पहिरोले मेची राजमार्गसहित ग्रामीणसडक अवरुद्ध

Mechi rood, thepowernews, powernews

पाँचथर, १७ भदौ – केही दिनयता परेको वर्षाका कारण मेची राजमार्गअन्तर्गत ठाउँठाउँमा झरेको पहिरोका कारण सडक अवरुद्ध भएको छ।
मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम-ताप्लेजुङ सडकखण्डअन्तर्गत ताप्लेजुङको खोक्से खोलामा पहिरो झरेपछि सो सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि ताप्लेजुङबाट तराई झर्ने तथा तराईबाट ताप्लेजुङ जाने सवारी साधन रोकिएर रहेका छन्। फिदिम–फालोटखण्डमा यातायात चल्न नसकेको दुई साता भइसकेको छ। सडक खुलाउन यातायात व्यवसायीले माग गरे पनि कुनै काम हुन सकेको छैन। त्यस क्षेत्रमा चल्ने ३५ भन्दा बढी ट्याक्सी र मालबाहक सवारी रोकिएका छन्। दक्षिणी पाँचथरको फिदिम–याशोक–६ नं बुधबारे १२३ किलोमिटर सडकखण्ड पनि बन्द भएको छ। साम्दिन–चोकमागु–नवमीडाँडा–घुर्बिसे पञ्चमी ३३ किलोमिटर सडकखण्ड पनि महिनौँदेखि बन्द छ। सोही क्षेत्रको कान्छीदोकान–पात्लेभञ्ज्याङ–सिवादोभान २६ किलोमिटर खण्ड पनि बन्द छ।  लगातारको वर्षाका कारण पहिरो जान थालेपछि जिल्लाका अधिकांश ग्रामीण सडकमा यातायातका साधन चल्न छाडेका छन्। वर्षात्का कारण जिल्लाका ९० प्रतिशत ग्रामीण सडकमा यातायात जान नसक्ने अवस्थामा पुगेको यातायात व्यवसायीले बताएका छन्। सोमबार राति परेको पानीले जिल्लाको जोरपोखरी–काउले–मेमेङ सडकखण्ड बन्द भएको छ। जोरपोखरीदेखि पूर्वतर्फ २० भन्दा बढी ठाउँमा झरेका पहिरोका कारण यातायात बन्द भएको हो।

मेची राजमार्गको ९३ किलोमिटरबाहेक जिल्लामा धेरै ग्रामीण सडक विस्तार भएको छ। सहरी सडक सञ्जाल ६७ किलोमिटर छ। जिल्लामा १२ महिना गाडी चल्न सक्ने सडकको सूचीमा राखिएका सडकसमेत महिनौँदेखि बन्द छन्। ग्रामीण सडकको मर्मत सम्भारको काम कुनै निकायबाट पनि हुन सकेको छैन। रासस

Spread the love