कसरी बयान गरूँ त्यो क्षण…भूकम्पमा परिवारका सत्र सदस्य गुमाउँदा

म केही वर्षदेखि अमेरिकामा बस्दै आएको थिएँ । यता, नेपालमा म आफ्ना बुबा, आमा र अन्य आफन्तलाई मिस गरिरहेको थिएँ । खासगरी मेरी आमा आफ्नो नातिलाई भेट्न नपाएकोमा गुनासो गरिरहनुहुन्थ्यो र नातिलाई लिएर नेपाल आउन मलाई कर गरिरहनुहुन्थ्यो ।

एक दिन आमाले भन्नुभएको थियो, ‘म घरमा पूजा लगाउँदै छु, नातिलाई लिएर आइज ।’ काठमाडौंस्थित हाम्रो घरमा आमाले सप्ताह लगाउने निधो गर्नुभएको रहेछ, र हामीलाई पनि डाक्नुभएको थियो । तर, हामी जानसक्ने अवस्थामा थिएनौँ ।

       किशोर पन्थी

कसरी सम्झूँ म त्यो रात ? हामी अमेरिकामा एकजना साथीको घरमा पार्टीमा थियौँ । अमेरिकामा शुक्रबारको साँझ हामी पार्टीमा सहभागी भइरहँदा नेपालमा शनिबारको बिहानी भइसकेको थियो । पार्टीमा सहभागी भएर राति घर फर्कियौँ । सुत्नुअघि यसो फेसबुक खोल्नासाथ हामीले थाहा पायौँ, नेपालमा शक्तिशाली भूकम्प गएछ ।

भूकम्पबाट काठमाडांै र आसपासका सहरमा धेरै जनधनको क्षति भएको खबर आइरहेकाले मेरो मनमा पनि चिसो पस्यो । कतै काठमाडौंमा रहनुभएका मेरा परिवारजन र आफन्तलाई त केही भएन भनेर मैले घरमा फोन सम्पर्क गर्ने कोसिस गरेँ ।

मसँग बुबा र दाइको नम्बर मात्र थियो, त्यसैले उहाँहरूलाई नै कल गरें । तर, जति कोसिस गर्दा पनि उहाँहरूसँग फोन सम्पर्क हुन सकेन । मनमा विभिन्न संशय र चिन्ताका लहरहरू दौडन थाले । के भयो, कसो भयो भन्ने सुर्ता हुन थाल्यो ।

भूकम्पको असर त्यति गम्भीर होला भन्ने मलाई कुनै अनुमान थिएन । त्यसैले त्यो रात म सुत्न भनी ओछ्यानमा पल्टिएँ ।

एक घन्टा पनि सुत्न पाएको थिइनँ, न्युजिल्यान्डबाट एकजना बहिनीले फोन गरिन् । ‘दाइ, नेपालमा कन्ट्याक्ट गर्न धेरै ट्राई गरिसकेँ, कल नै लाग्दैन, मेरी ममीको हालखबर के छ, थाहा पाउनै सकिनँ, प्लिज तपाईं कन्ट्याक्ट गर्नुस् न,’ बहिनीले भनिन् ।

न्युजिल्यान्डबाट पनि फोन आएपछि भने नेपालमा भूकम्पले ठूलै अनिष्ट निम्त्याएको हुन सक्ने आशंकाले मन भतभती पोल्न थाल्यो । नेपालमा कन्ट्याक्ट गर्ने कोसिस गरिरहेँ, तर हुनै सकेन । सही खबर नपाउँदा मन झन् आत्तिँदो रहेछ । म सुत्नै सकिनँ ।

बिहानपख नेपालबाटै कल आयो । कल रिसिभ गर्नासाथ एउटा अप्रिय खबर सुन्नुप-यो । भक्तपुरको हाम्रो घर पनि भत्किएछ । परिवारका सदस्य घाइते भएको र अस्पताल भर्ना गरिएको भन्ने खबर मात्र मैले पाएँ । त्यसवेलासम्म कोही हताहत भएको खबर केही आएको थिएन । अब भने मेरो छटपटी र चिन्ता बढ्दै गयो ।

दिउँसोतिर खबर आयो, घर भत्किँदा हाम्रो परिवारका सदस्यहरूको पनि निधन भएछ । तर, कतिजनाको निधन भयो र ती को–को थिए भन्ने स्पष्ट खबर मैले पाएको थिइनँ । यस्तो संवेदनशील घडीमा परिवारजनले कतिपय कुरा लुकाइरहेका हुन्छन् भन्ने अनुमान गर्न मलाई कुनै कठिन भएन ।

