दैनिक

Spread the love