समानान्तर केन्द्रीय सरकार बनाउने प्रचण्डको चेताबनी

Prachanda

२९ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले चैत १६ पछि केन्द्रमा समानान्तर संघीय सरकार चलाउने घोषणा गरेका छन् । फागुन १६ पछि सुरु हुने दोस्रो चरणको आन्दोलनका क्रममा सरकारी कार्यालयहरु ‘जनता’ले कब्जा गर्ने भन्दै उनले त्यसबाट पनि आफूहरुको माग सम्बोधन नभए चैतमा निर्णायक आन्दोलन गर्ने बताए ।  पहिचानवादी युवा शक्ति घोषणा कार्यक्रममा प्रचण्डले भने-‘केन्द्रमा नै समानान्तर संघीय सरकार चलाएर राष्ट्रसंघ लगायत अन्तराष्ट्रिय समुदायलाई अनुरोध गर्नेछौं, कुन सरकार बैधानिक हो ?’

आफूहरु शान्ति सम्झौताको पक्षमा रहेको र कांग्रेस र एमालेले सो सम्झौता तोडेको राष्ट्रसंघलाई भन्ने जानकारी दिँदै प्रचण्डले भने-‘हामी सोध्ने छौं तपाई कतापट्टि हो ?’

अहिले त्यस्तो युद्ध आवश्यक नभएको भन्दै उनले भने-‘अब त्यो रुपमा हिट एण्ड रन आवश्यक छैन, लाठी नै काफी छ, १०/१५ लाख युवा परिचालन गरेपछि हाम्रो जितलाई कसैले रोक्न सक्दैन ।’

प्रचण्डले माओवादी, मधेसी, जनजाति लगायतलाई किनारा लगाएर राजगद्दी चलाउँछु भन्ने दिवा सपना नदेख्नसमेत आग्रह गरेका छन् ।
Spread the love