जेलभित्रै शपथ

काठमाडौं : शपथको वातावरण मिलाउन नै चौधरीलाई कैलाली कारागारबाट काठमाडौं ल्याइएको छ।  साढे दुई वर्षअगाडिको ‘टीकापुर घटना’ का मुख्य आरोपी रेशम चौधरीलाई ‘जेलभित्रै’ प्रतिनिधिसभा सांसदको शपथ गराउने तयारी भएको छ।  कैलाली क्षेत्र नम्बर १ बाट चौधरीले ३४ हजार ३४१ मत ल्याई प्रतिनिधिसभा सदस्यको निर्वाचन जितेका थिए। प्रतिद्वन्द्वी एमाले उम्मेदवारभन्दा २० हजार ९३५ मतान्तरमा चुनाव जितेका उनलाई निर्वाचन आयोगले निर्वाचन जितेको प्रमाणपत्र अहिलेसम्म दिएको छैन। ०७२ भदौ ७ गते कैलालीको टीकापुरमा आन्दोलनरत थरुहट कार्यकर्ता र प्रहरीबीच झडपमा एसएसपीसहित सात सुरक्षाकर्मी र एक बालकको मृत्यु भएको थियो। चौधरीमाथि त्यसैको ज्यान मुद्दा लागेको छ।  राजपाको मागका आधारमा सरकारले चौधरीलाई जेलभित्रै शपथ र निर्वाचन जितेको प्रमाणपत्र उपलब्ध गराउने तयारी गरेको गृह मन्त्रालय स्रोतले बतायो। आफूले शपथ खान पाउनुपर्ने माग गर्दै कारागारभित्रै आमरण अनशन बसेपछि चौधरीलाई फागुन २६ मा काठमाडौं ल्याई वीर अस्पताल भर्ना गरिएको थियो।  राजपा नेताहरूले चौधरीको मुद्दा फिर्ता लिन गरेको माग अस्वीकार गर्दै अदालतले गर्ने अन्तिम निर्णय नै पर्खने गरी तत्कालका लागि भने प्रमाणपत्र र शपथको वातावरण मिलाउन तयार भएको हो।

 

Spread the love