चुनावको जितसँगै दशैँको छुट्टै रौनक

प्रदेश नं. २ का आठ जिल्लामा भएको स्थानीय तहको चुनावमा जितसँगै दशैँको छुट्टै रौनक छाएको देखिएको छ । धार्मिक एंव पर्यटकीय नगरी जनकपुरधाममा विशेष तामझामका साथ दशैँ मनाइँदै छ । यो उत्सवलाई दुई दशकपछि स्थानीय तहका प्रतिनिधि चयनले थप विशेष बनाएको छ । यतिखेर जनकपुरमा दोहोरो खुशीको माहोल छ ।  शहरबजारमा आएर विभिन्न पेसा–व्यवसाय गर्दै आएका पनि दशैँ मान्न आफ्नै थातथलो फर्कने गरेकाले पनि किनमेल बढी हुने गरेको छ । त्यसैले व्यवसायीले अन्य बेलाको भन्दा दशैँका बेला निकै बढी व्यापार गर्ने गरेका छन् । यसले अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने गरेको छ ।

 जनकपुरमा दशैँको मुख्य आस्थाको केन्द्र रहेको राजदेवी मन्दिर सिङ्गारिएर झकिझकाउ बनाइएको छ । राजदेवी, बौद्धीमाई, आमरथाना अन्नपूर्णदेवी र दुर्गामन्दिर तथा चोकचोकमा देवी दुर्गाको प्रतिमा स्थापना गरिएको छ । रामानन्द चोक, भ्रमरपुरा चोक, मुरली चोक, कदम चोकमा पनि पूजा आयोजना गरिएको छ । आकर्षक पन्डाल र बिजुली बत्तीका कारण जनकपुर झिलिमिली बनेको छ । यहाँ क्लबले चन्दा संकलन गरी दुर्गा पूजामा लाखौँ खर्चंदै आएको छ । विजयादशमी शुरुसँगै यहाँका शक्तिपीठ आकर्षक रूपले सिङ्गारिने गरिन्छ ।   दशैँमा पूजापाठ र भव्य मेला आयोजना गर्न स्थानीय युवा क्लबले शक्तिपीठमा पण्डाल लगाएका छन् ।

Spread the love