सामसुङलाई पछि पार्दै एप्पल

पछिल्लो ५ वर्षदेखि विश्वमा सबैभन्दा धेरै स्मार्टफोन बिक्रि गर्ने कम्पनीको रुपमा रहेको दक्षिण कोरियाली कम्पनी सामसुंगलाई पछि पार्दै एप्पल पहिलो स्थानमा उक्लिन सफल भएको  छ । एप्पललको पछिल्लो आइफोन सेभेन प्लसको तिव्र मागसँगै पछिल्लो त्रैमासिकमा एप्पलका स्मार्टफोनको बिक्रिले सामसुंगलाई पछि पारेको हो ।  यद्यपि पछिल्लो समयमा अमेरिकी डलर बलियो भएसँगै अन्तराष्ट्रिय बजारमा आइफोनको मूल्य बढेका कारण एप्पलका स्मार्टफोनको बिक्रि तथा मुनाफामा केही असर परेको बताइन्छ । एप्पलले तिन महिनामा ७ करोड ८२ लाख आइफोन बेच्दा सामसुंगले भने ७ करोड ७५ लाख स्मार्टफोन मात्र बेच्न सफल भएको छ । सन् २०११ इता स्मार्टफोन बिक्रिमा सामसुंग एप्पल भन्दा पछि परेको यो पहिलोपटक हो । एप्पलले सार्वजनिक गरको तथ्यांक अनुसार पछिल्लो त्रैमासिकमा कुल राजश्वमा वृद्धि भएपनि चीनबाट प्राप्त हुने राजश्वमा भने ११ दशमलब ६ प्रतिशतले गिरावट आएको छ । चीनबाट प्राप्त हुने राजश्व घटेर १६ अर्ब २३ करोडमा झरेको छ ।

Spread the love