क्रस–हिमालय कनेक्टिभिटी नेटवर्क अघि बढाउन नेपाल र चीन सहमत

बेइजिङ  : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको चीन भ्रमणका क्रममा चिनियाँ समकक्षी वाङसँग बुधबार बेइजिङमा वार्ता भएको छ । नेपाल र चीनबीच दुवै देशलाई जोड्ने रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति पनि भएको छ ।  चीनको महत्वाकांक्षी परियोजना ‘वान बेल्ट वान रोड’मार्फत क्रस–हिमालय कनेक्टभिटी नेटवर्क अघि बढाउन नेपाल र चीन सहमत भएका छन् । चीनले यस परियोजनामा सहभागी हुन दक्षिणी छिमेकी राष्ट्र भारतलाई पनि आह्वान गरेको छ ।  वार्तामा ओबरमा पर्ने परियोजनाको सूची सार्वजनिक गर्ने सहमति पनि भएको छ । परियोजना छनोट गर्न तथा चिनियाँ सरकारको सहयोगमा बन्ने परियोजनाहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न संयन्त्र निर्माण गर्ने सहमति भएको छ । ‘हामीलाई विश्वास छ– जब यो बन्छ, यसले चीन, नेपाल र भारतबीच आर्थिक करिडोरका लागि वातावरण निर्माण गर्नेछ,’ भेटपछि चिनियाँ विदेशमन्त्री वाङले भनेका छन्, ‘आशा छ, यस्तो सहकार्यले तीन देशको विकास र समृद्धिमा सहयोग गर्नेछ ।’  केरुङदेखि काठमाडौंसम्म नेपाल–चीन सीमापार रेलमार्ग तथा काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन र डीपीआर गर्नेबारे छलफल भएको थियो ।

चीन, नेपाल र भारत प्राकृतिक रुपमा नै मित्र र साझेदार रहेको बताउँदै विदेशमन्त्री वाङले हामी एकै पहाड र नदीसँग जोडिएका छिमेकी हौं, परिवारका सदस्य र छिमेकीले एकअर्काको भलो चाहन्छन् र हामी त्यही चाहेको बताएका थिए । ’ नेपालले ‘कनेक्टिभिटी’ लाई मुख्य प्राथमिकता दिएको भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले रेल र सडकका साथै ट्रान्समिसन लाइनमा चीनसँग साझेदारी गर्न चाहेको बताएका छन् ।

Spread the love