उम्मेदवारमाथि भइरहेका आक्रमणप्रति संयुक्त राज्य अमेरिका चिन्तित

काठमाडौं: ‘स्थानीय तहका तीनवटै चरणका निर्वाचन शान्तिपूर्ण रूपले सम्पन्न भएपछिको अवस्थामा अहिले उम्मेदवारमाथि भइरहेका आक्रमणप्रति संयुक्त राज्य अमेरिका चिन्तित छ। संयुक्त राज्य अमेरिकाले प्रदेशसभा र प्रतिनिधिसभाका उम्मेदवारमाथि भइरहेका आक्रमणप्रति चिन्ता व्यक्त गरेको छ।नेपालस्थित अमेरिकी दूतावासले सोमबार प्रेस विज्ञप्तिमार्फत हिंसाद्वारा निर्वाचन प्रक्रियामा अवरोध पुर्‍याउने कार्यको निन्दासमेत गरेको छ। ‘ अमेरिकाले आसन्न निर्वाचनका दुवै चरणमा सबै पक्षलाई शान्तिपूर्ण तथा लोकतान्त्रिक प्रक्रिया कायम गर्न र अपनाउन आग्रह गरेको छ । अमेरिकाले शान्तिपूर्ण, समावेशी, व्यापक समर्थनप्राप्त तथा विश्वसनीय निर्वाचन प्रक्रियाका लागि सरोकारवाला सबैसँग सहकार्य गर्न प्रतिबद्ध रहेको पनि जनाएको छ।  नेपालको कानुन र संविधानमा व्यवस्था गरिएबमोजिम शान्तिपूर्ण अभिव्यक्ति स्वतन्त्रताका साथै शान्तिपूर्ण रूपमा भेला हुन पाउने स्वतन्त्रता र अधिकारलाई सम्मान गर्न अमेरिकाले सबै पक्षसँग आग्रह गरेको छ। हिंसाको प्रयोगद्वारा निर्वाचन प्रक्रियामा अवरोध पुर्‍याउने कुनै पनि प्रयासको निन्दा गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

Spread the love