गीतकार भावेश भुमरीको एकल रचना ‘भूमिका’

भावेशको प्रसिद्ध गीतको म्युजिक भिडियो (भिडियोसहित) गीतकार भावेश भुमरीको एकल रचनाको एल्बम ‘भूमिका’मा रहेका लोकप्रिय गीतहरूमध्ये एक गीत हो- “तिमी छैनौ र मलाई हर क्षण तिम्रो अभाव छ, सधैँ सम्झिन्छु तिमीलाई र त बिर्सने दबाव छ…” । यस गीतमा रीमा गुरुङ होडाको स्वर र सन्तोष श्रेष्ठको सङ्गीत रहेको छ । भिडियोको जमाना भए तापनि यस गीतले अडियोबाटै धेरै प्रसिद्धि हासिल गर्ने सफलता पाएको हो । रचना अनि स्वर विधामा दुई दुईवटा अवार्ड प्राप्त प्रस्तुत गीत रेडियो र एफएमहरूमा निरन्तर रूपले बज्दै आयो र बजिरहेकै छ । अडियोबाटै नेपाली गीत सङ्गीतका स्रोताहरूको मन मनमा बस्न सफल यस गीतको भिडियो भने अलि ढिलो गरी बनेको छ । वैदेशिक रोजगारका लागि दुवर्इमा बस्दै आएका नेपालका कालाकारहरूले यस गीतको भिडियो बनाएका हुन् । यस गीतलाई निर्देशक केशव कटवालले निर्देशन गरेका छन् भने रवीन, माया, गोपाल र रोमेक्सले अभिनय गरेका छन् । लोकराज पाण्डेले क्यामराम्यानको भूमिका निर्वाह गरेको यस गीतको भिडियोलाई देवकुमार श्रेष्ठले सम्पादन गरेका छन् भने कलर संयोजन टेकेन्द्र शाहले गरेका छन् । दुवर्इका विभिन्न ठाउँमा छायाङ्कन गरिएको र सबै पक्षबाट मेहनत भएको यस गीतको भिडियोले दर्शकहरूको राम्रोसँग मन जित्न थालेको छ ।

Spread the love