राजन थपलियाको १२ औं कृति ‘टप टेन’

साहित्य विधा अन्तरगत अफ्रिकन अमेरिकन मिस्ट्री, थ्रिलर र सस्पेन्स पुस्तकहरुको सुचीमा थपलियाको पुस्तक टप टेनमा पर्न सफल भएको छ ।  न्युयोर्क निवासी चर्चित नेपाली युवा लेखक राजन थपलियाको पुस्तक फिफ्टी फाइभ इयर्सको किन्डल भर्सन अमेजनमा टप टेन बेष्ट सेलरमा परेको छ ।  प्रिन्ट भर्सनमा समेत उपलब्ध राजन थपलियाको यो पुस्तक ४ महिना अगाडि प्रकाशित भएको थियो ।  ४३ बर्ष जेलमा बसेर निस्किएको व्यक्तिको कथामा आधारित यो पुस्तक किन्डलमा दर्जनौंपटक डाउनलोड भएपछि १५ नम्बरमा आएको थियो । त्यसपछि केहीदिन पुस्तकले किन्डलमा १० औं नम्बर कायम गर्न सफल भएको थियो ।

१८ बर्षको उमेरमा प्रहरीको हत्या गरेर जेलमा परेका बु्रकलिनका डानियल ज्याक्सनको बाल्यकालको सपना र उनले भोग्नुपरेको यथार्थबीचको मनोविज्ञानलाई कथामा देखाइएको छ । काल्पनिक पात्र डानियलको आत्मकथालाई कथामा प्रस्तुत गरिएको छ भने कथाको अन्त्यमा आत्मकथा लेखेर मरिसकेका डानियल र उनकी प्रेमिकाबीचको दर्दनाक क्षण समेत चित्रण गरिएको छ ।  जेलबाट छुटेपछि पनि आफ्नो बाल्यकालको सपना पूरा गरेका काल्पनिक पात्र डानियलको कथाले जीवनमा केही गर्न नसकेको भन्दै निराश हुनेहरुलाई समेत उच्च मनोवल प्रदान गर्ने लेखकको अपेक्षा छ । थपलियाको यो १२ औं कृति हो । थपलियाका यसअगाडिका ११ पुस्तक प्रिन्टमा  उपलब्ध छन् । यसअघि उनको पुस्तक शतप्रतिशत जीवन अर्थात् हण्ड्रेड पर्सेन्ट लाइफ बजारमा आएको थियो ।

Spread the love