दलबीच सरकार गठनको शुभारम्भमै तिक्तता

३ फागुन, काठमाडौं :  बिहीबार एमाले अध्यक्ष ओलीले उत्साहका साथ प्रधानमन्त्रीको सपथग्रहण गरिरहँदा उनको मन्त्रिमण्डलमा माओवादी मन्त्रीहरु सहभागी भएनन् । एमाले नेताहरु बुधबार साँझदेखि एकाएक पूर्वसहमतिबाट पछि हटेको माओवादी नेताहरुको गुनासो छ ।  चुनावमा सहकार्य गरेका यी दुई दलबीच सरकार गठनको शुभारम्भमै केही तिक्तता देखिएको छ । बुधबार साँझको छलफलपछि एमाले र माओवादीबीच तिक्तता देखिएको हो । बुधबारको बैठकमा एमाले नेताहरुले जबजको वकालतमात्रै नगरी माओवादको समेत विरोध गरेकोे गुनासो माओवादी पक्षको छ ।   जनताको बहुदलीय जनवाद र माओवादका विषयमा आगामी महाधिवेशनसम्म छलफल गर्ने र त्यहीँबाट टुंगो लगाउने पूर्वसहमति दुई दलका नेतावीच भएको थियो । पार्टी एकताबारे बुधबारको छलफल बिथोलिनुको कारण खोल्दै एक माओवादी नेताले अनलाइनखबरसँग भने- ‘एमाले नेताहरु पूर्वसहमतिबाट आश्चार्यजनक ढंगले पछि हट्नुभयो र यही कारण आज हामीले सरकारमा आफ्ना मन्त्रीहरु नपठाएका हौं ।  माओवादी नेताका अनुसार सुरुमा दुबै दलका नेताहरु जबज र माओवादलाई आगामी महाधिवशेनसम्म छलफलमा लगेर टुंगो लगाउन समहत भएका थिए ।  बुधबार निर्वाचन आयोगले चुनावको परिणाम राष्ट्रपतिलाई बुझाउनासाथ एमाले नेताहरु पछि हटेका छन् । बुधबारको बैठकमा केपी ओलीले जबजबारे छलफल हुन नसक्ने भन्दै एकीकृत पार्टीको सिद्धान्त जबज नै हुनुपर्ने बताएको स्रोतको भनाइ छ । जबजका साथै माओवादलाई पनि पार्टीभित्र छलफलको विषय बनाउन नसकिने ओलीले बैठकमा बताएपछि माओवादी हच्किएको स्रोत बताउँछ ।

आगामी महाधिवेशनले माओवादको सान्दर्भिकता सकिएको निर्णय गरेमा आफूहरुलाई मान्य हुने तर यसलाई छलफलको प्रक्रियामा हालिनुपर्ने माओवादी नेताको माग थियो । गत असोजदेखि पार्टी एकताको प्रक्रियामा रहेका एमाले र माओवादीले अहिलेसम्म सत्ता सञ्चालनको भागवण्डामा कुनै सहमति जुटाउन सकेका छैनन् । एमालेले कुन कुन मन्त्रालय सम्हाल्ने र माओवादीले कुन मन्त्रालय पाउने भन्नेबारे अहिलेसम्म गृहकार्य नभएको नेताहरुले बताएका छन् । माओवादीका एक नेताले यसबारेमा भने- ‘ओली र प्रचण्डजीवीच लामो छलफल भयो, कार्यदल र एकता संयेाजन समितिको पनि बैठक बस्यो, तर अहिलेसम्म पदीय भागवण्डाबारे केही पनि प्रगति भएको छैन ।’ उनले अगाडि भने, ‘राष्ट्रपति र उपराष्ट्रपति कसले पाउने ? सभामुख, उपसभामुख कसले पाउने ? कति मन्त्रालय एमालेले पाउने र कति माओवादीले पाउने ? यसबारे अहिलेसम्म कुनै छलफल र सहमति भएको छैन । मन्त्रालयबारे समहति नै नभई माओवादीले कसलाई सरकारमा पठाउने ?’ छलफलमा सहभागी एक माओवादी नेताले भने, ‘हामीले अहिले नै सरकार बाहिरै बस्छौं भनिसकेका छैनौं, विहीबार मन्त्रिीहरुको नाम नपठाउने मात्रै भनेका छौं, पार्टी एकताको सहमतिका लागि अझै पनि हाम्रो प्रयास जारी नै रहने छ ।’ निर्वाचन परिणाम सार्वजनिक हुनासाथ एमाले नेताहरु पूर्वसहमहतिबाट पछि हट्नु रहस्यमय रहेको माओवादी नेताको भनाइ छ ।

Spread the love