हंगकंगमा आषाढ १० र ११ गते “नेपाल ट्रेड फेयर-२०१७” हुने,राष्ट्रिय आविष्कार केन्द्रका लागि १ करोड उठाइने लक्ष

हङकङ र नेपालको सम्बन्धको लामो इतिहास पछि हङकङमा पहिलोपटक नेपाली हस्तकला प्रवर्द्धन गर्ने उद्देश्यले “हंगकंग नेपाल ट्रेड फेयर-२०१७” आयोजना हुने भएको छ ।साथै यसै मौकामा नेपाली प्राविधिक अन्वेषक महाबीर पुनको अभियानलाई टेवा पुर्याउन “च्यारिटी डिनर” को पनि आयोजना गरिने भएको छ । नेपाली महाबाणिज्य दूतावास हङकङ,हङकङ नेपाली व्यापार संघ तथा हस्तकला महासंघ नेपालको आयोजना तथा नेपाल एयरलाइन्स,ब्यापार तथा निकासी प्रवर्द्धन केन्द्र,नेपाल र ट्रेड डेभलपमेन्ट काउन्सिल,हङ्कङको सहयोगमा आगामी जुनको २४ र २५ तारीखका दिन “ट्रेड फेयर “र त्यसको लगत्तै भोलिपल्ट जुन २६ तारिखका दिन “च्यारिटी डिनर ” कार्यक्रम हुन लागेको हो।यस बिषयमा जानकारी दिन आइतवार हस्तकला महासंघमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष्य धर्मराज शाक्यले नेपालमा उत्पादन हुने हस्तकलाका सामग्रीहरूलाई प्रदर्शनीमा राखिने र खरिदको अवसर समेत प्रदान गरिने बताउनुभयो |उहाँले यस फेयरले बिश्वकै ब्यवसायिक केन्द्रको रुपमा रहेको हङकङमा नेपाली उत्पादनलाई चिनाउने,अन्तर्राष्ट्रिय जगतबाट नेपाललाई रेमिटेन्सको माध्यमबाट प्राप्त भएको आयसंगै बिश्व बजारमा अत्यन्त राम्रो संभावना बोकेको नेपाली हस्तकलाका उत्पादन निकास गरि त्यसबाट पनि नेपाली अर्थतन्त्रमा थप टेवा पुर्याउने बिश्वाश लिएको जानकारी गराउन बताउनुभयो।हंगकंग नेपाली ब्यापार संघका सचिव भेशमणि श्रेष्ठले नेपाली जडिबुटीहरू, ढाकाका कपड़ा तथा पस्मिना,धातुका उत्पादनहरूलाई हङकङ जस्तो बिश्वका हरेक देशबाट आउने ब्यवसायी र पर्यटक बिच चिनाउन सकेमा नेपाली उत्पादनले पनि राम्रो बजार लिन सक्ने सम्भावनालाई अध्ययन गरी ट्रेड फेयरको आवश्यकता महसुस गरिएको अवगत गराउनुभयो | उहाँले हङकङको ब्यस्ततालाई बिचार गर्दै शनिबार र आइतबारको बिदा लक्ष्यित गरि प्रदर्शनी गर्न लागिएकोले अधिकतम उपस्तिथि हुने बिश्वास हामीले लिएको बताउनुभयो । पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार जम्मा १८ वटा स्टलहरू मध्ये १५ वटामा नेपालबाट आउने हस्तकला तथा जडिबुटीका उत्पादन रहने र अन्य ३ वटा स्टलहरूमा हंगकंगका नेपाली उत्पादनहरू रहनेछन | यो ट्रेड फेयर सम्पन्न गर्न अनुमानित २ (दुई )लाख हङकङ डलर खर्च हुन सक्ने लेखाजोखा गरिएको छ।