हाम्रो परिवार ठूलै शोकमा परेको हुन सक्ने ठानेँ । ससुरासँग सम्पर्क भएपछि बल्ल मैले घर भत्किएर मेरी आमा ६२ वर्षीया चन्द्रवदन प्रधानलगायत परिवारका थुप्रै सदस्यको निधन भएको खबर पाएँ ।
मेरा लागि त्यो स्तब्ध पार्ने क्षण थियो । अब मैले एक क्षण पनि अमेरिकामा बस्नु हुँदैनथ्यो, त्यसैले श्रीमती श्रुति र छोरा विस्लेक्सलाई लिएर तत्काल नेपाल प्रस्थान गरेँ ।

वैशाख १६ गते काठमाडांै अवतरण गरेर सोझै शोभाभगवती– १५ स्थित आफ्नो घरमा गएँ । घर भग्नावशेषमा परिणत भएको देख्दा मन विचलित भयो । त्यो कहालीलाग्दो क्षणले मेरो मनमा तिखो सुइरोले झैँ घोच्यो । आँखाभरि आँसु रसाए ।

एक झट्कामै हाम्रो परिवारका १७ जना सदस्यको निधन भएको रहेछ । कस्तो विडम्बना ! जुन दिन भूकम्प गयो, त्यसै दिन घरमा सप्ताहको भव्य तयारी भइरहेको थियो । पण्डितले साइत पनि २०७२ साल वैशाख १२ गते ११ ः ५७ बजेकै निकालेका थिए ।

सोहीकारण हाम्रा परिवारका सदस्य, इष्टमित्र, महिला र बालबालिकाले घर भरिएको थियो । चारतले घरको भुइँतलाको ग्यारेजमा हुन गइरहेको सप्ताहका लागि साइतमै देउता स्थापना गर्ने तयारी हुँदै थियो । ठीक त्यसै वेला आएको अनिष्टकारी भूकम्पले हाम्रो घर गल्र्यामगुर्लुम ढालेछ ।

कसरी बयान गरूँ त्यो क्षण ? मेरी आमा, दिदी हेमलता र दाइ सुन्दरमान त्यही घरले पुरिनुभयो । मेरा मावलीतर्फका बाजे–बज्यै, चार वर्षकी भान्जी, तीनजना सानीआमा, काका, बहिनी, बहिनीकी सासू र नन्द, मेरी भाउजूकी भाउजू र उहाँको तीन वर्षको छोरा, भाउजूकी भाइबुहारी, सप्ताह लगाउन आएका पुजारीकी श्रीमती र अन्य आफन्त गरेर १७ जनालाई कालले खर्लप्पै निल्यो ।

सत्तरी टेक्दै गर्नुभएका मेरा पिता, भाउजू र दुई भतिजीहरू मात्र बाँचे । मैले दाइ र दिदीको त अनुहार नै देख्न पाइनँ । आमाको शवलाई अस्पतालको आइस बक्समा राखिएको रहेछ । म सोझै पशुपति आर्यघाट गएर आमाको दाहसंस्कार गरेँ ।

घर भत्किएकाले बाँकी बचेका आफन्त अलि पर टेन्ट राखेर बस्नुभएको रहेछ । बत्ती पनि थिएन, सबैतिर अँध्यारो । कसैलाई देख्न पनि नसकिने । एकदम अस्तव्यस्त थियो । सबै त्रासमा थिए । मलाई त सपनाजस्तै लाग्यो ।

यस्तो पनि हुन्छ र भन्ने प्रश्न मनमा बारम्बार उब्जिइरह्यो । परिवारका १७ जना आफन्तको मृत्यु र २२ जना घाइतेको वेदना सहेर केही समय म काठमाडाैंमै बसें । हामीले करिव दुई महिना लगाएर घरको भग्नावशेष पन्छायौँ । एक महिनासम्म सबै आफन्त पालमै बस्नुपरेको थियो ।

अहिले बिस्तारै त्यो घाउमा खाटा बस्दै छ । तर, हरेक वर्ष जब वैशाख १२ आउँछ, त्यसवेला मेरो त्यो खाटा बसिसकेको घाउमा चसक्क सुइरो रोपिन्छ र भक्कानिन्छु । अनि भगवान्सँग प्रार्थना गर्छु– हे ईश्वर ! परिवारमा यस्तो महाशोक कसैले पनि भोग्नु नपरोस् ।

(महाभूकम्पमा १७ जना आफन्त गुमाएका विष्णुमान प्रधानको यो बयान सोमबार काठमाडौंमा लोकार्पण हुने पत्रकार किशोर पन्थीको पुस्तक ‘कम्पन’को अंश हो । सन् २०१५ को अप्रिल २५ मा नेपालमा गएको महाभूकम्पले आठ हजारभन्दा धेरैको ज्यान लियो भने २१ हजारभन्दा धेरै घाइते भए । लगत्तै मे १२ को भूकम्पमा दुई सयभन्दा धेरैको मृत्यु भयो भने २५ सयभन्दा धेरै घाइते भए । ‘कम्पन’ त्यही भूकम्पको भोगाइका विभिन्न आयामको सम्मिश्रण हो ।

Source: http://www.enayapatrika.com/2018/04/21/42204/

Spread the love