नेपालबाट आउने व्यावसायीहरूको यातायात तथा सामग्री ढुवानीमा लाग्ने खर्च नेपाली हस्तकला महासंघले ब्यहोर्ने र हङकङमा हुने ट्रेड फेयरका लागि नेपालबाट आउने सहभागी ब्यबसायी र अन्य आगन्तुकको हङकङमा हुनुपर्ने आतिथ्यता एवम अन्य ब्यबस्थापकिय कुरा हङ्कङस्थित आयोजकले ब्यबस्थापन मिलाउने सहमति रहेको समेत जानकारी गराइएको छ ।ब्यापार तथा निकासी प्रवर्धन केन्द्रका नायब कार्यकारी निर्देशक बिमल कुमार नेपालले यस कार्यक्रमलाई एउटा अवसर मान्दै आगामी दिनमा यसबाट नेपाली उत्पादनलाई हङकङमा बजार बिस्तार गर्न मद्दत मिलोस र नीति निर्माणका तहमा पनि यसले बिशेष महत्व राखोस भन्ने हेतुले केन्द्रबाट आवश्यक सहयोग गर्न लागेको बताउनुभयो |आयोजक संस्थाहरूद्वारा जारी संयुक्त बिज्ञप्तिमा यस बर्षको पहिलो अनुभवका आधारमा भविष्यमा पनि यस किसिमका ट्रेड फेयरको ढोका खुल्ने आयोजकले बिश्वास लिइएको छ।यस अवसरमा नेपाली उत्पादनलाई हङकङमा बिक्री गर्न इच्छुक ब्यबसायी र नेपाली उत्पादनकर्ता बिच प्रत्यक्ष सम्झौता र सहमति हुने आशा पनि गरिएको छ।

बिज्ञप्तिमा भनिएको छ – यस “हङकङ नेपाल ट्रेड फेयर -२०१७”को सफलता संगै आम नेपाली हस्तकला तथा जडिबुटी उत्पादनको पनि सफलता जोडिएको हुँदा हङकङ तथा नेपालका नेपाली ब्यवसायी, संचारकर्मी एवम् आम दर्शकबाट सहयोगको अपेक्षा राखेका छौँ । यसैबीच सूचना प्रवीधी अभियन्ता महाबीर पुनःको परिकल्पना र अगुवाइमा सुरु भएको “राष्ट्रिय आविस्कार केन्द्र” को सहयोगार्थ जुन २६ तारिखका दिन आयोजना गर्न लागिएको “च्यारिटी डिनर” मा हङकङमा कृयाशील नेपाली संघ संस्था तथा सहयोगी ब्यक्तित्वहरूको व्यापक उपस्थिति रहने गरी तयारी पुरा भएको यस कार्यक्रममा संचार तथा प्रचारप्रसारमा समन्वय गरिरहनुभएका शिरोमणि दवाडीले जानकारी गराउनुभयो ।बिश्व परिवेशमा विकास भएको सूचना प्रविधि र त्यसले ल्याएको बिकास र परिवर्तनको अनुभवका आधारमा पुनले सुरु गर्नु भएको ग्रामीण इन्टरनेट प्रविधि र आविष्कार केन्द्रलाई यस कार्यक्रमबाट प्राप्त सहयोगले मूर्त रूप दिनेछ भन्ने हामीले बिश्वास लिइएको पनि उहाँले बताउनुभयो । त्यसैगरी कार्यक्रम संचालनका लागि हंगकंग जान लागेकी पुर्व मिस नेपाल सुगारिका केसीले पुन जस्ता अन्तर्राष्ट्रिय स्तरबाटै पुरस्कृत कर्मशील र राष्ट्रप्रेमी ब्यक्तित्वको परिकल्पना साकार हुन सके यस्तै रचनात्मक कार्यमा अन्य युवापुस्ताको पनि ध्यानाकर्षण हुने बताउनुभयो ।उहाँले यस कार्यक्रमलाई पुन जस्ता सिर्जनशील तथा प्राविधिक अन्वेषकको सम्मान तथा प्रोत्साहनका रूपमा पनि लिइएको जानकारी गराउनुभयो |hong kong handy craft trade fair 2017

Spread the love